आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

प्रेमहरूको मृत्यु

शनिबार, २१ माघ २०७९, १५ : ५५
शनिबार, २१ माघ २०७९

प्रेमहरूको मृत्यु
आज मात्रै होइन 
सदियौँदेखि मर्दैछन् प्रेमहरू
कहिले बोल्न नपाएर मर्छन् प्रेमहरू
त बोल्न सके आवाज बन्न नपाएर मर्दैछन् ।

प्रेम भुइँमा होइन 
भुइँमुन्तिर माटोभित्र बाँच्न खोज्छ
जरा भएर देशको
प्रेमलाइ टेकेर ठिङ्ग उभिन्छ देश
पाइला सार्छ
अनि अनवरत यात्रामा लम्किन्छ देश ।

घाँटीमा टाई झुन्डाई
दम्भले उभिएका 
काण्ड, पात र फूलहरू देशका
जराले सोसेको कर खाएर
जरालाई नै शोषण गर्दै
बाँचिरहेछ इतिहासमा 
भूगोलमा
समाजमा
 अनि शोषित प्रेमहरू
 जति जति गाडिन्छन् माटोमुनि
 उति उति बढ्छ उचाइ देशको ।


तर नि कविज्यु !
उचो उचाइ भएका रुखहरू
जब हल्लिन्छन् नि ?
आँधी आउँछ यहाँ 
हुरी बतास आउँछ यहाँ 
अनि झर्न थाल्छन् ती पातहरू
भाँचिन थाल्छन् ती काण्डहरू
आफै ढल्न थाल्छन् ती रुखहरू
रहन्छन् त केवल
माटोमुनि दबिएको प्रेमहरू
तर माटोमुनिका प्रेमहरू सलबलाए 
भूकम्प आउँछ यहाँ 
अनि फेरि ढल्छन् उही रुखहरू
गल्र्याम्मै भुइँमा
रहन्छन् त केवल
माटोमुनि दबिएका प्रेमहरू
जहाँबाट पलाउनेछ
नयाँ मुना नयाँ व्यवस्थाको
नयाँ समाजको
नयाँ देशको ।

त्यसैले त कविज्यू !
तिमीले देखेका मर्दै गरेका प्रेमहरू
भ्रम हुन् 
तिमीले लेखेका प्रेमको मृत्युहरू
भ्रम हुन् ।

प्रेम त अजर छ
अमर छ
प्रेमको मृत्युहरूमा तिम्रो मृत्यु छ
तिम्रो कविताको मृत्यु छ ।
(प्रेम आचार्यले आत्मादाह गरेको सन्दर्भमा लेखिएको कविता ।) 

शिक्षक श्रीकृष्णाश्रम मावि कन्याम, इलाम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र आचार्य
दीपेन्द्र आचार्य
लेखकबाट थप