सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा विषादीको प्रयोग बढ्दै : प्रदेश ३ पहिलो

शुक्रबार, ११ फागुन २०७४, ११ : ४९
शुक्रबार, ११ फागुन २०७४

काठमाडौँ – नेपालमा कृषि बालीमा बर्सेेनि विषादी प्रयोग बढ्दै गइरहेको छ । नेपालमा ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग गरिन्छ भने अन्नबाली र फलफूलमा निकै कम प्रयोग गरिन्छ । कृषि विभाग बाली संरक्षण निर्देशनालय विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाका बरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार नेपालमा वार्षिक रूपमा विषादी प्रयोगको सङ्ख्या बढ्दै गइरहेको छ । 

४ आर्थिक वर्षको सिनारियोलाई हेर्ने हो भने २०६९/०७० मा नेपालमा ५६ करोड रुपैयाँको विषादी आयात गरिएको थियो । यस्तै २०७०/०७१ मा ५५ करोड १९ लाख रुपैयाँ बराबरको विषादी आयात गरिएको छ । आर्थिक वर्ष २०७१/०७२ मा ६४ करोड रुपैयाँको विषादी नेपालमा आयात गरिएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा ०७२ मा ९ करोड रुपैयाँ बढीको विषादी आयात गरिएको छ ।  

यस्तै आ.व. २०७२/०७३ मा ६९ करोड रुपैयाँको विषादी आयात भएर नेपालको कृषिबालीमा प्रयोग भएको अधिकृत सुवेदीले रातोपाटीलाई बताए । विषादी आयात रकम बढ्दै जादा यता विषादी प्रयोगको मात्रा पनि बढ्दै जानु हो । वरिष्ठ बाली संरक्षण अधिकृत सुवेदीका अनुसार तरकारी बालीमा अन्य बालीभन्दा बढी विषादी प्रयोग गर्नेमा पछिल्लो समय नेपालमा व्यावसायिक तरकारी बालीमा लाग्नेको सङ्ख्या बढ्दै गइरहेको हुँदा विषादी प्रयोग गर्नेको मात्र पनि बढ्दै गएको बताए । 

यता नेपालको कृषि क्षेत्रमा झारपात नासक विषादी प्रयोग पनि बढ्दै गइरहेको  छ । आर्थिक वर्ष २०६९/०७० मा ७ करोड रुपैयाँ, २०७०/०७१ मा ९ करोड रुपैयाँ, आ.व. २०७१/०७२ मा १२ करोड रुपैयाँ र आ.व. २०७२/०७३ मा १३ करोड रुपैयाँको विषादी प्रयोग भएको छ । झारपात विषादी प्रयोग पनि पनि बढ्दै गईरुहेको छ । यस्तो विषादीले वातावरण र माटोमा प्रत्यक्ष असर पार्दछ ।

सबैभन्दा धेरै ३ नं प्रदेशमा प्रयोग गरिन्छ 
प्रदेशअनुसार विषादी प्रयोगको अवस्था हेर्ने हो भने सबैभन्दा बढी विषादी प्रयोग गर्नेमा ३ नम्बर प्रदेश रहेको छ । अधिकृत सुवेदीका अनुसार ३ नम्बर प्रदेशको काभ्रे, मकवानपुर, चितवन, भक्तपुरमा व्यावसायिक तरकारीबाली हुने हँुदा अहिलेसम्म विषादी प्रयोग गर्नेमा ३ नम्बर प्रदेश पहिलो स्थानमा देखिएको छ ।  यो प्रदेशमा यति नै विषादी प्रयोग गरिन्छ भनेर सङ्ख्या नै तोक्न नसके पनि व्यावसायिक तरकारीबाली बढी भएको क्षेत्रको आधारमा ३ नम्बर प्रदेशमा बढी विषादी प्रयोग भएको मानिएको हो । विषादी मापनयन्त्र पनि सरकारले सबैभन्दा पहिला वि.सं २०७१ मा कालिमाटी तरकारी क्षेत्रमा राखेको थियो ।

यस्तै विषादी प्रयोगको दोस्रो स्थानमा प्रदेश नम्बर २ पर्ने जनाइएको छ । अन्य प्रदेशमा भने बराबर नै विषदी प्रयोग हुँदै आएको अधिकृत सुवेदीको भनाइ रहेको छ ।  

६ नम्बर प्रदेशमा छैन मापन यन्त्र 
कृषि बालीमा विषादी प्रयोग बढ्दै गएपछि सरकारले विषादी मापन यन्त्र राख्न सुरु गरेको थियो । सुरुवातको समयमा राजधानीको तरकारी बजार कालिमाटीमा राखिएको थियो । अहिले १, २, ३, ४, ५ र ७ नम्बर प्रदेशमा मापन यन्त्र पनि राखिसकेको छ । प्रदेश सुरुवातको समयमा ६ वटा प्रदेश रहने कुरा भए पनि सबै प्रदेशमा विषादी मापनयन्त्र राखिएको थियो । तर पछि ७ नम्बर प्रदेश थप भएपछि ५ नम्बर प्रदेशमा बुटवल र नेपालगञ्जलमा गरी २ वटा मापन यन्त्र एउटै प्रदेशमा परेको छ । स्थायी राजधानी बनाएको खण्डमा नेपालगञ्जमा रहेको विषादी मापन यन्त्रलाई ६ नम्बर प्रदेशमा राखिने उनको भनाइ छ । 

१ नम्बर प्रदेशको विर्तामोड, २ नम्बर प्रदेशको सर्लाही, ३ नम्बर प्रदेको काठमाडौँ, ४ नम्बर प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र नेपालगन्ज र ७ नम्बर प्रदेशको अत्तरियामा ३ महिना पहिला नै विषादी मापन यन्त्र राखिसकेको छ । यता कालिमाटीमा विषादी मापन यन्त्र राखेको एक वर्षमा ७० देखि ८० वटा स्याम्पलमा विषादी देखाइएको थियो । अहिले २५ देखि ३० स्याम्पलमा विषादी भेटिएको अधिकृत सुवेदी बताउँछन् ।

कर्मचारी बस्न मान्दैनन् 
तत्कालका लागि विषादी मापन यन्त्र राखे पनि सञ्चालनमा समस्या भएको जनाइएको छ । कर्मचारीको समायोजन, सरकारको अहिलेको यो स्थिति र ल्याब जस्तो खतरा हुने मेसिनमा कर्मचारी बस्न नमान्ने हुँदा विषादी मापन यन्त्र नै सञ्चालनमा समस्या भइरहेको छ । अस्थायी कार्यालय, अस्थायी दरबन्दी भएको कारण पनि कर्मचारीहरू बस्न मान्दैनन् । मापन यन्त्रका लागि खटाइएका कर्मचारी सोर्सफोर्समा सरुवा भएर अन्तै जाने गरेका छन् । यस कारणले पनि विषादी मापनयन्त्र मेसिनलाई निरन्तरता दिनका लागि गाह्रो भइरहेको बरिष्ठ बाली संरक्षण अधिकृत सुवेदी बताउँछन् । यस्तै मापनयन्त्र राख्नका लागि पनि आवश्यक अनुसारको कोठाको अभाव भएको जनाइएको छ । 

एक वर्षमा मेसिन सञ्चालनका लागि मात्रै १८ लाख खर्च लाग्ने देखिन्छ भने दैनिक १० देखि १५ वटा नमुना सङ्कलनका लागि वार्षिक थप १० लाख चाहिन्छ । तर बजेट प्रयाप्त नभएकै कारण सञ्चालनमा आएका यन्त्रहरू राम्रो सञ्च सञ्चालनमा ल्याउन सकेको छैन । सञ्चालनको समयमा दैनिक कम्तीमा पनि १० वटा स्याम्पल लिने गरिएको थियो । तर अहिले बजेट अभावकै कारण दैनिक ६ वटा स्याम्पल लिने गरेको छ । 

विषादी भेटिए यस्तो हुन्छ कारवाही 
स्याम्पल ट्रक, खुद्रा र थोकबाट गरिँदै आइरहेको छ । स्याम्पल लिने क्रममा ब्यापारीहरू स्याम्पल नै दिन नमान्ने गरेको पनि सुवेदीले बताए । स्याम्पलमा विषादी भेटिएको खण्डमा त्यो तरकारीलाई नष्ट गरिन्छ । त्यही डरले पनि व्यवसायीले नमुना दिन मान्दैनन् । अहिले सरकारको कार्यविधिमा स्याम्पल लिने क्रममा विषादी भेटिएको खण्डमा त्यो वस्तुलाई बजारमा लान रोक लगाइन्छ । व्यापारीलाई चेतावनी दिने र कृषकलाई विषादीको बारेमा बुझाउने कार्यविधिमा रहेको छ ।

१६ विषादी प्रतिबन्धित 
नेपाल सरकारले २०५७ देखि ०६९ सम्ममा १६ प्रकारका विषादी प्रतिबन्ध गरिएको छ । यसमध्ये वि.सं २०५७ मा मात्रै १२ वटा र ०६४ मा ४ वटा कृषि बालीमा प्रयोग गरिने विषादीलाई प्रतिबन्धित गरिएको छ ।
क्लोरडेन, डी.डी.टी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डन, बीएचसी, फस्फामिडन, अर्गेनोमर्करी क्लोराईड, मिथायल पाराथिन, मनोक्रोटोफस, इन्डोसल्फान र फोरेट विषादीलाई नेपालमा प्रतिबन्धित गरिएको छ ।

विषादी छर्केपछि यसो गर्नुस् 
कृषि बालीमा विषादी प्रयोग गरिएको छ भने विषादी प्रयोगको यति दिनपछि बाली टिप्न सकिन्छ भन्ने बारेमा विषादीमा नै जानकारी दिएको हुन्छ । विषादी प्रयोगपछि बाली टिप्ने अवधिमा बाली टिप्ने हो भने हामीले प्रयोग गर्ने कृषिजन्य सामग्रीमा विषादीको अवशेष कम हरन्छ । त्यसकारण किसानले पनि कुन बालीमा विषादी प्रयोग गर्दा कति दिनमा टिप्नुपर्ने हो भन्ने कुराको बारेमा जानकारी लिन जरुरी रहेको बालीसंरक्षण निर्देशनालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप