मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सहकारीले सञ्चालन गरेको स्वास्थ्य शिविरमा महिलाहरू लाभान्वित

१० महिलाको परीक्षण गर्दा ७ मा जटिल पाठेघरको क्यान्सर
शनिबार, २८ माघ २०७९, ०९ : १४
शनिबार, २८ माघ २०७९

बारा । जीतपुरसीमरा उपमहानगर वडा नं ६ कि पद्मा देवीका एक देखी  डेढ वर्ष अन्तरका ५ छोरी छन् । छोरा हुने आसमा उनले २४ वर्षको उमेरमा ५ सन्तान जन्माएकी हुन् । 

सानै उमेरमा विवाह र बच्चा जन्माएकी पद्मालाई अहिले तल्लो पेट दुख्ने, सेतो पानी बग्ने र बेला बेलामा पिसाबघरबाट मासुको डल्लो निस्कने समस्या देखिएको छ । ‘छोरा जन्मन्छ भन्दाभन्दै ५ वटा छोरी भयो, अहिले २ वर्षदेखी सेतो पानी बग्ने, ढाड दुख्ने, पिसाब फेर्ने ठाउँबाट मासुको डल्लो निस्कने समस्या भएको छ’ उनले भनिन् ‘अस्पताल जान खर्च छैन, यहाँ निःशुल्क शिविर चलेको थाहा पाएर चेकजाँच गर्न आएको’ ।

पद्माका लोग्ने हार्डवेयर पसलमा ज्यालादारी गर्छन्, उनी जङ्गलबाट दाउरा ओसार्ने र अरूको खेतबारीमा काम गर्छिन् । ‘दाउरा पनि बोक्नुपर्छ, कोदालो पनि चलानुपर्छ, भारी काम गरेपछि पिसाब फेर्ने ठाउँबाट मासुको डल्लो बाहिर निस्कन्छ, छिटो औषधी गरेपछि राम्रो हुन्छ भनेको छ डाक्टरले तर पैसा छैन’ शुक्रबार सिमरा महिला सहकारीले सञ्चालन गरेको स्तन तथा पाठेघरको समस्या सम्बन्धी परीक्षण तथा परामर्श शिविरमा आएकी उपमहानगर वडा नं ६ की साजन देवी पनि तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्याले स्वास्थ्य शिविरमा चेकजाँच गर्न आएको बताएकी छिन् । करिब १ वर्षदेखि यस्तो समस्या भोग्दै आएकी उनले शुक्रवार निःशुल्क स्वास्थ्य शिविरमा पाठेघरको मुखको परीक्षण गरेकी छिन् ।

सोही स्वास्थ्य शिविरमा आएकी अर्की ६५ वर्षीय रमनी देवी पनि तल्लो पेट धेरै दुख्ने, पाठेघरको मुख बाहिर निस्कने समस्याले धेरै गाह्रो भएको बताउँछिन् ।डाक्टरले सिटिस्कान र अपरेसन गर्नुपर्छ भनेकोले उपचार खर्च नभएर आफू अस्पताल नगएको उनले बताइन् ।

सिमरा महिला सहकारीको सहयोगमा नेशनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर प्रालि जाउलाखेलले जितपुरसीमरा उपमहानगरको ग्रामीण भेगमा स्तन र पाठेघरको समस्या सम्बन्धी जनचेतना मूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा गरेको छ । सो शिविरमा २ सय महिलाले पाठेघरको मुखको परीक्षण गरेको सिमरा महिला सहकारीकी अध्यक्ष अनिता लम्सालले जनाएकी छिन् । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताइन् । सो शिविरमा आउने महिलाहरू मध्ये अधिकांशमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने लगायतका समस्या रहेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

१० महिलाको परीक्षण गर्दा ७ मा जटिल पाठेघरको क्यान्सर
स्त्रीरोग तथा क्यान्सर रोग विशेषज्ञ डा। सौजन्य कर्माचार्यले पाठेघरको मुखको क्यान्सरका १० जना बिरामी मध्ये ७ जना अन्तिम तथा जटिल अवस्थामा पुगेपछि मात्रै उपचारका लागि आउने गरेको बताएकी छिन् । स्त्रीरोग डा कर्माचार्यले अधिकांश महिलाहरूमा पिसाब गर्दा गन्हाउने पानी आउने, रगत मिसिएको पानी बग्ने, तल्लो पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्यकर्मी कहाँ जाने औषधी मात्रै खाने तर पाठेघर देखाउन हिचकिचाउँदा धेरै गाह्रो भएपछि परीक्षण गर्दा पाठेघरको क्यान्सरको तेस्रो, चौथो अवस्थामा पुगिसक्ने गरेको बताएकी छिन् ।

 ‘पाठेघरको मुखको क्यान्सर साधारण चेकजाँचबाट थाहा हुने कुरा हो, महिलाहरू समस्या लिएर स्वास्थ्यकर्मी कहाँ जान्छन् तर पाठेघर देखाउन हिचकिचाउने गर्दछन्’ उनले भनिन् ‘पाठेघरको मुखको क्यान्सर नै एचपिभी भन्ने भाइरसको सङ्क्रमणबाट हुने हो, यो सङ्क्रमणबाट क्यान्सरसम्म पुग्न पनि कम्तीमा ५ वर्षदेखि २० वर्षसम्म लाग्छ, यत्रो समय लाग्दा पनि हामीले यसलाई समात्न सकेका छैनौ’  पाठेघरको मुखको क्यान्सर पत्ता लगायत पाठेघरको मुखको पानी निकालेर परीक्षण गरिन्छ ।

महिलाहरूले समय समयमा पाठेघरको पानीको जाँच गर्दा यो रोग भए नभएको पत्ता लगाउन सकिन्छ । ‘एउटा महिलाको जीवनमा ६० देखि ७० प्रतिशत यो सङ्क्रमण हुने चान्स छ, त्यसैले यस्तो परीक्षण गर्न अत्यन्तै जरुरी छ’ स्त्रीरोग विशेषज्ञ डा कर्माचार्यले भने ‘अधिकांश महिलाहरू क्यान्सरको तेस्रो र चोथो चरणमा पुगेपछि उपचार गर्न आउनुहुन्छ, जसलाई हामीले निको गर्न पनि गर्न सक्दैनौ, उपचार खर्च र पिडा पनि धेरै हुन्छ’ । पाठेघरको मुखको क्यान्सर पहिलो र दोस्रो चरणमा पत्ता लागे उपचारबाट निको हुने गर्दछ भने खर्च पनि धेरै नलाग्ने जनाइएको छ ।

‘यो विषयमा महिलाहरूमा जनचेतना पुर्याउन धेरै आवश्यक छ, स्वास्थ्य शिविर भन्दा पनि जनचेतनामूलक कार्यक्रम धेरै महत्त्वपूर्ण छ, महिलाहरू सचेत हुनुभयो भने जुनसुकै दिनमा गएर पनि उपचार लिन सक्नुहुन्छ’ डा कर्माचार्यले भनिन् ।

नेशनल क्यान्सर हस्पिटल जावलाखेलका प्रमुख श्यामकृष्ण जोशीले विपन्न परिवारहरुको लागि कडा तथा दीर्घ रोग लागेमा नेपाल सरकारले दिँदै आएको १ लाख आर्थिक सहायता बाहेक  पनि मधेस प्रदेश सरकारले थप आर्थिक सहयता दिन आग्रह गरेका छन् । कडा तथा दीर्घरोगीहरुको लागि सङ्घीय सरकारको सहयोग बाहेक  लुम्बिनी सरकारले थप ३ लाख र वाग्मती प्रदेशले ५० हजार आर्थिक सहयता गर्दै आएकोमा मधेस प्रदेश सरकारलाई थप सहयोग गर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप