सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कविता

भूतहरूको भूमिमा

शनिबार, २८ माघ २०७९, १३ : १०
शनिबार, २८ माघ २०७९

भूतहरूको भूमिमा बरु नियम हुन्छ होला 
हुङ्कारको डरलाग्दो द्रविड प्राणायाम हुन्छ होला
दिन सक्ने सक्दो भय नै परिचय हुन्छ होला  
भूतहरूको भूमिमा बरु नियम हुन्छ होला ।

अस्ताउँदै गरेको पहेँलो घामले पोतिएको
मसाने बगरको छानोहीन हलमा कोलाहल हुन्छ होला 
झुन्डिएर, बिभिन्डिएर छुट्टिएर उछिट्टिएर आएको
आलो प्रेतात्मामाथि उक्लिएर कसले लिने नयाँ चोला भनेर 
एउटा ‘सिस्टम’ले हात हालाहाल हुन्छ होला
ईईईई...हिहिहिहि...अउअउअउअउ...हाहाहाहा
अथाह चिच्याहट हुन्छ होला उच्चाहट हुन्छ होला
धूवाँमय शरीरको बनावट हुन्छ होला
दाँत किटकिट कटकट हुन्छ होला
भूतहरूको भूमिमा बरु नियम हुन्छ होला
अस्तित्व दर्साउने कसरी तर्साउने कसरी
अभ्यास खास हुन्छ होला 
मेटिन बाँकी रहेका आफ्नै थुकमा 
रगतमा बास हुन्छ होला
आँसुले रोटी नुनिलो मुछिन्छ होला 
अकस्मात् आउने उज्यालोले 
सबै अनुहार पुछिन्छ होला
क्षण क्षण प्रताडनाको प्रशिक्षण हुन्छ होला
भूतहरूको भूमिमा बरु नियम हुन्छ होला ।
यहाँ सपुतको संसारमा त रातमा रात छैन
बातमा बात छैन 
दिनमा दिन छैन
विश्वासको रिनमा रिन छैन
यहाँ जिउँदो जगत्मा सधैँ तोडिनलाई 
नियम फगत हुन्छ 
असत् सत् हुन्छ
झुट कूटनीतिको मूल मन्त्र
मान्छे रिमोटे यन्त्र  
शान छ वर्तमानमा वर्तमानको अपमान छ 
यहाँ त पथ र पथ्य दुवै कुपथ छन् 
बिटोले मिल्ने छिटो सुपथ छन् 
माटो हराएर घाउ सातपत्रे खाटो बन्छ
यहाँ बाटो हराएको बाटो बन्छ 
त्यहाँ त बरु आफ्नै पाराको 
शम, दम, यम हुन्छ होला
भूतहरूको भूमिका बरु नियम हुन्छ होला ।
भय नै परिचय हुन्छ होला 
भूतहरूको भूमिमा 
बरु नतोडिने नियम हुन्छ होला । 

हाल आदिकवि भानुभक्त क्याम्पस दमौलीमा प्राध्यापनरत
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीलप्रसाद वाग्ले
सुशीलप्रसाद वाग्ले
लेखकबाट थप