आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गगन थापा भन्छन्– ‘राष्ट्रपतिको सवारीका बेला चिकित्सकमाथिको आक्रमण अशोभनीय र दुःखद’

शनिबार, २८ माघ २०७९, १४ : ३४
शनिबार, २८ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको सवारीका  क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद रहेको टिप्पणी गरेका छन् । शुक्रबार वीर अस्पताल अगाडि राष्ट्रपतिको सवारीका लागि बाटो खाली गराइरहेका प्रहरीको आक्रमणमा सोही अस्पतालका एक डाक्टर परेपछि महामन्त्री थापाले शनिवार आफ्नो भनाई सार्वजनिक गरेका हुन् । 

उनले दोषीलाई कारबाहीका लागि सरकारले तत्काल सुनुवाई गर्नुपर्ने बताउँदै भनेका छन्– ‘विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास परम्पराको नाममा चलिरहेको छ । यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ । यो पटक पनि त्यस्तै हुन्छ । तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ ।’  

महामन्त्री थापाले राष्ट्रपतिको सवारीलाई व्यवस्थित बनाउनका लागि विभिन्न सुझावहरु दिएका छन् ः ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा र्पुयाउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ ।’ 

उनले भनेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ ।  म आफ्नो ठाउँबाट यसका लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने र गराउने कुरामा प्रतिबद्ध रहने छु ।’  उनले राष्ट्रपति एउटा व्यक्ति नभई संस्था रहेको बताउँदै सो  संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको बताएका छन् । जसको कारणमा राष्ट्रपतिको तामझामवाला शैली रहेको उल्लेख गर्दै राष्ट्रपति संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदल्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप