आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश स्तरीय विज्ञान प्रदर्शनी: दोलखालाई प्रथम पुरस्कार

शनिबार, २८ माघ २०७९, २० : ०२
शनिबार, २८ माघ २०७९

मकवानपुर । बागमती प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा दोलखाको त्रिभुवन माध्यमिक विद्यालय प्रथम भएको छ । दोलखा मैलुङ गाउँपालिका–६ स्थित सो विद्यालयले विज्ञानको भौतिक, रासायनिक, जीव शास्त्रसँग सम्बन्धित विभिन्न प्रयोगात्मक प्रदशनीहरु देखाउँदै पहिलो स्थान हात पारेको थियो ।

शनिबार हेटौँडा स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षा निर्देशनालय बागमती प्रदेशद्वारा आयोजित उक्त प्रदर्शनी कार्यक्रममा ११ वटा जिल्लाका विद्यालयहरू सहभागी भएका थिए । प्रदर्शनीमा प्रदेशका २ जिल्लाका विद्यालय भने अनुपस्थित रहे । विज्ञानको प्रयोगात्मक प्रदर्शनीमा स्थानीय तहबाट नै छनौट हुँदै जिल्ला र प्रदेशसम्म आएका ११ जिल्लाका ११ विद्यालयहरूको उपस्थिति रहेको थियो । प्रदर्शनीमा प्रदेशका रामेछाप र ललितपुर जिल्लाका विद्यालय भने उपस्थित भएका थिएनन् ।

दोलखाको त्रिभुवन माध्यमिक विद्यालयले प्रदेशका ११ मध्ये जिल्लाका १० विद्यालयलाई पाखा लगाउँदै प्रथम स्थान हात पार्न सफल भएको हो । सो विद्यालयका छात्रा ईसा भण्डारी र छात्र निशान्त चर्मकारले तयार परेको विज्ञानको प्रयोगात्मक सामग्रीलाई निर्णायक मण्डलले कुल १०० अङ्क मध्ये ७२ अङ्क प्रदान गरेको थियो ।

IMG-20230211-WA0005

निर्णायक मण्डलले स्थानीय सामग्रीको उपलब्धता, आर्थिक व्ययभार, प्रस्तुतीकरण, प्रभावकारिता लगायतका विषय निर्धारण गरी उनीहरूको प्रस्तुतिको मापन गरेका थिए । जीव विज्ञानका शिक्षक रामायण पाठक, रसायनका भोलानाथ गौतम र भौतिक विज्ञानका प्रदीप उप्रेतीले प्रदर्शनीको निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सो विद्यालयले आफ्नो प्रयोगात्मक प्रदर्शनीमा बहुउदेशीय कृषि टनेललाई प्रस्तुत गरेका थिए । कम खर्चमा नै आधुनिक प्रविधिसहित कृषि उत्पादन गर्न सकिने गरी सा टनेललाई प्रस्तुत गरिएको थियो । हरेक स्थानमा बेमौसमी तरकारी तथा कृषिजन्य उत्पादन, पोल्ट्री फार्म लगायतमा सो टनेल प्रयोग गर्न सकिने गरी निर्माण गरिएको प्रदर्शनीमा प्रस्तुति दिँदै विद्यालयकी छात्रा भण्डारीले जानकारी दिइन् ।

विद्यालयले स्वचालित सडक बत्तीको प्रयोगात्मक प्रदर्शनी दिएका थिए । प्रदर्शनीमा सौर्य ऊर्जाको प्रयोग गरी स्वचालित रूपमा सडकका बत्तीहरू बाल्न सकिने उनीहरूले प्रयोग गरेर देखाएका थिए । नवीकरणीय ऊर्जाको प्रयोग गरिएको घर पनि उनीहरूको प्रयोगात्मक प्रदर्शनीमा रहेको थियो । सो प्रदर्शनीले अनविरणीय ऊर्जाको सञ्चिति हुनुको साथै नवीकरणीय ऊर्जाको प्रयोगले घर वातावरण मैत्री हुने प्रदर्शनीमा बताइएको थियो ।

लसुनको पेस्ट र पानीको प्रयोगबाट जैविक किटनाशक विषादी उत्पादनको प्रदर्शनीसमेत विद्यालयले दिएका थिए । प्रदर्शनीमा संलग्न छात्र चर्मकारले रसायन प्रयोग भएका विभिन्न औषधीहरूको प्रयोग गर्दा हुने क्षतिको न्यूनीकरणको लागि सो प्रदर्शनी उपयुक्त हुने बताए । केही स्थानमा गरिएका प्रयोगहरूले पनि प्रभावकारी भएको उनले बताए । लसुनमा भएको रसायनले कृषि उत्पादनमा क्षति पुर्‍याउने किराहरूलाई नष्ट गर्न सक्ने क्षमता भएकाले लसुनको पेस्ट र पानीको घोलबाट किटनाशक जैविक औषधीको रूपमा प्रयोग गर्न सकिने उनको भनाई छ ।

प्रदर्शनीमा मकवानपुरको महेन्द्र माध्यमिक विद्यालयले दोस्रो स्थान हात पार्न सफल भएको छ । भीमफेदी गाउँपालीका–६ स्थित सो विद्यालयले मकै छोडाउने हाते मेसिन, प्लास्टिकको टेलिस्कोप, पानी शुद्धीकरण प्रणालीको प्रस्तुति दिएको थियो । सो विद्यालयका छात्र नरेश थापा मगर र स्मारिका थापा मगरले मकै छोडाउने हाते मेसिनको प्रयोगात्मक प्रयोग गरेका थिए । उनीहरुले प्रदर्शन स्थलमा नै मकै छोडाएर देखाएका थिए । त्यस्तै अशुद्ध पानीलाई शुद्धीकरणका लागि प्लास्टिकका बोतलहरूको प्रयोग गरेर प्रदर्शनी दिएका थिए ।

प्रदर्शनीमा जनक माध्यमिक विद्यालय तेस्रो भएको थियो । काभ्रेको सो विद्यालयका छात्रा रविना मैनाली र छात्र विवेक पकुवालले पैदल यात्राबाट विद्युत् उत्पादनको प्रयोग गरेका थिए । डाइनामोको प्रयोग गरी यात्रा तथा भिडभाडयुक्त स्थानमा सो प्रयोग गरेर विद्युत् उत्पादन गर्न सकिने उनीहरूको प्रयोग रहेको थियो । उनीहरूको प्रयोगमा हरेक पाइला चाल्दा विद्युत् उत्पादन गरी ऊर्जा सङ्कट टार्न सकिने प्रदर्शनीमा संलग्न छात्रा मैनालीले जानकारी दिइन् ।

IMG-20230211-WA0011

उनीहरूले विद्यालयहरूको प्रयोगात्मक क्रियाकलापलाई सघाउ पुर्‍याउन हाइड्रोलिक ब्रेक सिस्टमको प्रयोग गरेका थिए । उनीहरूले सवारीहरूमा प्रयोग हुने सो सिस्टमको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन सकिने बताए । उनीहरूले मानव शरीरका विभिन्न प्रणालीहरू, कोरोना संक्रमणका कारण मानव शरीरमा हुने असरहरूलाई प्रयोगात्मक रूपमा प्रस्तुति दिएका थिए ।

त्यस्तै प्रदर्शनीमा श्री माध्यमिक विद्यालय सिन्धुलीले सान्त्वना स्थान हासिल गरेको थियो । सो विद्यालयकी छात्रा सुनिता स्याङ्तान र छात्र अश्विन बमजनले लिफ्ट सिँचाइ र बायु ऊर्जा प्रविधिबाट विद्युत् उत्पादनको प्रदर्शन गरेका थिए । उनीहरूले ब्याट्री को प्रयोगबाट खोला तथा नदीबाट पानी लिप्ट गरेर डाडाँमा सिचाई गर्न सकिने प्रविधिको प्रयाग प्रदर्शन गरेका थिए । सो प्रविधिको प्रयोग गरी पहाडी क्षेत्रमा कम खर्चमा सिँचाइ सुविधाको व्यवस्था गरी कृषि उत्पादनमा सहजता प्रदान गर्न सकिने विद्यालयको छात्र बमजनले जानकारी दिए ।

प्रदर्शनीमा प्रथम हुने दोलखाको त्रिभुवन माध्यमिक विद्यालयले १५ हजार रुपैयाँ, दोस्रो हुने मकवानपुरको महेन्द्र माध्यमिक विद्यालयले १३ हजार रुपैयाँ, तेस्रो हुने काभ्रेको जनक माध्यमिक विद्यालयले १० हजार रुपैयाँ र सान्त्वना हुने सिन्धुलीको श्री माध्यमिक विद्यालयले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रदर्शनीमा रसुवाको नमुना इभरग्रिन माध्यमिक विद्यालयले स्मार्ट इको भिलेज, विद्युत् गृह, फोहर व्यवस्थापन लगायतका प्रस्तुति दिएका थिए भने नुवाकोटको नवजीवन  माध्यमिक विद्यालयले वनस्पतिको पातहरुको प्रयोगबाट अत्तर तथा जैविक औषधी बनाउने प्रविधि प्रस्तुत गरेका थिए ।

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयले सेन्सर डस्टवीन, राडर सिस्टम, सौर्य हिटर लगायतको प्रस्तुत गरेका थिए । धादिङको त्रिपुा सुन्दरी माध्यमिक विद्यालयले विद्युत् उत्पादनको चक्र तथा विकासको प्रस्तुति दिएका थिए । पानीघट्टबाट विद्युत् उत्पादनको प्रविधिको प्रस्तुति उनीहरूले दिएका थिए ।

भक्तपुरको अक्सफोर्ड प्राक्टिकल स्कुलले भूकम्प सेन्सर घर, फोहर व्यवस्थापन, ग्रिन हाउस, वर्षातको प्रयोगबाट कृषि उत्पादनको प्रविधिका विषयमा प्रस्तुति दिएका थिए । सिन्धुपाल्चोकको सेतीदेवी माध्यमिक विद्यालयले सौर्य मण्डलका ग्रह तथा परिक्रमा लगायतका प्रस्तुति दिएका थिए । काठमाडौँको ज्ञानोदय माध्यमिक विद्यालयले प्रविधिको प्रयोग गर्दै मोबाइलबाट कन्ट्रोल गर्न सकिने कारको प्रयोग देखाएका थिए । उनीहरूले आगो, इन्धन तथा ग्यासको लिकेजको सेन्सर समेत दिने प्रविधि जडान गरिएको प्रस्तुति दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप