सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धितालको छाउगोठकी आमा लोकार्पित

आइतबार, २९ माघ २०७९, ११ : ५३
आइतबार, २९ माघ २०७९

काठमाडौँ । कवि जानु धितालको छाउगोठकी आमा कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा सिलौटो रेस्टुरेन्ट अनामनगर, काठमाडौँमा आयोजित कार्यक्रममा सो कृतिको लोकार्पण गरिएको हो । सो कृतिको साहित्यकारहरू पवन आलोक, स्नेह सायमि, श्रीओम श्रेष्ठ रोदन, नगेन्द्रराज शर्मालगायतले संयुक्त रूपमा विमोचन गरेका थिए । 

सो कृतिको समीक्षा गर्दै डा. शान्तिमाया गिरीले कवितामा नारी चेतना, सामाजिक विसङ्गति, नेपालको दुर्गम क्षेत्रमा अवशेष रहेको कुसंस्कारबारे चेतना फैलाउन आगोको झिल्का बनेर छाउ गोठकी आमा कविता सङ्ग्रह आएको बताइन् । 

कवि स्नेह सायमीले समाजमा रहेको पाखण्डलाई जानुका कविताले चिर्ने प्रयास गरेको बताए । उनले भने, “प्रथम प्रयास नै विशेष र गहकिलो छ । कवि चेत, शिल्प उहाँमा प्रष्ट देखिन्छ, धेरै लेखेर राम्रो कविता हुने होइन, थोरै कविता लेखेर पनि कालजयी हुन सकिन्छ ।”

कविता सङ्ग्रहबारे समीक्षा गर्दै प्राडा भरतकुमार भट्टराईले कृतिका २६ वटा कविताले प्रत्येकले विशेष छाप छोडेको बताए । पहिलो कृतिमा नै निकै गहन भएको उनले बताए । “यो कविता सङ्ग्रहमा नारीवादी कविता प्रचुर मात्रमा छन्, त्यो कुरा कृतिको नामबाट पनि थाहा हुन्छ,” उनले भने, “त्यति हुँदाहुँदै नारी भएर पनि पुरुषका बारेमा बोलिदिने निकै प्रखर कविताहरु पनि छन्, त्यो भनेको समाजको बदलिँदो आधार हो ।” ‘म नारी’ नारीवादी विचार बोकेको र ‘मैले नाघेको सगरमाथा’ सङ्ग्रहकै सर्वोत्कृष्ट कविता भएको उनले बताए । 

साहित्यकार नगेन्द्रराज शर्माले हरेक साहित्यिक समाजले कम्तीमा एउटा कृति प्रकाशित गरेपछि सदस्य मान्ने चलन अहिले भएको बताउँदै जानु धिताल पनि छोउगोठकी आमा प्रकाशित गरी साहित्यकार भएर साहित्यकारहरूको लाइनमा उभिन सफल भएकोमा बधाई दिए । यो कृतिका ३, ४ वटा कविता आफूले नै अभिव्यक्तिमा प्रकाशित गरेको बताए । उनी कवि मात्र नभएर कथा प्रतिभा पनि भएको र उनको पहिलो कथा आफूले नै छापेको बताए ।  “उहाँ कवि मात्र होइन, कथाकार पनि हो, मैले उहाँको कथा पनि छापेको छु,” शर्माले भने, “उहाँमा साहित्यकार हुने झिल्को हामीले देखेर नै सो अवसर प्रदान गरेका थियौँ ।”

यस्तै श्रीओम श्रेष्ठ रोदनले पहिलो कृतिको विशेष अर्थ हुन्छ भन्दै राम्रो कविता सङ्ग्रह प्रकाशित गरेको जानु धिताललाई बधाई दिए । “भोलि मदन पुरस्कार पाउँदा या नोबेल पुरस्कार पाउँदा पनि पहिलो कृतिको विशेष अर्थ रहन्छ,” उनले भने, “यो कृतिका प्रत्येक कविताले समाजलाई विशेष सन्देश दिने राम्रा कविता छन् ।” धिताल नेपाल स्रष्ट समाजको पूर्वसचिव रहेको समेत उनले चर्चा गरे । 

साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यता तथा  नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सो कार्यक्रम कवि विधान आचार्यले सञ्चालन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप