सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अर्धवार्षिक समीक्षा

राष्ट्रिय अर्थतन्त्रको अवस्था : उद्योगको क्षमता उपयोग ५२ प्रतिशतमात्र

कूल वस्तु निर्यात ३२ प्रतिशतले कमी
आइतबार, २९ माघ २०७९, १७ : ००
आइतबार, २९ माघ २०७९

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलेले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन् ।  प्रतिवेदनमा राष्ट्रिय अर्थतन्त्रको बुँदागत विश्लेषण गरिएको छ । देशको उत्पादन क्षेत्र,  मौद्रिक स्थिति  धितोपत्रलगायतको अवस्थाको समीक्षा गरिएको छ ।

प्रतिवेदनमा उत्पादन क्षेत्र अन्तरगत  कृषि,  उद्योग, सेवा क्षेत्रको विश्लेषण गरिएको छ । यस्तो छ प्रतिवेदनको समीक्षा :

कृषि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा धानको उत्पादन ६.९४ प्रतिशतले बढेको अनुमान गरिएको छ । गत वर्ष धानको उत्पादन १० प्रतिशतले घटेको थियो भने मकैको उत्पादन ३.१ प्रतिशतले गहुँको उत्पादन ३.५ प्रतिशतले र कोदोको उत्पादन १.९ प्रतिशतले बढेको थियो ।

उद्योग

गत आर्थिक वर्ष २०७८ / ७९ को चौथो त्रैमासमा उद्योगको क्षमता उपयोग ५२ प्रतिशत रहेको थियो। कोभिड-१९ को प्रभावबाट पुनरुत्थानको क्रममा रहेको नेपाली उद्योग क्षेत्र युक्रेनमा भइरहेको युद्ध पश्चात् विश्व अर्थतन्त्रमा देखिएको सुस्तता, मुद्रास्फीति, नेपालको बाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनका लागि अवलम्बन गरिएका उपायहरू, तरलता सङ्कुचन सँगै ब्याजदरमा परेको दबाव, आन्तरिक मागमा आएको सुस्तता लगायतका कारण उद्योग क्षेत्र प्रभावित हुने अनुमान रहेको छ।

सेवा

आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्म पर्यटकीय गतिविधिमा क्रमशः सुधार हुँदै गएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको मंसीर महिनासम्म ३ लाख २८ हजार विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा करिब ८८ हजार ७ सय पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए । कोभिड - १९ को प्रभाव कम भएसँगै सुरु भएको युक्रेनमा भइरहेको युद्धका कारण प्रभावित विश्व अर्थतन्त्रको वृद्धिदर तथा मुद्रास्फीतिमा देखिएको चापले पर्यटन आगमन समेत प्रभावित हुने सम्भावना रहेको छ।

मुद्रास्फीति

आर्थिक वर्ष २०७९/८० मा मुद्रास्फीतिलाई ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा २०७९ पुस महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति ७.३ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७८ / ७९ को पुस महिनासम्मको यस्तो मुद्रास्फीति ५.६ प्रतिशत थियो ।

मौद्रिक स्थिति

मुद्राप्रदाय

आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनामा विस्तृत मुद्राप्रदाय ३.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय २.८ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ ।

कर्जा प्रवाह

आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ८.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा यस्तो कर्जा ८.७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा ३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा यस्तो कर्जा ४ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन

आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूले सङ्कलन गर्ने निक्षेप ४.२ प्रतिशतले वृद्धि भई रू.५२ खर्व ९८ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशत (रू. १ खर्व ७९ अर्ब ७ करोड ) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशतले बढेको छ। २०७९ पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती खाताको अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.४ प्रतिशत रहेको छ । तरलता र ब्याजदर स्थिति

समीक्षा अवधिको सुरुवाती चरणमा बैंकिङ्ग प्रणालीमा तरलता दबाबको स्थिति भएतापनि पछिल्लो समय सुधारोन्मुख रहेको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नेपाल राष्ट्र बैङ्कबाट विभिन्न उपकरणहरू मार्फत रू.३० खर्व ९४ अर्ब ७६ करोड खुद तरलता प्रवाह भएको छ । समीक्षा अवधिमा तरलता दबाबको स्थितिका कारण अल्पकालीन ब्याजदरहरू बढेका छन् । २०७८ पुसमा बैङ्क तथा वित्तीय संस्थाहरू बीचको औसत अन्तर बैङ्क दर ४.८ प्रतिशत रहेकोमा २०७९ पुसमा ७.५ प्रतिशत कायम भएको छ । त्यसै गरी ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २०७८ पुसमा ५.१ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.९ प्रतिशत कायम भएको छ।

समीक्षा अवधिमा निक्षेप र कर्जाको ब्याजदरमा केही वृद्धि भएको छ । २०७८ पुसमा वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ६.४ प्रतिशत रहेकोमा २०७९ पुसमा ८.५ प्रतिशत कायम भएको छ। सो अवधिमा कर्जाको भारित औसत ब्याजदर ९.४ प्रतिशतबाट बढेर १२.८ प्रतिशत कायम भएको छ ।

धितोपत्र

धितोपत्र बजार

२०७९ पुस मसान्तमा धितोपत्र बजारमा सूचीकृत भएका कम्पनीहरूको सङ्ख्या २ सय ४९ रहेको छ। आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनामा रू.९४ अर्ब २१ करोड मूल्य बराबरका थप धितोपत्र सूचीकृत भएका छन् । नेप्से सूचकाङ्क २०७८ पुसमसान्तको २८५७.८ विन्दुबाट घटेर २०७९ पुस मसान्तमा २१४९.४ विन्दुमा पुगेको छ । २०७९ पुस मसान्तमा बजार पुँजीकरण रू.३१ खर्व ३ अर्ब १६ करोड रहेको छ।

बाह्य क्षेत्र

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७९/८० को छ महिनासम्म कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले कमी आई रू.८० अर्ब ८१ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ।

समीक्षा अवधिमा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई रू.७ खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात ५१.१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन र अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले कमी आई रू.७ खर्ब ११ अर्ब ८६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६.६ प्रतिशतले बढेको थियो।

विप्रेषण आप्रवाह

आर्थिक वर्ष २०७९/८० को छ महिनासम्ममा विप्रेषण आप्रवाह ( नेपाली मुद्रामा) २४.३ प्रतिशतले वृद्धि भई रू.५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई रू.६ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।

I

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ( संस्थागत तथा व्यक्तिगत- नयाँ) लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा  अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २९८.१ प्रतिशतले बढेको थियो ।

शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति

आर्थिक वर्ष २०७९/८० को छ महिनामा शोधनान्तर स्थिति रू.९७ अर्ब १० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू.२ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो ।

२०७९ पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तको रू.१२ खर्ब १५ अर्ब ८० करोडको तुलनामा १० प्रतिशतले वृद्धि भई रू.१३ खर्ब ३७ अर्ब २९ करोड कायम भएको छ। उक्त सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा ८ प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १० अर्ब ३० करोड अमेरिकी डलर कायम भएको छ। यो सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ। २०७९ पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.६ प्रतिशत रहेको छ।

 

1676196449_अर्धवार्षिक-समिक्षा-2079_80_10_29_2_45-Final-20

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप