सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बालाजु घटना : कहाँ चुक्यो प्रहरी ?

बाटो अवरुद्ध हुँदा दुई वटा भ्यान जलेको निष्कर्ष
मङ्गलबार, ०२ फागुन २०७९, १७ : १६
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । बालाजु स्थित नयाँ बसपार्क र माछापोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीले ठुलो क्षति बेहोरेको छ । पूर्व आँकलन नगरिएको प्रदर्शनको सामना गर्नुपर्दा क्षति बेहोर्नुपरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले लागु गरेको चर्को जरिवाना र पार्किङमा गरिएको कडाइबारे यातायात मजदुर आन्दोलनरत थिए । फागुन १ मा यातायात मजदुर अगुवाहरू आफ्ना १० बुँदे माग र आन्दोलनको ‘स्वरूप’ आफ्ना मजदुरलाई जानकारी गराउने कार्यक्रमको आयोजना गर्दै थिए । नयाँ बसपार्क भित्र सो कार्यक्रम आयोजना गरिँदै थियो । तर, ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर सहितले सो कार्यक्रम गर्न नदिएपछि विवाद सुरु भयो । नयाँ बसपार्क व्यवस्थापन पक्ष र यातायात मजदुरका अगुवाहरूलाई  प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अङ्गुर जिसीले छलफल गराएर समस्याको हल खोज्दै थिए । बसपार्क भित्र छलफल हुँदाहुँदै मजदुरहरूले माछापोखरी चोकमा गाडी तेर्स्याएर सडक अवरुद्ध गरे ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालका अनुसार सडक अवरुद्ध गरेपछि पनि बसपार्क भित्र त्यसबारे छलफल भयो । सडक अवरोध हटाउने सहमति गरेर सबै जना बाहिरिए । तर, जिम्मेवार अधिकारी भित्रबाट निस्किँदा बाहिर माछापोखरी क्षेत्र रणभूमि बनिसकेको प्रहरी अधिकारीहरू बताउँछन् ।

माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको गाडीमा आगजनी गरे । प्रदर्शनमा भएको झडपमा बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाए । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले आयो लगाए ।

बस रोकेर सडक अवरुद्ध गरेको हुनाले प्रहरीको गाडी पनि रोकिँदा क्षति पुगेको एसपी रिजालले बताए । उनी भन्छन्–‘प्रहरी भिडमा थिए, बसहरूको बीचमा हुनाले चालकले गाडी निकाल्न नपाउँदा आन्दोलनकारीले दुईवटा गाडी जलाए ।’

मजदुरकै दुईवटा समूहको बिचमा ‘कन्फ्युजन’ भएको हुनाले प्रदर्शन नियन्त्रण बाहिर गएको एसपी रिजालको निष्कर्ष छ । उनी भन्छन्–‘भित्र सहमति गर्नेहरू र अर्को समूहको कन्फ्युजन रहेछ ।’

ल्होत्से बहुउद्देश्यीय प्रा.लिका महाप्रबन्धक सुनिल कुँवर र मजदुर अगुवाहरूको बीचमा माइक खोसाखोस हुँदा आन्दोलनले उग्ररुप लिएको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले बताए । स्वाँर भन्छन्–‘पार्किङ र ट्राफिक जरिवानाको विषयमा पहिलेदेखि नै विवाद थियो ।’

विवाद पुरानै

काठमाडौँ महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले चक्रपथ आसपासमा सार्वजनिक सवारी पार्किङ गर्न निषेध गर्न थालेको थियो । महानगरपालिका र ल्होत्सेको बिचमा भएको सम्झौता अनुसार सार्वजनिक सवारी बसपार्क भित्र पार्किङ गर्नुपर्छ । नयाँ बसपार्कमा पार्किङ गर्दा ल्होत्सेले चर्को शुल्क लिएको भन्दै यातायात व्यवसायी र मजदुर संगठनहरुले असहमति जनाउँदै आएका थिए ।

बसपार्क बाहिर पनि भाडामा लिएको जग्गामा पार्किङ गर्ने सवारी धनीहरूको माग थियो । महानगर र ट्राफिक प्रहरीले उनीहरूको कुरा सुनेन । सबै गाडीलाई बसपार्क भित्र पठाउने र बाहिर पार्किङ गर्नेलाई ट्राफिकले चर्को जरिवाना असुल्न थालेको थियो । महानगरले जनभावी बस नरोक्न आग्रह गरेको र जाम व्यवस्थापन गर्न बसपार्क बाहिर पार्किङ गर्न रोक लगाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआईजी मिरा चौधरीले रातोपाटीलाई बताइन् ।

ल्होत्सेले पनि बसपार्क बाहिर गाडी पार्किङ नगर्न भनेको थियो । जरिवाना र पार्किङको विषयमा यातायात मजदुर असन्तुष्ट थिए । सो असन्तुष्टि उनीहरूले सोमबार पोखेका हुन् ।

यातायात मजदुरको कार्यक्रमबारे प्रहरी जानकार थियो । तर, त्यति धेरै मजदुर आउने आकलन नगर्दा भिड नियन्त्रण अस्तव्यस्त भएको प्रहरी अधिकारीहरू बताउँछन् । भिड नियन्त्रण गर्ने मुख्य युनिट नगर प्रहरीबाट खटिएका इन्स्पेक्टर शेर बहादुर बस्नेत सहित १७ जना प्रहरी घाइते भएका छन् ।

 प्रदर्शनमा सहभागी १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको एसपी रिजालले बताए ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि मजदुर संगठनहरुले उपत्यकामा सार्वजनिक सवारी नचलाउने निर्णय फिर्ता लिएका छन् । उप–प्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले आन्दोलनको कार्यक्रम फिर्ता लिने बताएका हुन् । ‘फागुन ८ गतेसम्म मन्त्रालयले एक खालको रिपोर्ट दिने भनेको छ’ राई भन्छन्–‘हाम्रो आन्दोलनको कार्यक्रम रोकिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप