सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चरेश कारोबारी थाइ नागरिक काठमाडौँबाट पक्राउ

मङ्गलबार, ०२ फागुन २०७९, २२ : ०२
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका अनुसार चरेश नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको प्रयास भने असफल भएको छ ।

जाँच गर्दा उनीहरूबाट झण्डै २४ किलो चरेश फेला परेको ब्यूरोका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । यसरी चरेश लैजान खोज्ने थाइ नागरिक येवालुक ज्वाब्स्री, परिचार्ट पम्परुक, न्याटपोल ट्रीचैया र न्याट्नरी ट्रीचैयालाई पक्राउ गरिएको उनले बताए । 

उनका अनुसार उनीहरू थाइलाइन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्डको बैंकक जान लागेका थिए । सूक्ष्म निगरानीमा निस्किएको प्रहरीले उनीहरूको गतिविधि शंकास्पद देखेपछि लगेज जाँच गर्दा फल्स बटम बनाई लागुऔषध ओसारपसार गर्न लागिएको फेला परेको पनि रञ्जितकारले बताए । 

उनीहरूले फल्स बटम बनाएर लुकाई लैजान लागेको अवस्थामा २३  दशमलव आठ किलोग्राम चरेश बरामद गरिएको छ । उनीहरूले कोसँग कसरी चरेश खरिद गरेका थिए भन्ने कुरा खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको उनले बताए । यसैबीच प्रहरीले विशेष सूचनाका आधारमा निरन्तर निगरानी पश्चात नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनलगायत केही नेपालीलाई पक्राउ गरेको उनले बताए ।

ठूलो परिमाणको नियन्त्रित लागुऔषध नाइट्राभेट ट्याब्लेट तथा अन्य लागुऔषध २० हजार एम्पुल तथा नगद रु चार लाख १७ हजारसहित चार जनालाई पक्राउ गरिएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट प्राप्त सूचनालाई विश्लेषण गरी निरन्तर निगरानीपछि उनीहरूलाई पक्रन ब्यूरो सफल भएको बताइएको छ । 

पक्राउ परेका सोलुखुम्बुका लाक्पा शेर्पाबाट लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन गरी २० हजार ३०० एम्पुल, नाइट्राभेट १२ हजार ९५० ट्याब्लेट र रु ४, लाख ५ हजार नगद बरामद गरिएको छ । शेर्पा विसं २०७० असारमा हातहतियार मुद्दामा पक्राउ परी तीन वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

सुन्धारास्थित सडक किनारबाट शेर्पालाई बिक्री गरेको लागुऔषधवापतको रकम लिन भारत मधुवनीबाट काठमाडौँ आएका ३८ वर्षका फैज अहमदल र धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप