आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको विषयलाई लिएर प्रचण्ड सरकार तलमाथि हुन दिँदैनौं : प्रवक्ता महत

शुक्रबार, ०५ फागुन २०७९, १६ : ००
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्र नेतृत्वको सरकारको निरन्तरताका लागि कांग्रेस तयार रहेको बताएका छन् । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा सत्ता तलमाथि हुने अवस्थामा वर्तमान सकरारलाई कांग्रेसले साथ दिने महतले रातोपाटीलाई बताए ।  उनले भने, ‘नेतृत्व तहमा छलफल भइरहेको छ । परिस्थिति अनुकुल बन्दैछ । राष्ट्रपतिलाई लिएर प्रचण्डजीको सरकार तलमाथि हुने अवस्थामा कांग्रेसले साथ दिन्छ ।’ पुस १० मा सत्ता दलीय गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रिय सहमति खोज्ने अडान छ ।

यसले सत्ता गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे अन्योलताको स्थिति छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा माओवादीको साथ पाउनेमा आशावादी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ९ माघमा बसेको शीर्ष नेताको बैठकमा नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अगाडि सारेका थिए ।

कांग्रेसबाट राष्ट्रपतिमा गोपालमान श्रेष्ठ र मानबहादुर विकले पनि आकांक्षा राखेको पाइन्छ । तर कांग्रेसवृत्तमा भइरहेको अनौपचारिक छलफलमा पौडेल र सिटौलाको नाममाथि ज्यादा चर्चा भइरहेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले केही दिनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने बताए । उनले भने, ‘राष्ट्रपति उम्मेदवारबारे अहिले अनौपचारिक तहमा मात्र छलफल भइरहेको छ । केही दिनमै कार्यसम्पादन समिति बैठकबाट निर्णयमा पुग्छौँ ।’

कांग्रेस नेता एनपी साउदले पनि नेता पौडेल र सिटौलाले इच्छा राखेको बताए । ‘कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे औपचारिक रूपमा छलफल भएको छैन । पार्टी सभापतिसँग राष्ट्रपतिका लागि धेरै मान्छेले इच्छा राख्नुभएको छ,’ उनी भन्छन्, ‘पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा इच्छा राख्नुभएको छ ।’

कांग्रेसले राष्ट्रपति पाउने र जित्ने पक्का भइसकेपछि पार्टीमा छलफल भएर एक जनालाई अगाडि बढाउने साउदको भनाइ छ । राष्ट्रपतिमा माओवादी सकारात्मक रहेको पात्र अगाडि सार्ने कांग्रेस नेताहरू बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप