बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बहुलाएको समय र ‘म्याड म्यान्स डायरी’

आइतबार, १३ फागुन २०७४, १४ : २१
आइतबार, १३ फागुन २०७४

 
नरेश ज्ञवाली/दिनेश पन्त
 
‘पहिले मलाई यसबारे केही थाह थिएन । मान्छे खाने इतिहासको चार हजार वर्षपछि जन्मिएको म जस्तो एक्लो मान्छे उनीहरूका अगाडि कसरी तिनको सामना गर्न सकुँला ? तर, मान्छेको मासु नखाएका केटाकेटी अझै छन् ? छन् । ती केटाकेटीहरूलाई त्यो स्वाद लिनबाट जोगाऊ, मान्छेको मासु खाने बानीबाट जोगाऊ..’ यो पङ्क्ति काठमाडौँमा हालै खुलेको कुन्ज नाटकघरमा मञ्चन भइरहेको पहिलो नाटक ‘म्याड म्यान्स डायरी’को संवाद हो ।
 
यो नाटक महान चिनियाँ प्रगतिशील साहित्यकार एवम् तत्कालीन नयाँ सांस्कृतिक आन्दोलनका एक अभियन्ता लु सुनको बहुचर्चित कथा ‘अ म्याड म्यान्स डायरी’ अर्थात् बौहुलाहको डायरीको नाट्य रूपान्तरण हो ।
 
सन् १९१८ को सेरोफेरोमा अर्थात चिङ वंशको पतन र चीनमा गणतन्त्र आएको बेला नयाँ सांस्कृतिक आन्दोलनले चलाएको पत्रिका नव युवामा छापिएको कथा हो । तत्कालीन चिनियाँ सामन्ती समाजको परिवेशमा लेखिएको यो कथा अहिले समयमा पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।
 
वाचन शैलीमा लेखिएको यो कथामा वाचकले आफ्नो साथी अर्थात् कथाको मुख्य पात्र बहुलाएको थाहा पाउँछ, तर केही समय अन्तरालपछि साथीलाई भेट्न जाँदा साथी सद्धे भई सरकारी जागिर खाइरहेको कुरा साथीको दाइ मार्फत थाह पाउँछ । वाचकले साथीको दाइबाट साथी बिरामी भएको बखतको अनुभवको डायरी ‘बौहुलाहको डायरी’ फेला पार्छ । तिनै अनुभवहरू यो कथामा वाचन गरिएको छ ।


 
वास्तवमा यो कथा सम्भवतः ‘स्किजोफ्रेनिया’को बिरामीको (एक किसिमको मानसिक रोग जहाँ रोगी काल्पनिक पात्रसँग संवाद गर्ने गर्छ) अनुभव र असङ्गत घटनाका सिलसिला हो । अर्थात एक बौहुलाहको डायरीमा लिपिबद्ध तितरबितर सोच र डरहरू, उसका आग्रह र मानसिक उन्मादको सँगालो हो ।
 
१३ छोटाछोटा खण्डमा लेखिएको यस कथामा यसका मुख्य पात्रले इतिहास, वर्तमानको समाज, घर, निकटस्थहरूमा ‘मान्छेको मासु’ खाने प्रवृत्ति देख्छ र यो प्रवृत्तिबाट पात्र भयभित, उत्तेजित र भावुक हुन्छ । नयाँ पुस्तालाई अर्थात बालबालिकालाई ‘मान्छेको मासु’ खानबाट जोगाउने कसरी सकिन्छ भनेर पात्र चिन्तित रहन्छ ।
 
अन्त्यमा नयाँ पुस्तालाई ‘मान्छेको मासु’ खाने प्रवृत्तिबाट जोगाउ भन्ने आग्रह गर्दछ । लु सुनले यस कथामा बौहुलाहको माध्यमबाट तत्कालीन सामन्ती समाजको शोषणको खरो रूपमा आलोचना गरेका छन् । शोषण र अत्याचारलाई ‘मान्छेको मासु’ खाने विम्बले प्रस्तुत गरिएको छ ।


 
समाजका साना–साना अङ्ग अर्थात व्यक्ति, परिवार, नातागोता, समाजका विभिन्न पेसाकर्मीदेखि समाज चलाउने व्यवस्थामा शोषणको डरलाग्दो यथार्थ अर्थात ‘मान्छेको मासु’ खाने प्रवृत्ति कसरी फैलिएको छ भनेर देखाएको छ ।
 
वास्तवमा यो कथा बौहुलाहको डायरी नभई बहुलाएको समयका एक सद्धे मानिसको अनुभव हो । सामन्ती समाजको यथार्थलाई उजागर गर्ने नाटकमा एक ठाउँ मुख्य पात्रको अभिनयमा रहेका सुदाम सिके भन्छन्– ‘मेजेस्ट्रेटद्वारा ठिँगुरामा ठोकिएका मानिसहरू, गाउँका घरानियाँहरूले गाला चड्काएका मानिसहरू, जिल्ला न्यायालयका हाकिमहरूद्वारा स्वास्नी हरिएकाहरू, साहुको अत्याचारले आत्महत्या गर्न बाध्य आमाबाबुका सन्तानहरूको अनुहारमा देखिने विक्षिप्त भाव मैले देखेको छु ।’
 
नाटकले दास मनोवृत्तिले गाँजेको समाजको एक चेतनशील मूर्खको कथा कहन्छ । लु सुनले लेखेको मूल कथामा व्यवस्थाले बौलाहा बनाएको मुख्य पात्र व्यवस्थाकै जागीरदार भएको देखाइएको छ तर नाटक भने त्यहाँसम्म पुग्दैन । उसले आफ्नो कुरा कहन्छ र अन्य कुरा दर्शकहरूका लागि छोडिदिन्छ ।


 
व्यवस्थाले मानिसलाई कसरी ‘भिक्टिम’ र ‘बौलाहा’ बनाउँछ भन्ने कुरा हामीलाई भारतीय कथाकार उदय प्रकाशको मोहनदास भन्ने पात्र नै प्रयाप्त छ । त्यसो त विश्वविद्यालयले निस्काशित गरेर ‘बौलाहा’ करार गरेकोे भारतीय कवि रामाशङकर विद्रोहीले लेखेको कविता ‘म्याड म्यान्स डायरी’ हेर्दा झलझली सम्झना हुन्छ । जहाँ कवि भन्छ–
 
म किसान हुँ
आकाशमा धान रोप्दैछु
केही मान्छे भनी रहेछन्
ए पागल ! आकाशमा धान रोपिँदैन
म भन्छु पागल !
यदि धर्तीमा भगवान रोप्न सकिन्छ भने
आकाशमा धान पनि रोप्न सकिन्छ
र अब त दुवैमध्ये कुनै एउटा मात्र रहन्छ
कि धर्तीबाट भगवान उखेलिन्छ
कि आकाशमा धान रोपिन्छ ।


 
नाटकले यो बौहुलाएको समयमा एउटा सद्धे मानिस कसरी ‘बौलाहा’ ठहर गरिन्छ र उसको कुरा खारेज गरिन्छ भन्ने कुरा उजागर गर्छ ।
 
यो कथाको परिवेश तत्कालीन सामन्ती समाज भए पनि यो कथा अझै पनि सान्दर्भिक छ । किनभने व्यवस्था पहिलेभन्दा झनै आक्रामक रूपमा मानिसहरूको जीवनमा प्रवेश गरिरहेको छ । नाटकमा मानिसको मासु खाने सन्दर्भ पटक–पटक उठ्ने गर्छ, जसले वर्तमान राजनीतिक व्यवस्थातर्फ औँला ठड्याउँछ ।
 
मान्छेको मासु खाने मानिसहरू अथवा मुख्यपात्रको दाइ व्यवस्थाको अनुहार भएर झल्किन्छ भने बौलाएको पात्र समाजको उन्नतीका निम्ति राज्यले आफ्नो हिंसक रूप त्याग्नुपर्ने कुरा उठाइरहने साधारणतम मानिस हो । व्यवस्था अर्थात सत्ता । सत्ता अर्थात शासक । शासक अर्थात शासकको साम्राज्य । साम्राज्य अर्थात विद्रोहीको शब्दमा–
 
...र यो मान्छेको छरिएको हाडखोर
रोमनको गुलामको पनि हुन सक्छ
र बङ्गालको जुलाहाको पनि
अथवा भियतनामी, प्यालेस्टिनी
केटाकेटीहरूको पनि
साम्राज्य आखिर साम्राज्य नै हुन्छ
भलै त्यो रोमन साम्राज्य होस्
ब्रिटिस साम्राज्य होस्
अथवा अन्याधुनिक अमेरिकी साम्राज्य
जसको काम यत्ति हो–
डाँडाकाँडामा, पठारमा, नदि किनारमा
सागरको तिरमा मानिसहरूको हाडखोर छर्ने ।
 
नाटकलाई मिहिन ढङ्गले हर्दा लाग्छ पहिले ठालु सामन्त र जमिनदारहरूले ‘मान्छेको मासु’ खान्थे तर आजको अत्याधुनिक राज्य व्यवास्थामा ‘मान्छेका मासु’ ठुल–ठुला पुँजीपति, नवउदारवादी अर्थतन्त्र, साम्राज्यवादी शक्ति र नाफाखोरहरूले खाइरहेका छन् ।
 
यसै व्यवस्थाभित्र, सामाजिक संरचनामा रहने हो भने सबैले केही न केही ‘मान्छेका मासु’को चोक्टा चपाउन अभिशप्त हुनुपर्छ । यो प्रवृत्तिविरुद्ध जानेहरूलाई हिंस्रकरूपमा दबाइँदैछ । यद्यपि नाटकले अप्रत्यक्ष रूपमा समाजमा यस्ता ‘बौलाहा’हरू बन्न प्रेरित गरेको छ, जसले समाजका नराम्रा कुराहरूमा प्रश्न उठाइ रहून ।
 
यो कालजयी कथाको नाट्य रूपान्तरण र मञ्चनमा निर्देशक चे शङ्कर, कलाकार सुदाम सिकेसहित, विप्लव प्रतीकको ठूलो भूमिका रहेको छ । स्टेजमा देखिएका सुदाम सिकेको अभिनय निकै बेजोड छ । उनी दर्शकलाई झस्काउन सफल भएका छन् ।  
 
जहाँ नाटकको अन्त्यतिर उनी भन्छन्– ‘मान्छेको मासु नखाएका केटाकेटीहरू अझै छन् ? छन् । ती केटाकेटीहरूलाई त्यो स्वाद लिनबाट जोगाउ । मान्छेको मासुको स्वाद नपाएका केटाकेटीलाई मान्छेको मासु खानबाट जोगाउ । हाम्रा केटाकेटीलाई मान्छेको मासु खाने बानीबाट जोगाऊ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप