प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकारमा जसपा पनि सहभागी
आइतबार, ०७ फागुन २०७९, २३ : ०३
बुटवल । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ। आइतबार मुख्यमन्त्री लिला गिरिको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका हुन्। भण्डारीलाल प्रदेश सभा बाँके २ क का सांसद हुन्।
यसअघि कृषिमन्त्री रहेका एमालेका तुल्सीराम शर्मालाई बिनाविभागीय मन्त्री बनाइएको छ। शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
नवनियुक्त मन्त्रीको सपथग्रहण भोलि गर्ने तयारी रहेको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।