सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

परिवर्तनका लागि युवाको दायित्व के ?

सोमबार, ०८ फागुन २०७९, १० : १८
सोमबार, ०८ फागुन २०७९

परिवर्तनका संवाहक र समाजको समृद्धिको मेरुदण्ड भनेको त्यो समाजका युवा शक्ति नै हुन् । युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोस, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । 

युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्छ । चाहे त्यो विश्व युद्धताका हिटलरको पालामा होस् वा प्रविधिको युगमा होस्, युवा वर्ग नै हो, युद्धमा होमिएर आफ्नो देशको अस्तित्व बचाउने । युवा वर्ग नै हो, नयाँ प्रविधिको खोज अनुसन्धान गरेर विश्वमाझ आफू र आफ्नो राष्ट्रलाई चिनाउने । रसियाका महान् मानवतावादी साहित्यकार लियो टोलस्टोयले ‘युद्ध र शान्ति’ नामक पुस्तकको अन्तिम विवरणमा ‘क्रान्ति विचारको उपज होइन, यो त युवाको परिवर्तनको चाहना हो’ भनेर लेखेको भनाइले पनि युवा वर्गको समाज रूपान्तरण गर्ने कतिसम्म सामथ्र्य हुन्छ भन्ने कुराको पुस्ट्याइँ गरेको छ ।

समृद्ध नेपालको सपना असम्भव होइन, युवाले चाहेमा समृद्ध नेपाल सम्भव बन्नेछ । कहिलेकाहीँ हामीलाई नेताहरूले भन्छन्, ‘तिम्रो बेला भएको छैन, बच्चा नै छौ, उमेर छ ।’ तर काल माक्र्सले ३० वर्षको उमेरमा लेखेको ‘कम्युनिस्ट घोषणापत्र’ पढेर  हामी त्यसको पछि लागेर हिँडिरहेका छौँ । कमरेड मदन भण्डारीले ३७ वर्षको उमेरमा ‘जनताको बहुदलीय जनवाद’ दस्तावेज तयार गरेका थिए । यसो हुँदा युवाले नेतृत्व गर्न नसक्ने प्रश्नै उठ्दैन । आजका युवाले इतिहास, भूगोल, देशका स्रोत–साधन र सामाजिक अवस्था बुझ्न जरुरी छ । राजनीतिमा हस्तक्षेपकारी भूमिका निभाउन आजका युवा सचेत, सक्षम र अध्ययनशील हुनैपर्छ ।  आज युवाहरू अनुशासनसहित वैचारिक रुपमा एकताबद्ध र प्रतिबद्ध हुन आवश्यक छ । 

हामीकहाँ केही कति सामन्तवादका अवशेष छन् । त्यसको समूल अन्त्य गर्दै नेपाली समाजलाई समाजवादतर्फ अगाडि बढाउन आजका युवाको कर्तव्य रहेको छ, यसका लागि विविध कार्यक्रम र अभियानसहित युवाहरू अगाडि बढ्नुपर्छ ।

केही चर्चा गरौँ, नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको, जो युवाहरूको अहिलेको आशाको केन्द्रबिन्दु हो ! माओले भनेका छन्, ‘हे युवा हो, यो संसार तिम्रो पनि हो, हाम्रो पनि हो, अन्तिममा यो संसार नवयुवाहरूको नै हो ।’

यो भनाइलाई राष्ट्रिय युवा संघ नेपालले मनन गर्दै जानुपर्नेछ । २०४७ जेठ १ गते देशभक्त, प्रगतिशील, जनवादी युवालाई गोलबद्ध गर्दै राष्ट्रिय आकांक्षा पूरा गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ) खोलिएको थियो । प्ररायुसंघ नै युवा संघ हुँदै र हाल राष्ट्रिय युवा संघ बनेको हो ।

२०४६ सालको परिवर्तनपछि बेथितिप्रतिको खबरदारीका लागि प्रगतिशील युवाहरू गोलबद्ध हुन आवश्यक थियो । भ्रष्टाचार, महँगीविरुद्ध आवाज उठाउँदै यस संघले निरंकुश राजतन्त्रविरुद्ध पनि संघर्ष गर्दै आयो । युवा, खासगरी विद्यार्थीलाई वैचारिक र सांगठनिक रुपमा सशक्त बनाउँदै यस संघ यहाँसम्म आइपुगेको छ ।  

हामीकहाँ केही कति सामन्तवादका अवशेष छन् । त्यसको समूल अन्त्य गर्दै नेपाली समाजलाई समाजवादतर्फ अगाडि बढाउन आजका युवाको कर्तव्य रहेको छ, यसका लागि विविध कार्यक्रम र अभियानसहित युवाहरू अगाडि बढ्नुपर्छ ।

०६२/६३ को परिवर्तनपछि देशमा समावेशी प्रतिनिधित्वको अभ्यास हुन थालेको छ । यद्यपि राजनीतिक संगठनभित्रै यस्ता आत्मसात नगरेको पाइन्छ । राज्यका सेवा–सुविधामा मुठीभरको जात र वर्ग हाबी हुँदै आएको र अझै रहेको यथार्थ हो ।

यतिखेर देशमा बेरोजगारीको समस्या छ । युवा जनशक्तिलाई देशमै रोजगारी दिनुपर्ने चुनौती हाम्रो सामु छ । आज ६० भन्दा बढी देशका मानिस नेपालको विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । त्यसमा पनि खुला सीमा भएकाले भारतबाट मात्र बर्सेनि २ लाखभन्दा मानिस कामका सिलसिलामा नेपाल आउने गरेका छन् । तर, नेपालबाट रोजगारीका लागि बर्सेनि करिब ४ लाखभन्दा बढी जनशक्ति बाहिरिने तथ्यांकले देखाउँछ । अन्य मुलुकबाट नेपालमा आउने र नेपालबाट अन्य मुलुकमा जाने यो अवस्था र नेपालमै उत्पादन भएको जनशक्ति नेपालमै खपत गर्नका लागि विविध योजनाका विषयमा सरकार र सम्बन्धित पक्षसँग छलफल, पहल कदमी गर्नु आज यस संघको दायित्व रहेको छ ।

महिला, मुस्लिम, दलित लगायत उत्पीडित समुदायको शिक्षामा राज्यले पहल गर्नुपर्छ । भर्खरै हामीले समाजवाद उन्मुख संविधान बनाएका छौँ । जसले मौलिक हकमा धेरै विषय समेटेको छ, त्यसको कार्यान्वयनमा पनि आज युवाले दबाबमूलक गतिविधिहरू सञ्चालन गरिरहनुपरेको छ । 

युवा रोजगार बैंक, राष्ट्रिय स्तरको युवा संसदको व्यवस्था, १६ वर्ष उमेर पुगेकालाई मतदान हक, खेलकुद विश्वविद्यालयको व्यवस्था, रोजगारीका लागि विदेशमा रहेकालाई मतदान अधिकार, युवालाई निश्चित दिनको रोजगारीको ग्यारेन्टी, बेरोजगार भत्ता आदि आज हाम्रो माग रहेको छ । 

आज हामी परनिर्भर हुँदै गइरहेका छौँ । दाँत कोट्ट्याउने सिन्को पनि आयात गर्दैछौँ । हामीले सर्वप्रथम राष्ट्रिय उत्पादनलाई बढाउनुपर्नेछ । राष्ट्रिय उत्पादनलाई बढाउने प्रक्रियामा सबै वर्ग, क्षेत्र र समुदाय सहभागी बनाउनुपर्नेमा आजका युवा सचेत हुनुपर्छ । 

देशमा हरेक वर्ष प्राकृतिक विपतका कारण घरबारविहीन हुनेहरू छन् । यस्तोमा राज्यले व्यवस्थित बसोबासको योजना हुनुपर्छ । उपचार नपाए ज्यान गुमाउनेहरू छन्, त्यसैले दुर्गम क्षेत्रमा सुविधासम्पन्न स्वास्थ्यसेवा दिन र निम्न वर्गका जनताको निःशुल्क उपचार गराउन सरकार सक्षम हुनुपर्छ । 

देशमा अझै पनि महिला विभेद र हिंसा, जातीय विभेद र छुवाछुत विद्यमान छन् । यस्ता विभेद हटाउन सरकारले तदारुकता देखाउनुपर्छ भने युवाहरू बन्नुपर्छ । ०६२/६३ को परिवर्तनपछि देशमा समावेशी प्रतिनिधित्वको अभ्यास हुन थालेको छ । यद्यपि राजनीतिक संगठनभित्रै यस्ता आत्मसात नगरेको पाइन्छ । राज्यका सेवा–सुविधामा मुठीभरको जात र वर्ग हाबी हुँदै आएको र अझै रहेको यथार्थ हो । यी यावत् विषयमा आजका युवा सजग हुनुपरेको छ ।

देशमा भ्रष्टाचार व्याप्त छ, दलबाटै प्रतिनिधि बनेर गएकाहरूले भ्रष्टाचार हटाउन, दाइजो, छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न लाग्नुपर्ने हो, यसो नहुँदा आज युवाहरूले खबरदारी गर्नुपरेको छ । 

(लेखक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमिला नेपाल
रमिला नेपाल
लेखकबाट थप