आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राविधिक विषय पढ्न चाहने ५६० जना विद्यार्थीलाई छात्रवृत्ति

सोमबार, ०८ फागुन २०७९, १३ : ०६
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले ५६० जनालाई विशेष प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले त्यसका लागि आवेदन माग गरेको छ । ८ फागुनदेखि २८ गतेसम्म निःशुल्क आवेदन दिन सकिनेछ ।  देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरूलाई प्रि–डिप्लोमा तह र ४०० जनालाई डिप्लोमा/प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न विशेष प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गर्न लागेको हो । त्यसको लिइने प्रवेश परीक्षाको लागि आवेदन दिन आह्वान गरेको हो । 

नेपाल सरकारको यो वर्षको बजेट तथा कार्यक्रममा व्यवस्था भएअनुसार प्रादेशिक सन्तुलन कायम हुनेगरी देशभरका विपन्न, दलित र मुस्लिम समुदायका व्यक्तिहरूलाई छात्रवृत्ति दिन लागेको हो ।  परीक्षार्थी छनोटका लागि लिइने प्रवेश परीक्षा आगामी चैत्र ११ गते सञ्चालन हुनेछ । दलित–मुस्लिमको हकमा सम्बन्धित आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित पालिकाबाट उक्त जाति भनी जारी गरिएको प्रमाणित पत्र पेश गर्नुपर्नेछ । 

त्यस्तै विपन्न समूहको छनोट गर्दा हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पीडित÷शहीद÷जनआन्दोलन घाइते परिवारलाई समावेश गरिनेछ । जसमा नेपाल सरकारले सूचीकृत गरेका सुविधा वञ्चित २२ वटा आदिवासी जनजाति समूहहरूलाई आर्थिक रूपमा विपन्न भनी स्थानीय निकायबाट प्रमाणित कागजातका आधारमा विपन्न कोटामा सहभागी गराइनेछ । 

प्रि–डिप्लोमा तर्फ एग्रिकल्चर, फरेस्ट्री, अटोमोबाइल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ विषय पढ्न पाइनेछ । त्यस्तै डिप्लोमा तहतर्फ सिभिल इन्जिनियरिङ, एग्रिकल्चर (बाली विज्ञान र पशु विज्ञान), जियोमेटिक्स इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर) इन्जिनियरिङ, रेफ्रिजिरेसन एण्ड एयरकन्डिसनिङ इन्जिनियरिङ र मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट विषय निःशुल्क पढ्न पाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप