सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
छानबिन समितिको प्रतिवेदन

बालाजु घटना : दुईजना डिएसपीलाई कारबाही गर्न सिफारिस

डिएसपीको बयान–‘थप मद्दत आएन’
सोमबार, ०८ फागुन २०७९, २३ : ४०
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बिचमा भएको झडपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । डिआईजी मसाउद आलम खाँ नेतृत्वको समितिले छानबिन प्रतिवेदन बुझाएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले रातोपाटीलाई बताए ।

फागुन १ मा भएको प्रदर्शनमा माछापोखरीमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाएका थिए । माछापोखरी क्षेत्रमा खटिएका दुई जना डिएसपीको कमजोरीका कारण प्रहरीको गाडी जलेको छानबिन समितिको निष्कर्ष छ । समितिले प्रहरी वृत्त बालाजुमा कार्यरत डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए ।

उपत्यका प्रहरी कार्यालयले घटनापछि डिएसपी विष्टलाई बालाजुबाट हटाएर रानीपोखरीमा हाजिर गराएको थियो । घटना भएको दिन सोह्रखुट्टेका डिएसपी बम थप मद्दतको रूपमा बालाजुमा खटिएका थिए । ‘प्रहरी नियमावली अनुसार दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ’ छानबिन समितिका एकजना सदस्यले रातोपाटीसँग भने–‘घटनास्थलमा खटिएका दुई डिएसपी गैरजिम्मेवार देखिएका छन् ।’

डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको छानबिन समितिको ठहर छ । प्रदर्शन उग्र बनेपछि डिएसपी बम पनि घटनास्थलबाट हिँडेको छानबिन समितिको निष्कर्ष छ ।  

प्रदर्शनको समयमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपरमार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो । छानबिन समितिको सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले जानकारी दिए ।

डिएसपीको बयान–‘थप मद्दत आएन’

छानबिन समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना सदस्य छन् । समितिले  दुई जना डिएसपी सहितका प्रहरी कर्मचारीहरूसँग बयान लिएको छ । समितिसँगको बयानमा डिएसपी रविन विष्टले थप मद्दत समयमा नआएको जिकिर गरेका छन् । समितिका एकजना सदस्य भन्छन्–‘समयमा थप मद्दत नआएको डिएसपीको भनाई छ ।’

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले लागु गरेको चर्को जरिवाना र पार्किङमा गरिएको कडाइबारे यातायात मजदुर आन्दोलनरत थिए । त्यस दिन यातायात मजदुर अगुवाहरु आफ्ना १० बुँदे माग र आन्दोलनको ‘स्वरुप’ आफ्ना मजदुरलाई जानकारी गराउने कार्यक्रमको आयोजना गर्दै थिए । नयाँ बसपार्क भित्र सो कार्यक्रम आयोजना गरिँदै थियो । तर, ल्होत्से बहुउद्देश्यिय प्रालिका महाप्रबन्धक सुनिल कुँवर सहितले सो कार्यक्रम गर्न नदिएपछि विवाद सुरु भयो । ल्होत्से बहुउद्देश्यिय प्रालिका कर्मचारीले मजदुरको व्यानर फालेपछि प्रदर्शनको अवस्था आएको छानबिन समितिको निष्कर्ष छ ।

‘ब्यानर फालेपछि होहल्ला हुँदै विवादले उग्र रुप लिएको देखिन्छ’ समितिको प्रतिवेदनमा भनिएको छ–‘यातायात मजदुरका अगुवाहरूलाई  प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अंगुर जिसीले बिजी मलमा छलफल गराएर समस्याको हल खोज्दै गर्दा मजदुरले गाडी तेर्स्याएर सडक अवरुद्ध गरेको देखिन्छ ।’

प्रदर्शन सुरु हुन लाग्दा एकजना युवक हेलमेट नलगाईकन स्कुटर लिएर माछापोखरीबाट बसपार्क तिर आउन खोजे । आन्दोलनकारीले सो स्कुटरलाई रोके । यातायात मजदुरले स्कुटर चालकलाई कुटपिट गरेपछि प्रहरीले मजदुरलाई त्यहाँबाट हटाउन खोजेको थियो । छानबिन समितिको प्रतिवेदनमा भनिएको छ–‘अनि, प्रहरीमाथि ढुंगामुढा प्रहार भयो, आन्दोलन उग्र बन्यो ।’

बालाजुको पुलबाट माछापोखरी तर्फ खटिएका दुई जना डिएसपीले फिल्डमा ‘व्यवस्थापकीय भूमिका निर्वाह गर्न नसकेको’ समितिको ठहर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप