आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

काउन्सिलमा डेन्टलतर्फ नाम दर्ता गर्नेमा पुरुषको तुलनामा महिला दोब्बर

मङ्गलबार, ०९ फागुन २०७९, ०७ : २७
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको सङ्ख्या ३२ हजार नाघेको छ । काउन्सिलमा एमबीबीएस, बीडीएस र एमडीएस एमएसतर्फ दर्ता हुनेको सङ्ख्या हालसम्म ३२ हजार ३१८ पुगेको रजिष्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

काउन्सिलमा नाम दर्ता गराएका ३२ हजार ३१८ जनामध्ये २९ हजार १४२ पुरुष छन् भने महिला १२ हजार ७६ जना छन् । समग्रमा महिलाभन्दा पुरुष दोब्बरभन्दा बढी छन् । तर मेडिकलतर्फ पुरुष बढी छन् भने डेन्टलतर्फ पुरुषको तुलनामा महिला दोब्बर बढी छन् ।

मेडिकलतर्फ पुरुष बढी

नेपाल मेडिकल काउन्सिलमा हालसम्म दर्ता भएका एमबीबीएस, बीडीएस र एमडीएस एमएसतर्फका ३२ हजार ३१८ जनाको नाम दर्ता भएकोमा मेडिकलतर्फ भने महिलाभन्दा बढी पुरुष छन् ।

सन् २०१८ मा मेडिकलतर्फ पुरुष १२ सय ७४ जनाले नाम दर्ता गराउँदा महिला ६९० जना दर्ता भएको काउन्सिलले जनाएको छ । यस्तै, २०१९ मा पनि मेडिकलतर्फ १३ सय ५९ जना पुरुषको नाम दर्ता हुँदा महिला ७५४ को नाममात्र दर्ता भएको थियो ।

सन् २०२० मा मेडिकलतर्फ नाम दर्ता गराउने महिलाको सङ्ख्या पुरुषको तुलनामा आधा छ । यस वर्ष पुरुष १ हजार ७४ र महिला ५ सय ९४ जनाले नाम दर्ता गराएका थिए ।

सन् २०२१ मा मेडिकलतर्फ पुरुष ८८२ जनाले नाम दर्ता गर्दा महिला ४१६ जनाले मात्र नाम दर्ता गराएका छन् । सन् २०२२ मा मेडिकलतर्फ पुरुष १ हजार १३९ को नाम दर्ता हुँदा महिला ६१४ जनाले दर्ता गराएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

डेन्टलतर्फ महिला बढी

नेपाल मेडिकल काउन्सिलसमा पाँच वर्षको अवधिमा डेन्टलतर्फ नाम दर्ता गराउने पुरुषभन्दा महिलाको संख्या उल्लेख्य रहेको पाइएको छ ।

सन् २०१८ मा डेन्टलतर्फ महिला २७५ जनाले नाम दर्ता गराउँदा पुरुषको संख्या ९९ मात्रै थियो । दुवै गरी यस वर्ष डेल्टलतर्फ ३७४ जनाले नाम दर्ता गराएको नेपाल मेडिकल काउन्सिलल जनाएको छ ।

सन् २०१९ मा डेन्टलतर्फ ४८२ जनाले काउन्सिलमा नाम दर्ता गरेका थिए । जसमा महिला ३६३ थिए भने पुरुष ११९ जना थिए ।

सन् २०२० मा डेन्टलतर्फ पुरुष ३१८ र महिला १४५ गरी ४६३ जनाले नाम दर्ता गराएका थिए ।

यस्तै सन् २०२१ मा डेन्टलतर्फ पुरुष ११० जनाको नाम दर्ता हुँदा महिला ३०८ जनाले दर्ता गराएका थिए । सन् २०२२ मा  पनि डेन्टलतर्फ महिला २५६ जनाले दर्ता गराउँदा पुरुष ७६ जनाले मात्रै नाम दर्ता गराएका थिए ।

काउन्सिलमा दर्ता गर्ने क्रम घट्दै

नेपाल मेडिकल काउन्सिलमा सन् २०१८ सम्ममा एमबीबीएस, बीडीएस र एमडीएस एमएसतर्फ २३ सय ३८ जनाले नाम दर्ता गराएका थिए । यस्तै, सन् २०१९ मा २५ सय ९५ जना थपिएका थिए । सन् २०२० मा २१ सय ३१ जना चिकित्सक थपिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष दर्ता हुनेको संख्या घटेको थियो ।

सन् २०२१ मा अघिल्लो सालभन्दा ४१५ जना कमले नाम दर्ता गरेका थिए । यो वर्ष १७ सय १६ जनाले मात्र नाम दर्ता गरेका थिए । सन् २०२२ मा भने २ हजार ८५ जना थपिएर जम्मा ३२ हजार २१८ जनाले हालसम्म काउन्सिलमा नाम दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप