आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सन्दर्भः २३औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस

‘अहिलेसम्म नेपालमा नेशनल ल्याङ्ग्वेज पोलिसी नै छैन’

सञ्चारमाध्यमले पनि मातृभाषालाई जोड दिएमा राम्रो परिणाम ल्याउन सकिन्छः अमृत योञ्जन
मङ्गलबार, ०९ फागुन २०७९, १४ : ०४
मङ्गलबार, ०९ फागुन २०७९

आज फेब्रुअरी २१ विश्व मातृभाषा दिवस । नेपालले मातृभाषा दिवस सन् २००० देखि नै मनाउँदै आएको छ । यस वर्षको नारा ‘शिक्षामा रूपान्तरणका लागि बहुभाषिक शिक्षाको आवश्यकता’ अर्थात् ‘मल्टिलिङ्गुअल एजुकेसन, नेसेसिटी टु ट्रान्सफर्म एजुकेसन’ भन्ने छ । 

२२ वर्षको यो अवधिमा मातृभाषासम्बन्धि चेतना र प्रचारप्रसार प्राज्ञिक क्षेत्रबाट केही स्थानीय समुदायसम्म पुगेको छ । तर अझै पनि यस क्षेत्रमा भएको लगानीअनुसार परिणाम आउन सकेको छैन । 

मातृभाषालाई स्थानीय तहको सरकारको कामकाजको भाषा बनाउन, विद्यालय तहमा माध्यम भाषा बनाउन के कस्ता चुनौतीहरू सामना गर्नुपरिरहेको छ ? लगायत विषयमा केन्द्रित रही मातृभाषामा निरन्तर काम गरिरहेका तथा भाषा आयोगका सदस्यसमेत रहेका अमृत योञ्जनसँग रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानीः  

–आज मातृभाषा दिवस रहेछ । भाषा आयोगलगायत अरू निकायले कसरी मनाउँदैछन् ? 

भाषा आयोगले भोलि मात्र औपचारिक कार्यक्रम गर्दैछ । बुधवार १ बजे जुममार्फत् औपचारिक छलफल हुनेछ । तर नेपाल प्रज्ञा प्रतिष्ठानमा चाहिँ आजै २ बजे मातृभाषा कविता गोष्ठी भइरहेको छ । आदिवासी जनजाति प्रतिष्ठानले पनि मातृभाषासम्बन्धि कार्यक्रम यसै हप्ताभित्रै गर्दैछ । 

–नेपालमा मातृभाषाको सङ्ख्या चाहिँ कति छ, कति होलान् जीवित ? 

जनगणना २०७८ को प्रतिवेदन आइसकेको छैन । त्यसैले, २०६८ को जनगणनालाई आधार मान्नुपर्ने हुन्छ । सोअनुसार यहाँ भाषा १२३ छन् । त्यसमध्ये २१ वटा भाषा अत्यन्त लोपोन्मुख भनेर राखिएको छ । एक हजारभन्दा कम वक्ता भएको भाषालाई अत्यन्त लोपोन्मुख भाषाका रूपमा हेरिन्छ ।  

नेपालमा जनगणनाको प्रतिवेदनका आधारमा नै भाषाको सङ्ख्या निर्धारण गरिन्छ । जनगणना प्रतिवेदनमा नेपालमा बोलिने सबैखाले भाषा अङ्ग्रेजी, फ्रेन्चलगायतलाई पनि मातृभाषाका रूपमा लिएको छ । यसले केही अलमल बनाएको छ । 

नेपाली मूलदेखि बाहिरका चाहिँ २१ वटा भाषा छन् । जस्तै चाइनिज भाषा मेरो मातृभाषा भनेको रहेछ । चाइनिज केटीहरू नेपाली केटासँग विवाह गरी आएको अवस्था हो यो । उनीहरूले मातृभाषा चाइनिज भन्ने हो । 

नेपालमा नागा भाषा पनि बोलिन्छ भन्ने छ, नागा केटीहरू पनि नेपालमा बिहे गरेर आए होलान् । किनभने आसाम, नागाल्यान्डतिर नेपालीहरू पुग्छन् नै । विवाह गरी ल्याएका महिलाले आफ्नो मातृभाषा भन्दा नागा भाषा भने होला भन्ने विशेषज्ञहरूको एउटा तर्क चाहिँ छ । 

अहिलेसम्म हामीले जनगणनालाई नै आधार मानेका छौँ । जनगणनालाई च्यालेन्ज गर्ने हिम्मत कसैको छैन । किनभने त्यसमा धेरै ठूलो बजेटबाट यो रिपोर्ट तयार हुन्छ । त्यसैले, जनगणनाको रिपोर्टले जे दियो, भाषा आयोगले पनि त्यसैलाई आधार मान्नुपर्ने अवस्था छ । 

–मातृभाषा प्रवर्द्धनका लागि आवश्यक कानुनहरू सबै निर्माण भइसके कि बाँकी छन् ?

कुनै कुनै कुरामा अहिलेसम्म केही पनि भएको छैन । अहिलेसम्म नेपालमा मातृभाषाको राष्ट्रिय नीति कस्तो हुने भन्ने छैन । नेपालमा अहिलेसम्म नेशनल ल्याङ्ग्वेज पोलिसी छैन । 

टुक्राटाक्रीमा पाठ्यक्रम विकास केन्द्रको आफ्नो पोलिसी होला, शिक्षा विभागको आफ्नो पोलिसी होला तर सोलोडोलो रूपमा नेपालको राष्ट्रिय भाषा नीति बनेको छैन । 

मातृभाषामा शिक्षा कार्यान्वयन निर्देशिका नीति पनि कस्तो हुने भन्ने बनेको छैन । भाषा ऐनको कुरा चाहिँ उठेको छ तर सो ऐन सङ्घ र प्रदेश र स्थानीय तहमा पनि छैन । 

तर ३, ४ वटा पालिकाले भाषा ऐन बनाएर लागू गरेको कुरा बाहिर आएको छ ।  चारवटा पालिकाले सरकारी कामकाजको भाषा भनेर लागू गरेका छन् । दुईवटा चाहिँ काभ्रे जिल्लाका स्थानीय पालिका छन् । मण्डनदेउपुर नगरपालिकाले सरकारी कामकाजको भाषा भनेर लागू गरेको छ । यस्तै ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले पनि लागू गरेको छ । यो संख्या बढ्न सक्छ । 

–स्थानीय तहमा मातृभाषालाई कामकाजको भाषा बनाउनमा के के समस्या देख्नुहुन्छ ? अथवा केले अवरोध गरेको छ ?

भाषा आयोगले सिफारिस गर्छ । संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेको छ । यस्तै धारा ७ को उपधारा (१) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । (२) नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एक भन्दा बढी अन्य राष्ट्रभाषालाई कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । 

संविधानमा व्यवस्था भएबमोजिम प्रदेशमा सरकारी कामकाजको भाषाका लागि सिफारिस गर्ने भनेको छ । त्यो सिफारिसका लागि ११ वटा आधारहरू तयार गरेको छ । सोही आधारमा सिफारिस गर्छ । त्यसै गरी गाउँपालिका, नगरपालिकामा पनि आधार तयार गरेको छ । त्यसैका आधारमा भाषा ऐन बनाएर गाउँपालिका, नगरपालिकाले लागू गर्न सकिने व्यवस्था गरेको छ । 

–आगामी कार्ययोजनाहरू भाषा आयोगले तयार पारेको छ त ? 

भाषा आयोगको पाँच वर्षे योजना हुन्छ । विशेष गरी सरकारी कामकाजको भाषा सिफारिस गर्ने कार्य प्रदेश तह र पालिका तहमा पुगेर उहाँहरूलाई प्रोत्साहन गर्ने हो । भाषा ऐन बनाउन सहयोग गर्ने हो । त्यसका लागि लगातार कार्यक्रमहरू भइरहेका छन् । 

अत्यन्त लोपोन्मुख भएका भाषालाई पुनस्र्थापना गर्ने गरी मातृभाषाका कक्षाहरू सञ्चालन भएका छन् । अरू नियमित कार्यहरू भइरहेका छन् । 

हामी साउनमा नियुक्त भएपछि आयोगको वार्षिक प्रतिवेदन तयार गर्नेतर्फ लाग्यौँ । त्यसपछि दसैँ, तिहार अनि चुनावलगायतका कार्यक्रममा कर्मचारीहरू लागे । त्यसले गर्दा त्यति स्मुथ्ली काम गर्न पाएका छैनौँ । सबै तहमा भर्खरै सरकार बनेको अवस्था छ । अब तीव्र गतिमा काम गर्छौं । 

–हालसम्म प्राप्त उपलब्धिबाट सन्तुष्ट हुनुहुन्छ ?

त्यो त छैन । मैले पहिलेदेखि नै भन्दै आएको छु, भाषा आयोगमा धेरै लगानी छ, त्यो लगानी अनुसारको परिणाम देखिएको छैन । यसको ठोस परिणाम आउनुपर्छ भन्नेमा म पनि छु । तर हामी पुगेपछि पनि ठोष काम गर्न सकेका छैनौँ । 

भाषा आयोग नीति निर्माण गर्ने संस्था मात्र भएकाले काम गर्नका लागि तीनै तहको सरकारले पूर्णता पाउनु पर्दोरहेछ । सङ्घ, प्रदेश र स्थानीय तहका सरकार भर्खर गठन भएकाले अब तीव्रताका साथ अगाडि बढ्छौँ । 

हाम्रो काम भनेको सरकारलाई पोलिसी बनाउन सहयोग गर्ने हो । त्यसमा हामी लागिरहेकै छौँ । सञ्चारमाध्यमले पनि मातृभाषालाई अलिकति जोड दिएमा राम्रो परिणाम ल्याउन सकिन्छ । 

अन्तर्राष्ट्रिय मातृभाषा दिवस पनि २०२२ देखि २०३२ सम्म मनाउँदैछ । तर नेपालमा यो कार्यक्रमका लागि कुनै निर्देशन समिति बनेको छैन । यसको प्रयास संस्कृति मन्त्रीको अध्यक्षतामा निर्देशन समिति बनोस् भन्ने छ । अहिलेसम्म यो १० वर्षमा के गर्ने भनेर एक्सन प्लान पनि नबनेको अवस्था छ । यसका लागि पनि हामी पहल गर्छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप