अर्थ मन्त्रालयले माग्यो करार र ज्यालाधरिमा कार्यरत कर्मचारीको विवरण
बिहीबार, ११ फागुन २०७९, २० : ३७
काठमाडौँ । अर्थ मन्त्रालयले सबै सरकारी निकायमा कार्यरत करार र ज्यालाधरिमा कार्यरत कर्मचारीको विवरण मागेको छ ।
मन्त्रालयले चिठ्ठी नै लेखेर सबै मन्त्रालय, आयोग, कार्यालय, बोर्ड, आयोजना र विभागमा करारमा कार्यरत रहेका कर्मचारीको विवरण मागेको हो ।
मन्त्रालयले एक चिठ्ठी लेख्दै फागुन ५ गते ७ दिनभित्र करारमा कार्यरत सबै कर्मचारीको विवरण उपलब्ध गराउन भनेको थियो । सोअनुसार आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायहरूलाई ३ दिनभित्र करारका कर्मचारी र ज्यालाधरिका कर्मचारीको विवरण पठाउन भनेको छ ।
सरकारले राजश्व संकलनमा लिएको लक्ष्य पुरा नभएपछि खर्च कटौतीको निर्णय गरेको थियो । खर्च कटौती गर्न भन्दै अर्थ मन्त्रालयले २० प्रतिशत खर्च कटौतीको निर्णय गरेको थियो । यस्तै, करारका कर्मचारीको विवरण समेत कटौतीका लागि मगाएको मन्त्रालय स्रोत बताउँछ ।