आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खानेपानीको भयावह अवस्था अन्त्य गर्ने योजना संसद‍्मा पेस गर्न कांग्रेस सांसदको माग

शुक्रबार, १२ फागुन २०७९, १५ : ०९
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्य गर्न सरकारको योजना संसदमा पेस गर्न माग गरेका छन् । 

शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौँ उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएको योजना संसदमा पेस गर्न माग गरेका हुन् । उनले खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ नारा भएपनि काठमाडौँ उपत्यकाको करिब ६५ प्रतिशत घरका धारामा पानी नआउने बताए ।

उनले सरकारले पानी नआउने धारा राखे बापत शुल्क भने नियमित लिइरहेको बताए । उनले काठमाडौँमा धेरै जमिनमुनिको पानी र ट्याङकरको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको बताए । पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको बताए ।  

त्यस्तै कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गरे । उनले मुलुक चरम आर्थिक संकटबाट गुज्रिएसँगै आर्थिक बेथितिबाट आक्रान्त भएको बताए । उनले आर्थिक संकट मोचन गर्नका लागि आर्थिक सुशासन कायम गर्नु ठूलाठूला भ्रष्टाचार काण्डको छानबिन हुन आवश्यक रहेको बताए ।  

त्यस्तै,नेपाली कांग्रेसकी सांसद नागिना झाले स्थानीय सरकारलाई इन्धनबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन सुझाव दिएकी छन् । उनले ७५३ वटा स्थानीय तहले वार्षिक इन्धन खर्च मात्रै करिब ६० देखि ७० लाख औसतमा खर्च भइरहेको बताइन् । 

उनले इन्धन खर्चको विकल्पमा विद्युतीय सवारीमा प्रयोगमा ल्याउनसके वार्षिक ४ खर्ब रुपैयाँ बचत हुने बताइन् । उनले यसरी बचत भएको रकम विकास खर्चमा प्रयोग गर्न सकिने बताइन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप