आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेशसभा बैठकमा राप्रपाले भन्यो–अब प्रतिपक्षमा बस्छौँ

शनिबार, १३ फागुन २०७९, १९ : ०१
शनिबार, १३ फागुन २०७९

मकवानपुर । बागमती प्रदेश सरकारबाट राप्रपा अलग हुने भएको छ । प्रदेशसभाको शनिवार बसेको बैठकको विशेष समयमा बोल्दै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा रहने बताएका हुन् ।

उनले औपचारिक रूपमा प्रदेशका मुख्यमन्त्रीलाई सामूहिक रूपमा राजीनामा बुझाउने बताए । उनका अनुसार प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्नेछ ।

उनले सत्तापक्षमा रहँदासमेत अपहेलित हुन परेको भन्दै दुःख व्यक्त गरे । राप्रपाले संविधान विपरीतका कुनै पनि कदम नचालेको उनले बताए । संवैधानिक राजतन्त्र, वैदिक सनातन हिन्दु राष्ट्र निर्माण, संघीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीय तह निर्माण राप्रपाको एजेन्डा भएको उनले बताए ।

राप्रपाले सरकारमा गएर पनि यिनै मुद्दाहरूमा काम गर्ने योजना बनाएको र वर्तमान अवस्थाको राजनीतिक घटना क्रमका कारण आफूहरू सरकार छाड्न बाध्य भएको उनले बताए । जनताको मागलाई सम्बोधन गर्दै सङ्घीयता खारजीको वकालत गर्दै आएकोमा सरकारको नेतृत्व कर्ताले संविधानको बर्खिलाप भएको भन्दै स्पष्टीकरण सोध्नु गलत भएको उनले बताए ।

आगामी दिनमा पनि सरकारमा आउने मन्त्री र पदाधिकारीलाई सहयोग गर्दै संघीयाता खारेजीको माग निरन्तर गर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप