सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
जीवन शैली

९ महिनादेखि डोटीको घनघोर जंगलमा एक्लै बस्दै आएका दिनेश

आइतबार, १४ फागुन २०७९, ०६ : ३३
आइतबार, १४ फागुन २०७९

सुर्खेत । के तपाई एक्लै घना जंगलमा महिनौं बस्न सक्नुहुन्छ ? धेरैले दिने जवाफ हुन्छ– त्यसरी त कहाँ बस्न सक्नु ?

तर कास्कीका एक व्यक्ति विगत ९ महिनादेखि घना जंगलको बिचमा सानो ओडारजस्तो झुपडी बनाएर बसिरहेका छन् । शान्तिका लागि जंगलको बसेरो नै हजार गुणा मूल्यवान हुने बताउने ती युवा हुन् कास्कीको साविक लेखनाथ, लिसेपानीका ४५ वर्षीय दिनेश अधिकारी ।

उनी डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ को मेल्टा सेती नदीको मुन्तिर खोँचमा बस्छन् । घनघोर जंगल, ५० मिटर तल सेती नदी बगिरहेको छ । बायाँतर्फ खहरे खोला छ । खहरे खोला सेती नदीमा मिसिन्छ । खोला र नदीको संगमस्थलको बिचमा उनको बासस्थान छ ।

उनी असार महिना यता यही जंगलमा बस्दै आएका छन् । उनी बसेको ठाउँबाट नजिक पर्ने गाउँसम्मको यात्रा गर्न जंगलको बाटो पैदल करिब २ घण्टाको यात्रा गर्नुपर्छ । कर्णाली वारी आउन पनि सोही अवधि लाग्छ ।

नजिक पर्ने कर्णाली–सेती दोभानमा पुल छैन । डुंगा (नाउ) नपाउँदा अलि टाढा पर्ने झोलुङ्गे पुल तरेर वारी आएपछि चोकुने गाउँपालिका–३ को तालेगाउँ पुगिन्छ । केही दिन अघि सुर्खेत, अछाम र डोटी जिल्लाका जनप्रतिनिधिहरु सम्मिलित बेनी त्रिवेणी दोभानमा गरिएको कार्यक्रम हेर्न डुंगा तरेर वारी आएका थिए दिनेश । तालेगाउँबासीले उनी जंगलभित्र बसिरहेको बताएपछि उनीतर्फ सबैको चासो बढ्यो ।

आफू जंगलभित्र बस्नुको रहस्य खोल्दै दिनेशले भने, ‘यो भिडभाड भन्दा एकान्त अनि प्रकृतिसँग बढी रमाउने भएकाले यही मलाई आनन्द लाग्यो ।’

उनको बासस्थान पुग्न भने हामीलाई सम्भव थिएन । उनले बताएअनुसार उनी ढुङ्गाको आडमा माथिबाट खरले छानो छाएर बस्ने गरेका छन् । उनी बस्ने ठाउँ समजित सामुदायिक वन अन्तर्गत पर्दछ । त्यो ठाउँलाई आसपासका बासिन्दाले ‘राक्षस बस्ने ठाउँ’को नामले चिन्ने रहेछन् । जसका कारण मान्छेहरु त्यो ठाउँमा जान निकै डराउँछन् ।

जंगलको बिचमा गुम्म परेको ठाउँ छ, टाढाबाट हेर्दा दिउँसै अँध्यारो जस्तो देखिन्छ, त्यहाँ कोही छ भने जंगली जनावर र चराचुरुङ्गीमात्रै हुन् । दिनेश भन्छन्, ‘म यहाँ असार महिनादेखि बस्न थालेको हो तर एक वर्षभन्दा अघि नै यहाँ आएर हेरिसकेको थिएँ । त्यो बेला मलाई निकै मन परेको ठाउँ थियो, अनि यहीँ आएर बस्ने निधो गरेँ ।’

‘पहिलेदेखि नै घर छाड्ने बानी भयो, कहिले जंगल जाने, कहिले खोला किनारतिर जान मन लाग्थ्यो र जान्थेँ,’ उनले भने, ‘त्यो बेला मेरो विषयलाई लिएर आमा निकै रुनुभएको याद छ, तर खै किन हो ! मेरो मनले मानेन अनि घर नै छाडेर अर्कै दुनियाँमा रमाउने उद्देश्यसहित निस्किएँ ।’

उनी त्यहाँ बस्न जानु अघि तालगाउँको समजी सामुदायिक विद्यालयको पक्की भवनमा प्लाष्टरको काम गर्थे रे । ‘कहिले कतै स्कुलका काम नहुने, त्यसैको मौका छोपी खोला किनारतर्फ रमाउन मन लाग्यो, घुम्दै आउँदा निकै रमणीय लाग्यो,’ दिनेशले रातोपाटीसँग भने, ‘त्यसपछि मनले यहाँ तिम्रो बासस्थान हुनसक्छ भन्ने निधो ग¥यो ।’

भनिन्छ– मान्छेहरु शान्ति खोज्न जंगल पस्छन् । आखिर मान्छेले जीवन जिउने कला पनि जंगलबाटै सिकेको हो । शान्तिको खोजीमा रहेका दिनेशका लागि पनि गन्तव्यस्थल खोला किनार र जंगल नै भयो ।

 २२ वर्ष अघि छाडेका थिए घर

दिनेशले कुराकानीका क्रममा आफूले २२ वर्षअघि घर छाडेको सुनाए । ३ मंसिर ०५७ मा घर छाडेको बताउने दिनेशले कक्षा ९ सम्मको अध्ययन गरेको दाबी गरे । तर स्कुल पढ्दा पनि उनी धेरैजसो समय खोला किनारमा जाने र प्रकृतिसँग रमाउने गर्थे रे ।

‘पहिलेदेखि नै घर छाड्ने बानी भयो, कहिले जंगल जाने, कहिले खोला किनारतिर जान मन लाग्थ्यो र जान्थेँ,’ उनले भने, ‘त्यो बेला मेरो विषयलाई लिएर आमा निकै रुनुभएको याद छ, तर खै किन हो ! मेरो मनले मानेन अनि घर नै छाडेर अर्कै दुनियाँमा रमाउने उद्देश्यसहित निस्किएँ ।’

उनका चार भाइबहिनी थिए । जेठो सन्तान भएकाले पनि आमाले उनीबारे चिन्ता गर्नु स्वाभाविक नै थियो । आमा रुँदा नरमाइलो लागे पनि आफ्नो मन मान्छेको भिड र समाजभन्दा बढी प्रकृतिसँग रमाउनेतर्फ केन्द्रित भएको उनले सुनाए । घर छाडेदेखि अहिलेसम्म उनी कहिल्यै घर फर्किएका छैनन् र आमाबाबुबारे उनलाई अत्तोपत्तो पनि छैन ।

सुरुमा उनी काठमाडौं गए । त्यहाँ धेरै समय बिताए । उनले त्यहीँ घर बनाउने सिप सिके । उनी घर बनाउने काममा निकै पोख्त छन् अहिले । तर एक्लै बस्न रुचाउने उनका लागि मान्छेभन्दा बढी प्रकृतिसँग प्रेम बस्यो । अहिलेसम्म उनले न बिहे गरे, न त घरपरिवार, समाजबारे कुनै मतलव नै राखे ।

काठमाडौंमा बस्दा उनका ठेकेदारले ‘तिम्रो घरमा खबर गर्छु’ भनेर उनको घर कास्की गएछन् । उनले भने, ‘तर मेरो मनले मानिरहेको थिएन, उहाँ घरमा पुगेर फोन गरेर तिम्रो भाइलाई भेटेँ भन्नुभयो र त्यसकै राति मोबाइल, कमाइ गरेको सम्पूर्ण रकम छाडेर कालिकोटतर्फ आएँ, यो भूकम्प गइसकेपछिको कुरा हो ।’

उनी त्यसभन्दा पहिला पनि कामको सिलसिलामा सुर्खेतको छिन्छुमा आउने, नजिकका जंगलमा रमाउने, अनि काठमाडौं आउजाउ गर्ने रहेछन् । ०६९ सालमा भक्तपुरको झुण्डिपाखा भन्ने ठाउँमा उनको डेरा थियो रे ।  त्यसपछि ०७० मा पनि वीरेन्द्रनगर आएको र बसपार्कमा बसेर घर बनाउने काम गरेको उनले बताए ।

उनी ०७२ साल यता पश्चिमतिरै बस्न थाले । वीरेन्द्रनगरमा २ वर्ष बसेर काम गरेका उनी त्यसपछि पश्चिम सुर्खेतको बाबियाचौरमा कोठा भाडामा लिएर बस्न थाले । तर उनी कोठामा कहिल्यै नभेटिने गरेको त्यहाँका स्थानीयको भनाइ छ । उनले अहिले पनि बाबियाचौरमा रहेको कोठाको भाडा तिर्ने गरेका छन् । उनी जब महिना पुग्न लाग्छ, एक दिनको पैदल यात्रा गरेर बाबियाचौर पुग्छन् र भाडा तिरेर फर्किन्छन् ।

किन बस्न थाले एक्लै घना जंगलमा ?

झट्ट हेर्दा दिनेश खासै आध्यात्मिक खालको व्यक्ति देखिँदैनन् । न उनमा कुनै प्रकारको स्वास्थ्य समस्या देखिन्छ । पातलो र फूर्तिलो शरीर अनि कपालमा रुमाल बाँधेका उनी सबैसँग खुसी साथ कुराकानी गर्छन् ।

उनी किन घना जंगलमा एक्लो जीवन बिताइरहेका छन् ? यो कौतुहलताको विषय हो । उनको जवाफ छ, ‘मान्छेहरु दिमाग नभएर जंगलमा पस्यो भनेर पनि सोच्छन् होला तर म त्यस्तो होइन, म प्रकृतिसँग रमाउन चाहन्छु । मेरो आत्माको फरकपनाले अर्कै मोडमा डो¥याइरह्यो ।’

बोगटान फुड्सिल गाउँपालिका–३ का वडाध्यक्ष कृष्ण बहादुर बमका अनुसार उनी बस्ने जंगलमा दिउँसोको समयमा पनि मान्छे एक्लै जान सक्दैन । ‘यति घना जंगलमा ती युवा कसरी बसिरहेका छन्, हामीले कल्पना पनि गर्न सक्दैनौं,’ बमले भने, ‘सज्जन, सिपालु ती युवा डोटीतर्फको बेनी त्रिवेणी किनारमा निर्माणाधीन भवनमा काम गरिरहेका छन् ।’

उनी आफू शुद्धतापूर्ण जीवन बाँच्न सकेकोमा खुसी छन् । भिडमा होइन, भएको कुरालाई सदुपयोग गर्न सकुँ र त्यसैबाट ज्ञान लिन सकुँ भनेर जंगलमा बस्न थालेको उनी बताउँछन् ।

पर्यटकीय गतिविधि बढाउनका लागि प्रदेश र पालिकाले आवासीय भवन बनाउने काम अगाडि बढाइरहेका छन् । दिनेश त्यहाँ काम गर्छन् । त्यहाँ एउटा शिवको मन्दिर छ । तर उनी त्यहाँ नबसेर घुमाउरो करिब एक घण्टा यात्रा तय गरी अग्लो पहाडको चुचुरोमा पुग्छन् र पुनः ओरालो लागेर सेतीको खोँचमा पुग्छन्, जहाँ घना जंगलभित्र उनको बासस्थान छ । दुरीको हिसाबमा उनी काम गर्ने स्थानदेखि बस्ने स्थान पुग्न पैदल करिब १० मिनेट पनि लाग्दैन । तर सेती नदी र पहाडले सिधा बाटो छैन । त्यहाँ ४० को दशकमा मान्छेहरुले खेतका गह्रा बनाएका थिए रे । तर ५० को दशकमा त्यो जग्गा उपभोग गर्न छाडिदिए । त्यसपछि त्यहाँ घना जंगल बन्यो । जबकि अहिले दिउँसो पनि एक्लै त्यहाँ जान कोही सक्दैनन् । टाढाबाट हेर्दा पनि त्यहाँ न्याउली, कोइली जस्ता चराचुरुङ्गीको आवाज मात्र गुञ्जिरहेको सुनिन्छ भने सुनसान अंँध्यारो खोँच जस्तो देखिन्छ ।

दिनेशले अहिले अन्न उत्पादन गर्ने स–साना गह्रा बनाई आलु लगाएको तालेगाउँका स्थानीयले बताए । खानका लागि भने कर्णालीवारी तालेगाउँमा आउँछन् उनी ।

कुराकानीका क्रममा उनले आफूलाई त्यहीँ शान्ति मिलेकाले घर नफर्किने बताए । ‘म मानव हुँ, मलाई धेरै सम्पत्ति चाहिँदैन, मलाई आवश्यकता अनुसार के चाहिन्छ, त्यसैमा रमाउँछु, यो संसार खोजेर पाउनु के नै छ र ?’ उनले भने । मनले जे कुरा चाहेर शान्ति मिल्छ, त्यसैमा रमाउने, आफ्नो तरिकाले बाँच्नु नै जीवन रहेको उनको भनाइ छ ।

dinesh adhikari

उनी आफू शुद्धतापूर्ण जीवन बाँच्न सकेकोमा खुसी छन् । भिडमा होइन, भएको कुरालाई सदुपयोग गर्न सकुँ र त्यसैबाट ज्ञान लिन सकुँ भनेर जंगलमा बस्न थालेको उनी बताउँछन् ।

जंगलमा बस्न डर लाग्दैन त भन्ने प्रश्नमा उनको भनाइ छ, ‘अहिलेसम्म बाघ, भालु भेट्टाएको छैन, डर भन्ने मनमा हुँदैन, बरु कहिलेकतै बाहिरको मान्छे आएर केही भन्दिन्छन् कि भन्ने लाग्छ, नभए जंगली जनावर, चराचुरुङ्गी त मेरा साथी हुन्.नि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप