आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू हुने, अप्ठ्यारा प्रश्न नसोधिने

सोमबार, १५ फागुन २०७९, १० : ५८
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्न लागेको हो । आगामी शैक्षिक सत्रमा ट्रायलको रूपमा केही पालिकाहरूमा लागू हुनेछ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले स्थानीय पालिकाहरूसँग समन्वय गरेर तयारी थालेको छ । 

बोर्डका अध्यक्ष महाश्रम शर्माले आधारभूत तहको सन्दर्भमा विभिन्न पालिकाहरूमा अहिले ट्रेनरहरू तयार पारिएको बताए । उनीहरूले आफ्नो पालिकाहरूमा स्तरीकृत परीक्षा सञ्चालनका लागि तयारी गर्नेछन् । 

यसलाई अभ्यासका रूपमा लिन खोजिएको उनको भनाइ छ । यो परीक्षा प्रणालीमा स्थानीय पालिकाहरूमा प्रश्न पत्रको प्रश्न बैङ्क स्थापना गरिनेछ । सोही आधारमा त्यही प्रश्न बैङ्कबाट विद्यार्थीलाई प्रश्न सोधिनेछ । विद्यार्थीलाई कुनै प्रश्न गाह्रो लाग्यो भने त्यसको ठाउँमा अर्को प्रश्न राखिने उनको भनाई छ । 

‘स्तरीकृत परीक्षा र अन्य परीक्षामा कुनै फरक छैन । यो भनेको परीक्षालाई स्तरीय बनाउने भनेको हो,’ अध्यक्ष शर्माले भने । देशभर पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाई एउटै भए पनि परीक्षा भने फरक खालको भइरहेको उनको भनाई छ । ‘एउटै शिक्षण सिकाइबाट हुने परीक्षा फरक फरक किन हुने ? एउटै पढाइमा पनि फरक फरक क्षेत्रबाट फरक फरक खालको नतिजा आउने गरेको यस्तो अवस्था नहोस् भनेर स्तरीकृत परीक्षा गर्न खोजिएको हो ।’ अध्यक्ष शर्माले भने ।   

प्रश्न पत्र विद्यार्थीले पढेको र उनीहरूलाई सजिलो बनाउने खालको हुने उनको भनाइ छ । ‘प्रश्न पत्रहरू पहिले नै टेस्ट गरिन्छन् । त्यो विद्यार्थीलाई सजिलो लागेन भने अर्को प्रश्न पत्र दिइन्छ । यदि त्यसमा कुनै अप्ठ्यारो प्रश्न भयो भने अर्को प्रश्न पत्र हुन्छ त्यहीबाट परीक्षा लिइने हो ।’ अध्यक्ष शर्माले भने । 

विद्यार्थीले नसिकेको, नजानेको, कहिल्यै नसुनेको प्रश्न पत्र नसोधेर साधारण र सामान्य खालको प्रश्न पत्र हुनेछन् । यसको उद्देश्य धेरै भन्दा धेरै विद्यार्थीलाई परीक्षामा सफल गराउने र परीक्षा भन्ने वित्तिकै विद्यार्थीमा त्रसित हुनुपर्ने वातावरण नआओस् भन्ने हो । 

यसले गर्दा विद्यार्थीलाई घोक्न लगाउने र परीक्षा केन्द्रित भएर पढाई गरिने पद्धतिको अन्त्य हुने विश्वास बोर्डले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप