आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

छोरीको उपचार गर्न नसकेर अस्पतालमा छटपटाउँदै माओवादी पूर्वलडाकु (भिडियो)

सोमबार, १५ फागुन २०७९

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको बासु स्मृति क्यान्सर अस्पतालको दोस्रो तला । बेड नम्बर १६२४ मा धादिङकी कविता थापा छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले छटपटाइरहेकी छिन् । 

कक्षा १० मा पढिरहेकी १६ वर्षकी उनकी छोरी जेशिका यो वर्ष एसईई परीक्षाको तयारीमा थिइन् । तर अघिल्लो महिनादेखि एक्कासि उनी बिरामी परिन् । स्वास्थ्य परीक्षण गर्दा उनलाई लुपस बाथ भन्ने दीर्घरोग लागेको थाहा भयो । डाक्टरले अस्पतालमा बिरामी भर्ना गरेर उपचार गर्नुपर्छ भनेपछि भर्ना गरेर उपचार चलिरहेको छ । २६ दिनमा झन्डै साढे ६ लाख रुपैयाँ उपचारका लागि खर्च भएको कविताले बताइन् । 

खास रोजगारी केही नभएको र आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि आर्थिक समस्या परेको उनले बताइन् । हालसम्म लागेको खर्च पनि विभिन्न व्यक्ति तथा समूहले गरेको सहयोगका आधारमा भएको उनको भनाइ छ । 

डाक्टरले बाँचुन्जेल औषधि उपचार गरिराख्नुपर्ने भनेपछि उनी छाँगाबाट खसेजस्तो भएकी छिन् । छोरी मात्र हैन उनी आफैँ पनि खुट्टा सुन्निने लगायतका स्वास्थ्य समस्याबाट गुज्रिरहेकी छिन् । 

माओवादीले गरेको जनयुद्धमा झन्डै ६ वर्ष लडाकुका रूपमा काम गरेकी उनी २०५७ सालमा गोरखाको जेल ब्रेक गरेर भाग्ने महिला लडाकुहरूको टोलीमा उनी पनि सामेल थिइन् । माओवादी सेनामा भाइस कमान्डरसमेत भएर काम गरेको उनी माओवादी शान्ति प्रक्रियामा आएपछि दैनिक रोजीरोटीको गुजाराका लागि कहिले भारत त कहिले काठमाडौँमा मजदुरी गर्न थालेकी थिइन् ।  

छोरी जेशिकालाई दीर्घरोग लागेपछि उनको जीवनरक्षाका लागि आफूले योगदान गरेको पार्टीले केही सहयोग गर्छ कि भन्ने आशामा रहेको कविताले सुनाइन् ।  

उनले पार्टीका नेताहरुलाई पटक पटक फोन गर्दा पनि फोन नउठाएकोमा गुनासो गरिन् । उनले भनिन्– ‘यति धेरै रुँदा कराउँदा पनि पार्टीको मान्छेले सुन्नुभएन । मेरो फोन पनि उठाउनुभएन । पार्टीका वरिष्ठ नेताहरू सबैलाई मैले फोन गरिसकेँ । चितवनका अध्यक्षहरू सबैलाई फोन गरिसकेँ । हामी हेर्छौं भनेर मुखले मात्र भन्ने भयो । कस्तो अवस्था छ भनेर अस्ति कल्पना धमलाले एक जना दाइलाई पठाउनुभएको थियो । उहाँले म आउँछु भन्नुभएको थियो तर आउनुभएको छैन ।’

छोरीको उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज बसेकोे २६ दिन भयो । आर्थिक अवस्था कमजोर भएकी उनी डाक्टरले दीर्घकालीन रूपमा बाँचुन्जेल औषधि खानुपर्ने बताएपछि के गर्ने कसो भन्ने चिन्तामा रहेकी छिन् । 

उनका श्रीमान् भारतमा काम गर्न गएका थिए । छोरी बिरामी भएपछि काठमाडौँ फर्किएका छन् । कविता छोरी बिरामी हुनुभन्दा पहिला काठमाडौँको एक गार्मेन्टमा कपडा सिलाउने काम गर्थिन् । त्यही कामले छोराछोरीलाई सरकारी स्कुल पढाउन र काठमाडौँमा गुजारा गर्न सहयोग पुगेको थियो । छोरी बिरामी भएपछि उनको दैनिक ज्यालादारी काम पनि बन्द भएको छ । 

अहिलेसम्म गाउँबाट महिला समूह तथा विभिन्न व्यक्तिहरूले ५, १० हजारको दरले दिएको खर्चबाट उपचार गरिरहेको उनले बताइन् । अब त्यसरी सहयोग आउने अवस्था पनि नभएकाले छोरीलाई कसरी बचाउने भन्ने चिन्ताले उनलाई पिरोलेको छ । ऋण लिऊँ भने धितो राख्ने केही कुरा नभएको उनले सुनाइन् । 

बेला बेला रगत दिइराख्नुपर्ने, एक पटक औषधि किन्दा ७ देखि १२ हजारसम्म खर्च लाग्ने उनको भनाइ छ । 

कविताले माओवादी जनयुद्धका बेला झन्डै छ वर्ष लडाकु बनेर कामसमेत गरेको नाताले छोरीको उपचारको सहयोग मिल्छ कि भनेर केही दिनअघि उनी प्रधानमन्त्रीको कार्यालय बालुवाटार पनि पुगेकी थिइन् । 

उनले भनिन्– ‘मलाई सहयोग गरिदिनुपर्‍यो भनेको छु । महिनाको कम्तीमा पनि चालीस–पचास हजार रुपैयाँ खर्च लाग्छ भनेर डाक्टरले भन्नुभएको छ । मैले त्यति धेरै पैसा कहाँबाट जुटाएर उपचार गर्नु ? त्यो सम्भव नै छैन । पार्टीलाई उपचारमा सहयोग गरिदिनुपर्‍यो भनेर आग्रह गरिरहेको छु ।’

बालुवाटारमा उनले छोरीको उपचारको फाइल छोडेर आएकी छिन् । पार्टीमा आफूले गरेको त्याग र बलिदानलाई हेरेर पार्टीका तर्फबाट सहयोग होस् भन्ने चाहना रहेको उनले बताइन् । 

कविताकी छोरी खासगरी महिलाहरूलाई बढी लाग्ने गरेको दीर्घरोग लुपस बाथको सिकार भएकी छिन् । 

चिकित्सकका अनुसार लुपस बाथ अटोइम्युमन रोग अर्थात् आफ्नो शरीरमा हुने प्रतिरोधात्मक क्षमताको गडबडीबाट हुने दीर्घ रोग हो । शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थालेपछि यो रोगको सिर्जना हुने गर्छ । 

बढीजसो महिलामा युवा अवस्थामा सुरु भएर दीर्घकालसम्म असर गर्ने रोगको रूपमा लुपस बाथ रोग रहने गरेको छ । चिकित्सकका अनुसार महिलामा हुने स्ट्रोजन हर्मोनका कारण महिलामा यो रोग लाग्ने गर्दछ ।  

यो रोग लागेपछि हातका जोर्नी दुख्ने, छालामा पुतली आकारको दाग आउने, केस झर्ने, मुखमा घाउ आउने, चिलाउने, खटिरा आउने, घाममा बाहिर निस्कन गाह्रो हुने, शरीरमा रगतको कमी हुने, मिर्गौलामा असर पर्ने, मुटु रोग लाग्ने, मुटुको बाहिरी भाग र फोक्सोमा पानी जम्ने, टाउको दुख्ने, छारे रोग लाग्ने, नसासम्बन्धी रोग लाग्ने जस्ता समस्या उत्पन्न हुने चिकित्सकको भनाइ छ । 

कविताकी छोरी जेशिकाको फियो फुलेको, मुटुमा पानी जमेको, कलेजो सुन्निएको छ भनेर डाक्टरले बताएको उनले सुनाइन । 

उपचार खर्च नभएर समस्यामा परेकी उनले आर्थिक सहयोगको अपेक्षा गर्र्दै छोरीको जीवन रक्षाका लागि अपिलसमेत गरेकी छिन् । 

मुक्तिनाथ विकास बैङ्कमा कविता थापा ज्ञामी मगरको नाममा रहेको ०४०२२३०१०३५०२१०००००१ खाता नम्बरमा सहयोगका लागि आग्रह गरेकी छिन् । उनलाई सम्पर्क गर्ने नम्बर ९८१३३७१८८४ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया