आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विशाल नयाँ आकाशगङ्गा जसले वैज्ञानिकहरूको दिमाग हल्लायो

सोमबार, १५ फागुन २०७९, १६ : ४१
सोमबार, १५ फागुन २०७९

वैज्ञानिकहरूले विशाल आकाशगङ्गाहरू पत्ता लगाएका छन् जुन बिग ब्याङको ६० करोड वर्षपछि मात्र बनेको हुन सक्छ । यद्यपि, जेम्स वेबले योभन्दा पनि पुरानो आकाशगङ्गा पत्ता लगाइसकेको छ जसको निर्माण बिग ब्याङको ३० करोड वर्षपछि भएको हुनसक्छ । तर नयाँ पत्ता लगाइएको आकाशगङ्गा आफ्नो आकार र परिपक्वताका कारण विशेष छ ।

२२ फेब्रुअरी २०२३ मा प्रकाशित एक अध्ययनमा जेम्स वेबको यो खोजबाट वैज्ञानिकहरू छक्क परेको बताइएको छ । अस्ट्रेलियाको स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका प्रमुख अनुसन्धानकर्ता इभो लाबे र उनको टोलीले यसलाई पत्ता लगाएका हुन् । यद्यपि यो टोलीले ब्रह्माण्डको सृष्टिको सुरुवातमा साना ग्यालेक्सीहरू बनेको हुनसक्ने अपेक्षा गरे पनि यति ठुलो आकाशगङ्गा भेट्टाउने आशा गरेका थिएनन् ।

लाबे भन्छन्, ‘त्यस युगका धेरैजसो आकाशगङ्गाहरू अझै साना छन् र तिनीहरूको आकार क्रमशः बढ्दै गएको छ । तर त्यहाँ केही विशाल समूह छन् जसले ब्रह्माण्डलाई तेज गति दियो । यस्तो किन भयो र कसरी भयो होला भन्नेबारे हालसम्म कुनै जानकारी छैन ।’ 

नेचर म्यागेजिनमा प्रकाशित यस अध्ययनमा भनिएको छ – यस खोजमा कुल ६ तारा समूह फेला परेको छ, जसको तौल हाम्रो सूर्यको भन्दा अर्बौँ गुणा बढी छ । तीमध्ये एउटा यति ठुलो छ कि यसमा रहेको कुल ताराहरूको वजन हाम्रो सूर्यको भन्दा १०० अर्ब गुणा बढी छ । यद्यपि, वैज्ञानिकहरूले विश्वास गर्छन् कि यी आकाशगङ्गाहरू धेरै घना छन् । यी ताराहरूको सङ्ख्या हाम्रो मिल्की वे ग्यालेक्सी जस्तै छ, तर तिनीहरू धेरै पातलो पट्टीमा सीमित छन् ।

आश्चर्यजनक परिणामहरू

लाबेले भने, ‘नतिजा देख्दा मैले र मेरा साथीहरूले त यसमा विश्वास नै गर्न सकिरहेका थिएनौँ किनभने यस्तो सुरुवाती अवस्थामा पनि मिल्की वे जस्तो परिपक्व आकाशगङ्गा हुनु अपत्यारिलो थियो । त्यसैले यसको पुनः पुष्टि गरियो । यी चिज यति ठुला र चम्किला थिए कि केही वैज्ञानिकलाई त नतिजा नै गलत लाग्न थाल्यो ।’

लाबेले थपे, ‘हाम्रो त दिमाग नै हल्लियो, यो हास्यास्पद थियो ।’

यस अनुसन्धानमा संलग्न पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका जोएल लेयाले यी आकाशगङ्गाहरू ‘ब्रह्माण्डका पाथफाइन्डर’ भएको बताउँछिन् । उनले भनिन्, ‘ ब्रह्माण्डको इतिहासमा यति चाँडै विशाल आकाशगङ्गाहरू बन्न थालेको खुलासाले विज्ञानमा विद्यमान मान्यताहरूलाई परिवर्तन गर्छ । हामीले पत्ता लगाएका कुराले विज्ञानका लागि ठुलो समस्या खडा गर्छ । प्रारम्भिक आकाशगङ्गाहरूको गठन प्रक्रियामा प्रश्न उठ्छन् ।’

जेम्स वेबको अर्को एउटा कमाल

१० अर्ब डलरको जेम्स वेब टेलिस्कोपबाट जुन सुरुवाती डाटा पाइएको थियो, त्यो आकाशगङ्गाबारे नै थियो । एक वर्ष अघि मात्रै नासा र युरोपेली स्पेस एजेन्सीले हालसम्मको सबैभन्दा ठुलो टेलिस्कोपलाई अन्तरिक्षमा पठाएको थियो । यसलाई हबल टेलिस्कोपको उत्तराधिकारी मानिन्छ जसले ३३ वर्ष पूरा गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप