मोरङ र सुर्खेतमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौँ । सोमबार मोरङ र सुर्खेतमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको बुढीगंगा गाउँपालिका– ४ मा भएको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । बा.६३ प ७२७ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा उनको मृत्यु भएको हो । मृतकको पहिचान खुलिनसकेको प्रहरीको भनाई छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सोमबारै सुर्खेतमा मिनिट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० घुस्रामा भे.१ ख १५२८ नम्बरको मिनिट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११ बस्ने ४२ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।