आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न

बुधबार, १७ फागुन २०७९, १२ : १७
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको छ । आयोजनाका अनुसार बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँध निर्माणका लागि  ४२० मि. लम्बाइ र ५ मि. व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको नेपाल वाटर एण्ड इनर्जी डेभलमेन्ट कम्पनीले जनाएको छ । 

सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारदेखि सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताए । उनले भने, ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ, यस अवसरमा निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्ववाद दिन चाहन्छौं, तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ ।’ 

आयोजनाको भूमिगत विद्युतगृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको समग्र  भौतिक प्रगति  १४ प्रतिशत रहेको छ । आयोजनाको मुख्य निर्माण गत २०७८ पौसदेखि सुरु गरिएको थियो । आयोजना निर्माणमा हाल करिब ७ सय कामदार परिचालित छन् । त्यसमध्ये करिब ३ सय रसुवाका स्थानीय बासिन्दा छन् । 

आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ । 

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप