मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

झापा बुढासुब्बा गोल्डकपको फाइनलमा

बुधबार, १७ फागुन २०७९, १८ : ४१
बुधबार, १७ फागुन २०७९

धरान । भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज धरान रंगशालमा भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फाइनलमा प्रवेश गरेको हो । केएफटिसीकालागी विदेशी खेलाडी यमि, शुसिल राई र निशान लिम्बूले गोल गरे । खेलको २२ औं मिनेटमा केएफटिसीले खेलमा अग्रता लिएको थियो । यमिले विपक्षी दुई डिफेन्स र गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरे । त्यसपछि युकेएफसीका हेमराज भूजेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । भुजेलले प्रतीक लामाको पासमा हेड गोल गरेका थिए ।

पहिलो हाफ  १–१ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफमा केएफटिसीले थप दुई गोल ग¥यो । दोस्रो हाफको सातौँ मिनेटमा यमिको क्रसमा गिल्सन लिम्बुले मिलाइदिएको पासलाई केएफटिसीका सुशिल राईले गोल गर्दै खेलमा पुनः अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा शुशिल राईलाई विपक्षी डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा निशान लिम्बूले गोल गरे । उनी प्रतियोगिताको उच्च गोलकर्ता समेत भएका छन् । उनले दुई खेलमा तीन गोल गरेका छन् ।

खेलको म्यान अफ द म्याच केएफटिसीका यमि घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । सोचेजस्तो खेल खेल्न नसक्दा आफ्नो टिम पराजित भएको युकेएफसीका प्रशिक्षक उर्गेन लामाले बताए । उनले गोल स्कोरमा समस्या भएको भन्दै पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताए ।

आफूले बनाएको रणनीति अनुसार खेलाडीले खेल्दा जित निस्किएको केएफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले बताए । उनले पहिलो आफ्नो टिमले अग्रता बनाउँदा पनि डिफेन्स घाइते भएर मैदान छाड्नुपरेपछि गोल खाएको बताए । 

प्रतियोगिताको फाइनल खेल यही फागुन २० गते धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग वियरले मुख्य प्रायोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप