आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस बैठकमा रविको मुद्दाबारे चर्चा

लामिछाने प्रचण्ड र देउवासँग निरन्तर संवादमा
बिहीबार, १८ फागुन २०७९, १४ : ४३
बिहीबार, १८ फागुन २०७९

काठमाडौं । अमेरिकाबाट नेपाल फर्किँदा नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नजाँदा सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई यतिबेला राहदानी मुद्दा टाउको दुखाइको विषय बनेको छ । 

उनले सांसद पद गुमाएका कारण चितवन–२ मा रिक्त सिटका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ । सो उपनिर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका उनी राहदानी मुद्दाबाट छुटकारा खोजिरहेका छन् । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग लामिछानेले छलफल गरिरहेको स्रोत बताउँछ ।

शनिबार राष्ट्रपतिका उम्मेदवारसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लामिछानेलाई भेटेर भोट मागेका थिए । लामिछानेले पौडेललाई सकारात्मक जवाफ दिएका थिए । सोही दिन कांग्रेस सभापति देउवाले लामिछानेलाई फोन गरेका थिए । सरकारबाट समर्थन फिर्ता नलिएको उल्लेख गर्दै लामिछानेले मिलेर जान आफू तयार भएको देउवालाई बताएका थिए ।

लामिछानेले राहदानी मुद्दा र उपनिर्वाचनबारे पनि देउवासँग कुराकानी गरेको कांग्रेस नेताहरू बताउँछन् । यस विषयमा लामिछानेका अलावा रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले पनि कांग्रेस नेताहरूसँग संवाद गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचनअघि लामिछानेले देउवालाई भेटेर कुराकानी गर्न खोजिरहेको स्रोत बताउँछ । यता प्रधानमन्त्री प्रचण्ड पनि रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा सकारात्मक देखिन्छन् ।

पुरानो गठबन्धन ब्य उँताउने तयारीमा रहेका प्रचण्डसँग फागुन ८ मा लामिछानेले भेटवार्ता गरेका थिए । त्यसपछि पनि उनी प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमै छन् ।

प्रचण्डसँगको कुराकानीमा लामिछानेले राहदानी मुद्दालाई केन्द्रमा राख्ने गरेको बालुवाटार स्रोत बताउँछ । ‘रविजीलाई आफ्नो मुद्दाको सबैभन्दा ठुलो चासो छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । कहिले आफै र कहिले आफ्नो विश्वासपात्र मार्फत उनले सहयोग मागिराखेको स्रोतको दाबी छ । 

देउवा निकट कांग्रेसका एक नेताले पनि लामिछानेले मुद्दा मिलाउन गुहार मागिरहेको रातोपाटीलाई बताए । ती नेताका अनुसार बुधबारको कांग्रेस शीर्ष नेताको बैठकमा रविको राहदानीको विषयले प्रवेश पाएको थियो ।

‘रवि लामिछानेले मुद्दा मिलाउन सहयोग गर्नुपर्‍यो, सरकारलाई आवश्यक सहयोग गर्न तयार छौँ । राष्ट्रपतिमा पनि मत दिन्छौँ भनेको कुरा हाम्रो बैठकमा आयो,’ बैठकमा सहभागी ती नेताले भने । प्रधानमन्त्री प्रचण्डले रविको मुद्दा मिलाएर रास्वपालाई सरकारमा सामेल गर्नुपर्ने संकेत दिएको ती नेताको भनाइ छ ।

उनले भने, ‘रवि लामिछाने प्रचण्डजीसँग संवादमा रहेको देखिन्छ । प्रचण्डजी उहाँलाई सँगै लिएर जानुपर्ने भन्नुहुन्छ ।’ 

ती नेताले आफू भने रवि लामिछानेको मामिलामा संलग्न हुन नहुने पक्षमा रहेको र सोही मत बैठकमा राखेको रातोपाटीलाई बताए । ‘हामीलाई पनि मुद्दा मिलाइदिन आग्रह गर्नुभएको थियो,’ ती नेताले भने, ‘तर मैले यसमा नदुखेको टाउको दुखाउनु हुँदैन । उनको मुद्दा उनी आफै मिलाउँछन् भनेँ ।’

पार्टीका केही नेताले लामिछानेको मुद्दा मिलाएर गठबन्धन बलियो बनाउनुपर्ने धारणा राखेपछि आफूले प्रतिवाद गरेको ती नेताको भनाइ छ ।

माओवादी केन्द्रका एक मन्त्रीले पनि लामिछाने प्रधानमन्त्रीसँग निरन्तर सम्पर्कमै रहेको पुष्टि गरे । ‘रविजी प्रधानमन्त्रीज्यूको सम्पर्कमै हुनुहुन्छ,’ ती मन्त्रीले भने, ‘तर, छलफलको विषय प्रधानमन्त्रीज्यूले खुलाउनु भएको छैन ।’

लामिछानेले आफ्नो मुद्दा मिलाउन प्रधानमन्त्रीबाट सहयोग हुने अपेक्षा राखेर सरकारको समर्थन कायमै राखेको ती मन्त्रीको बुझाइ छ । ‘उहाँको पार्टी सरकारबाट बाहिरिएको अवस्था छ,’ उनले भने, ‘तर सरकारलाई दिएको समर्थन भने उहाँहरूले कायमै राख्नुभएको छ । मुद्दा मिलाउन मद्दत पुग्छ कि भनेर पनि समर्थन कायम राखेको हुन सक्छ ।’

माघ २२ मा सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । गत आइतबार बसेको रास्वपा बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्को बैठकमा बहुमत जुटाउन र विपक्षी मोर्चा बलियो हुन नदिने रणनीति अनुसार प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमै पुनः लिन खोजेको देखिन्छ ।

यता रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्रीसँग भेटघाट भइरहेको बताए । तर राहदानीको मुद्दा मिलाउन वा चुनावमा सहकार्य गर्ने गरी छलफल नभएको उनले बताए ।

चितवन–२ को उपचुनावमा दलहरुबीच सहमति भएमा मिलेर जान रास्वपा तयार नै रहेको उनको भनाइ छ । ‘सबै विषयमा सहमति भएमा मिलेर जाने पनि हुन सक्छ,’ उनले भने, ‘राज्य सञ्चालन गर्न पार्टी बनाएको हो । राजनीतिक स्थिरताका लागि मिलेर जाने भन्ने भएमा सहकार्य हुन सक्छ ।’

राहदानी मुद्दा मिलाउन मिल्छ ?

झुटो विवरण देखाएर पासपोर्ट (राहदानी) लिएको आरोपमा लामिछानेमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । रविको पासपोर्टबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । युवराज सफलले ‘राहदानीबारे अनुसन्धान गरिपाऊँ’ भनेर सरकारी वकिलको कार्यालयमा माघ २४ मा निवेदन दिएका थिए ।

लामिछनेसँग एकै समयमा दुई देशको पासपोर्ट भएको तथ्य सार्वजनिक भइसकेको छ । लामिछाने अमेरिकी नागरिक बनेपछि खारेज भइसकेको नेपाली नागरिकता (२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी) प्रयोग गरी २७ मे २०१५ मा ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए । त्यतिबेला उनी नातेदार भिसामा ५१२९६६९८१ नम्बर अमेरिकी राहदानी बोकेर नेपाल आएका थिए । एक देशको पासपोर्ट भइरहेका बेला अर्को देशको पासपोर्ट लिनु कानुन सम्मत नभएको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए ।

यस्तो अवस्थामा उपनिर्वाचनमा लामिछानेले उम्मेदवारी दिएमा सर्वोच्च अदालत र निर्वाचन आयोग बोल्नुपर्ने अवस्था आउँछ । तर अहिले लामिछानेलाई चुनावमा उम्मेदवार हुन कानुनले छेक्दैन । उनी भन्छन्, ‘पक्राउ अनुमति जारी भएको अवस्थामा पनि विद्यमान कानुनले लामिछानेलाई उम्मेदवार हुन रोक्दैन, अहिलेको अवस्थामा उहाँ उम्मेदवार हुन पाउनुहुन्छ ।’

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्था छ । सो दफा अनुसार राहदानी दुरुपयोगको अभियोगमा अदालतबाट दोषी ठहर भएमा उम्मेदवार हुन नपाउने व्यवस्था छ ।  भण्डारीका अनुसार उपनिर्वाचनबाट उनी निर्वाचित भएर आए पनि राहदानी मुद्दामा दोषी ठहर भए सांसद पद जान्छ ।

उनले भने, ‘सरकारले चाहेर मुद्दा ढिसमिस गर्न सकिने अवस्था छैन । तर मुद्दा नचलाइदिए उहाँलाई राहत भइहाल्छ । जाहेरी परेको छ । अब सरकारले मुद्दा चलाउनुपर्ने अवस्था छ । सरकारी वकिलले अनुसन्धान गरिराखेको भनेर लेखेरै दिनु भएको छ ।’

उनका अनुसार यस्तो अवस्था प्रहरीले अनुसन्धान अगाडि बढाउनुपर्छ । ‘अनुसन्धान अगाडि बढ्दा लामिछानेसँग बयान लिने, म्याद जारी गर्ने, थुनामा राख्ने, अभियोगपत्र दायर गर्नुपर्‍यो । यो प्रक्रिया सरकारले अगाडि बढाइराखेको छैन,’ उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप