मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यूएईविरुद्ध ह्याट्रिक गरेका दीपेश भन्छन्, ‘सबैको सपना आफूले पूरा गरे जस्तो लाग्यो’

शुक्रबार, १९ फागुन २०७९, १३ : ०८
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले लामो समयपछि विश्वकप खेल्ने खेल्ने भएको छ । नेपाल यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको च्याम्पियन बन्दै सन् २०१६ पछि नेपाली टोलीले सन् २०२४ मा विश्वकपमा पुग्न सफल भयो । 

नेपाललाई ४८ औँ ओभरमा ह्याट्रिक विकेट लिँदै विश्वकपमा पुगाउने खेलाडी थिए, दीपेश कँडेल । दीपेश नेपाली क्रिकेटको नयाँ अनुहार भने होइनन् । उनले घरेलु क्रिकेटमा नेपाली टोलीका पूर्व कप्तान पारस खड्कादेखि स्पिनर वसन्त रेग्मीसँग खेलिसकेका छन् । 

क्रिकेट करियरमा दीपेशलाई यूएईविरुद्धको खेल नै उत्कृष्ट लाग्छ । अन्तिम तथा निर्णायक खेलमा नेपाल हारको अवस्थामा पुगिसकेको थियो । यूएईलाई अन्तिम तीन ओभरमा मात्र ११ रन चाहिएको थियो । यता नेपाललाई सोही तीन ओभरमा तीन विकेट आवश्यक थियो । 

डेथ ओभरमा प्रायः स्पीनर नदेखिने क्रिकेटमा नेपालका कप्तान देव खनालले उनलाई ४८ ओभरमा पठाए । दीपेशले १८ औँ ओभरको पहिलो बलमा एक रन दिँदा दोस्रो बल डट फाले । तेस्रो बलमा दुई रन दिँदा यूएईलाई १५ बलमा ८ रन मात्र चाहिएको थियो । 

त्यसपछि नेपालका स्पीनर दीपेशले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । नेपालको जितमा नायक बनेका दीपेशले ह्याट्रिक विकेट लिँदै नेपाललाई विश्वकपमा पुर्‍याउँदाको क्षण क्रिकेट जीवनको महत्त्वपूर्ण क्षण भएको बताए । 

‘यस्तो अनुभव कहिले भएको थिएन । यसको बयान पनि गर्न सक्दिनँ । कप्तानले बल दिएपछि मलाई विकेट नै चाहिएको थियो । जसरी पनि म विकेट लिन पर्छ भन्ने थियो । कप्तानले पनि हौसला दिनुभयो । हरेक बलमा सम्झाइराख्नु भएको थियो । विकेट निस्क्यो,’ दीपेशले हाम्रो खेलकुद डटकमसँगको कुराकानीमा भने । दीपेशले नेपालले जित्दा सबैको सपना पूरा गरे जस्तो अनुभव भएको बताए । त्यस्तै उनले जीवनको अन्तिम ओभर सम्झेर आफूले बलिङ गरेको बताए । आफूले विश्वकपमा पुर्‍याउँदा सबैको सपना पूरा गरेजस्तो अनुभव भएको बताए ।

‘एकदमै राम्रो महसुस भयो । विश्वकपमा पुग्यौँ, सबैको सपना थियो विश्वकपमा पुग्ने थियो । मैले नै सबैको सपना पूरा गरे जस्तो लाग्यो । मेरो जीवनको अन्तिम ओभर सोचेर बलिङ गरेको थिए । विकेट पनि आयो,’ दीपेशले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप