आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा आठ दलीय गठबन्धनको बैठक, पुस १० मा बनेको गठबन्धन ओलीका कारण भत्किएको जिकिर

शुक्रबार, १९ फागुन २०७९, १९ : २०
शुक्रबार, १९ फागुन २०७९

सुर्खेत । शुक्रबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा आठ दलीय गठबन्धनको बैठक बसेको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिनेबारे छलफल गर्ने उद्देश्यसहित बसेको बैठकमा १० पुसमा बनेको एमालेसहितको गठबन्धन भत्किनु र चुनावी गठबन्धन बिउँतिनुबारे नेताहरुले जानकारी गराएका छन् ।

दिउँसो २ बजेबाट बसेको बैठकमा नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले गठबन्धनबारे सांसदहरुलाई प्रशिक्षण दिएका थिए । खड्काले सबै सांसदलाई रामचन्द्र पौडेलको पक्षमा मत दिन अपिल गरे । उनले अहिले नयाँ गठबन्धन बन्नुको उद्देश्य पनि प्रस्ट्याए । ‘एमाले अध्यक्ष केपी ओलीले संसद् विघटनबारे जसरी संसदमा मन्तव्य दिनुभयो, त्यो राम्रो थिएन,’ खड्काले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिने बेला निकै गर्जनका साथ ओलीले आफूले संसद् विघटन गरेको कुरा सही नै हो भन्ने तरिकाले धारणा राखेपछि स्वयं प्रधानमन्त्री प्रचण्ड झस्किएको खड्काले बताए ।

यस्तै माओवादी उपमहासचिव शक्ति बस्नेतले १० पुसमा एमालेसहित बनेको गठबन्धन भत्किनुको प्रमुख कारण एमाले अध्यक्ष केपी ओली भएको प्रस्ट पारे । उनले भने, ‘खासगरी केपीजीले विश्वासको मत दिँदा मैले प्रतिनिधिसभा विघटन गरेको ठिक थियो, फेरि पनि यस्तो हुन सक्छ, यो राजनीतिक कुरा हो, जायज कुरा हो भनेर जसरी प्रस्तुत हुनुभयो, त्यसबाट ओलीमाथि शंका उत्पन्न भएपछि नयाँ बाटो अपनाउनु परेको हो ।’

ओलीले मौका पाए फेरि पनि प्रतिनिधिसभा विघटन गर्नसक्ने आशंका उत्पन्न भएका कारण ओलीसहितको गठबन्धनमा विश्वास नभएर चुनावी गठबन्धन बिउँताउनुपरेको बस्नेतले बताए ।

कांग्रेस उपसभापति खड्काले कर्णालीको विकास र समृद्धिका बारेमा पनि धारणा राखेका थिए । उनले भने, ‘अहिलेको अवस्था हेर्दा आठ दलीय गठबन्धन भत्किने सम्भावना छैन, त्यसैले कर्णालीको विकास र समृद्धिमा अग्रसर हुनपर्छ, केन्द्रबाट गरिने पहल निरन्तर हुनेछन् ।’

यद्यपि प्रदेश सरकारको भविष्यबारे भने एमालेमा निर्भर रहने खड्का र बस्नेतको भनाइ थियो । केन्द्रमा जस्तै प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको खण्डमा गठबन्धनलाई सहज हुने नेताहरुको भनाइ छ । कर्णालीमा एमाले सत्तारुढ दल हो । तर अहिलेसम्म प्रदेशमा एमालेले सरकार छाड्नेबारे निर्णय लिन सकेको छैन ।

बैठकमा गठबन्धनका सांसदहरुले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई एकताबद्ध भएर भोट हाल्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस सांसद हिक्मत विष्टका अनुसार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने निर्णय गर्दै बैठक टुङ्गिएको छ । बैठकमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि सहभागी थिए ।

कर्णालीमा यो गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका १४, माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका एक सांसद छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप