सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली बीउ हराउन लागेकोमा व्यवसायीको चिन्ता

शुक्रबार, १९ फागुन २०७९, २० : ३१
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । बीउ विजन व्यवसायीले वार्षिक अर्बौँको बीउ विजन विदेशबाट आयात भए पनि त्यसलाई कम गर्न स्वदेशी उद्यमीलाई प्रोत्साहन नगरेको गुनासो गरेका छन् ।

नेपाल बीउ व्यवसायी संघको राजधानीमा सम्पन्न २४ औँ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरूले मौलिक बीउको जगेर्ना गर्नुको साटो विदेशी बीउमा बढी जोड दिइएकाले बीउको परनिर्भरताले मौलिक कृषि उपजसमेत हराउने खतरा रहेको बताए । 

कार्यक्रममा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले २०५२ सालसम्म विदेशमा बीउ निर्यात हुने अवस्था भए पनि अहिले कृषि उपजसम्म बाहिरबाट आयात हुने अवस्था आएको भन्दै आत्मनिर्भरतामा देश पछि परेको गुनासो गरे । व्यवसायीसँग हामी हातेमालो गर्न तयार छौँ, उनले भने, तर कृषिमा आत्मनिर्भरताका लागि व्यावसायिक पहल हुनुपर्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले किसानलाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको भन्दै खेतीपातीका बेला सधैँ मलखादको अभाव हुनु विडम्बनापूर्ण भएको गुनासो गरे । नियमन मात्र गर्ने तर प्रोत्साहन नगर्दा निजी क्षेत्र उत्साही बन्न नसकेको गुनासो गरे । ‘सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन भन्दा नियमन बढी गर्छ,’ उनले भने,‘नियमनसँगै प्रोत्साहन पनि जरुरी छ, त्यसो भए मात्र उद्यमशीलता बढ्छ ।’

कार्यक्रममा कृषि विकास महाशाखाका सह सचिव राजेन्द्रप्रसाद मिश्रले कार्यपत्र प्रस्तुत गर्दै नयाँ बजेटमा व्यवसायीका गुनासा सम्बोधन गर्न प्रयास गरिने बताए । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दीपक भण्डारीले खाद्य सुरक्षाका लागि निजी क्षेत्रलाई अधिकार दिन तयार रहेको बताए ।

संघका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले देशमा कृषिको विकासका लागि बीउ विजनको सहज उपलब्धता अनिवार्य शर्त भएकाले स्वदेशी उद्योगी तथा व्यवसायीलाई सहज वातावरण तयार गरिदिन आग्रह गरे ।

संघका महासचिव विश्वराज बानियाँले स्वदेशमा बीउ विजनका लागि अनुसन्धानमा ठुलो लगानी गर्न निजी क्षेत्र सक्षम नभएको भन्दै सरकारसँग सहायता माग गरे । संघका उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले कृषिमा आत्मनिर्भरता बढाउन देश बीउमा पनि आत्मनिर्भर हुनुपर्ने भन्दै स्वदेशी बीउको गुणस्तर वृद्धिका लागि राज्यबाट साथ आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप