मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश ७ को राजधानी धनगढीमा यसरी बढ्दैछ जग्गाको भाउ

मङ्गलबार, १५ फागुन २०७४, १२ : ११
मङ्गलबार, १५ फागुन २०७४

 धनगढी–कैलालीको गोदावरी नगरपालिका मालाखेतीकी सूचेता शाहीले खेतीपाती र घर बनाउनका लागि जिल्ला मालपोत कार्यालय धनगढी आएर ८ कठ्ठा जग्गा किनिन् । ४० लाखमा उनले ८ कठ्ठा जग्गा खरिद गरेकी हुन् ।

अहिले उनले जग्गा किनेको क्षेत्रमा प्रतिकठ्ठा ५ लाख पुगेको छ । १ बर्ष अघिसम्म प्रतिकठ्ठा २ लाख पर्नेमा अहिले ३ लाख बढेको उनले बताइन् । जग्गा किनेर मालपोत कार्यालयबाट बाहिरिँदै गर्दा उनले भनिन्–‘जग्गाको भाउ त छोइनसक्नु हुन लाग्यो, अघिल्लो सालभन्दा त दोब्बर नै भयो ।’ 

सरकारले कैलालीको धनगढीलाई अस्थायी राजधानी घोषणा गरेर प्रशासनिक कार्यालयहरु स्थापना गरेपछि यतिबेला धनगढी र यस आसपासका स्थानमा जग्गाको भाउ बृद्धी भएको मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएकाहरु बताउछन् । 

कठ्ठा र बर्गमिटरका आधारमा जग्गाको कारोबार हुने धनगढीमा अघिल्लो बर्षको तुलनामा यसबर्ष प्रतिकठ्ठा जग्गाको भाउ १० देखि १५ लाख सम्म बढेको उनीहरुले सुनाए । 

हाइवे छेउमा प्रतिकठ्ठा करोड
दीपक भट्ट, धनगढी स्थित मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्छन् । उनको अनुभवमा अघिल्लो बर्ष भन्दा धनगढीको हाइवे क्षेत्रमा ८० लाख देखि ८५ लाख पर्ने जग्गाको भाउ अहिले १ करोड भन्न थालेका छन् । हाइवे भन्दा भित्र ४० लाखमा कारोबार हुने ठाँउमा अहिले ५० लाख हाराहारीमा कारोबार हुन थालेको छ । 

जग्गाको भाउमा बृद्धी भएपनि किनबेचमा पनि कमी आएको छैन, बरु बढिरहेको छ । भट्टका अनुसार अछाम, बझाङ, बाजुरा, डडेल्धुरा लगायतका क्षेत्रबाट आएकाहरुले घर निर्माणका लागि पाँच धुर देखि दश धुर सम्म जग्गा किन्ने गरेका छन् । 

६ वर्षदेखि जिल्ला मातपोत कार्यालय धनगढीमा लेखापढि ब्यवसाय गर्दै आएका रामचरण चौधरीको पनि उस्तै अनुभव छ । वार्षिक प्रति कठ्ठा जग्गाको भाउ एकदेखि दुई लाखको दरले बढ्ने भएपनि प्रदेशको अस्थायी राजधानी भएपछि जग्गाको भाउ पहिले भन्दा बढेर आएको उनले सुनाए । उनले भने–‘सरकारी मुल्याङ्कनमा भने बढेको छैन तर जग्गा ब्यपारीहरुले जग्गाको भाउ बढाएका हुन् ।’ 

धनगढी बजार आसपासका क्षेत्रमा जग्गाको भाउमा बढोत्तरी भएपनि अन्य क्षेत्रमा भने सामान्य बृद्धी भएको स्थानीय बताउछन् । गाउँघरतिको जग्गा अंशबण्डा र राजीनामा धेरै हुने गरेको छ भने धनगढीमा घर बनाउका लागि जग्गा खरिदबिक्री हुने गरेको हो । शहर र त्यस वरीपरीको क्षेत्रमा जग्गा प्लटिङ पनि बढेको छ । 

धनगढीको तारानगर क्षेत्रमा २० देखि २५ प्रतिशतसम्म जग्गाको भाउ बढेको छ । हिजो सम्म प्रतिकठ्ठाको ४० लाख पर्नेमा अहिले ५० लाख सम्म पुगेको स्थानीय योगेन्द्र शाहले बताए । 
अस्थाई राजधानी घोषणा भएपछि जग्गाको कारोबार बढेको मालपोत अधिकृत मनोहर श्रेष्ठको पनि अनुभव छ ।  

गएको साउनदेखि मातपोत कार्यालयले एउटा जग्गा एक पटक मात्रै कित्ताकाट गर्ने गरेको छ   । तर अंश बण्डालाई भने खुला गरेको छ । कृषि भूमी खण्डीकरण नहोस् भनेर देशभरीका लागि यो व्यवस्था लागू भएको हो । यति हुँदा पनि जग्गाको कारोबारमा कमी आएको छैन ।

कैलालीमा टीकापुर र धनगढीमा रहेका दुई मालपोत कार्यालयबाट जग्गा सम्बन्धी काम हुने गरेको छ । 

ग्रामिण क्षेत्रहरु भजनी, खैलाड, हसुलिया, पधेरा लगायतका क्षेत्रमा भने जग्गाको भाउ खासै बढेको छैन् । तर राजमार्गले छोएका धनगढी, अत्तरिया, मसुरिया लगायतका स्थानमा भने जग्गाको भाउमा बृद्धी भएको हो । 

जिल्ला मातपोत कार्यालयले बर्षमा १ पटक जग्गाको मुल्याङ्कन दर बढाउने गरेको छ । मालपोत अधिकृत श्रेष्ठका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले शहरी क्षेत्रका जग्गाको मुल्याङ्कन दर ५ देखि १५ प्रतिशत बढाउने गरेको छ । सरकारी कार्यालयबाट हरेक आर्थिक वर्षको पहिलो महिनामा जग्गाको मूल्याङ्कन गरिन्छ । 

गतवर्षको भन्दा १५ लाख सम्म बढ्यो

१५ बर्ष देखि मालपोत कार्यालयमा लेखापढी गरेका हिरा गजुरेलको अनुभवमा कैलालीका ग्रामिण भागमा भने प्रतिकठ्ठा जग्गाको भाउ २२ देखि २५ लाख सम्म रहेको छ । उनका अनुसार हाइवे क्षेत्रमा अघिल्लो बर्षको तुलनामा १५ लाख सम्मले जग्गाको भाउ बढेको छ । धनगढी सबैभन्दा सानो परिमाणमा ५ धुरसम्म जग्गा कारोबार हुने गरेको छ । 
पाँच धुरको हाइवेमा २० देखि २५ लाख सम्म र ग्रामिण भागमा ५ देखि ६ लाखसम्म पर्ने गरेको उनले बताए ।  

गजुरेलका अनुसार धनगढी बजारमा जग्गाको बढी कारोबार हुने गरेको छ । धनगढी र अत्तरियाको जग्गाको भाउ बढी पर्ने गरेको छ । सुख्खड, मालाखेती, सहजपुर, निकाले, खैलाड लगायतका क्षेत्रमा जग्गाको भाउ सस्तो पर्छ । त्यी क्षेत्रमा पनि जग्गाको कारोबार भने बढिरहेको छ । 

अघिल्लो बर्ष ४० करोड राजस्व 
जिल्ला मालपोत कार्यालय कैलालीले अघिल्लो बर्ष १५ हजार लिखत पासमार्फत ४० करोड आम्दानी गरेको थियो । यसबर्ष हालसम्म ८ हजार लिखत पासबाट २० करोड राजस्व उठेको मालपोत अधिकृत मनोहर श्रेष्ठले जानकारी दिए । 
धनगढीमा रहेको मालपोत कार्यालयले ८ स्थानीय तहको जग्गा हेर्ने गरेको छ, जसमा १ उपमहानगरपालिका, ३ गाँउपालिका र ४ नगरपालिका पर्छन् । यता टिकापुरमा रहेको मालपोत कार्यालयले ५ स्थानीय तहको जग्गा हेर्ने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप