आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

रेसुङ्गा विमानस्थलमा नियमित उडान अझै अनिश्चित

आइतबार, २१ फागुन २०७९, १६ : ३४
आइतबार, २१ फागुन २०७९

बुटवल । गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भनिए पनि नेपाल वायुसेवा निगमको उडान अनिश्चित बनेको छ । फागुन १७ पछि नियमित उडान गर्ने बताइए पनि अहिलेसम्म नियमित उडान हुन सकेको छैन ।

रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबिच हप्तामा एक दिन उडान गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतापछि उत्साहित बनेका जिल्लावासी अझै उडानको टुङ्गो नभएपछि निराश बनेका छन् ।

नगरपालिका र नेपाल एयरलाइन्सबिच प्रति उडान÷अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुङ्गा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने सम्झौता भएको थियो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार बक्यौता नतिरेसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ उडान तालिका स्वीकृत नगरेकाले वायुसेवा कम्पनीहरूले नयाँ गन्तव्यमा उडानको स्वीकृति नपाएका हुन् । उनले गुल्मीमा मात्रै होइन, अरू ठाउँमा पनि समस्या देखिएको बताए ।

नेपाल एयर लाइसेन्सले बक्यौता रकम छिटै तिर्ने र नियमित उडान सुरु हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

रेसुङ्गा विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । नेपाल एयरलाइन्सले पहिलो पटक गत बुधबार परीक्षण उडान गर्ने मिति तय गरेको थियो । विमानस्थलमा प्रविधियुक्त सामग्री जडान गर्न समय लागेको भन्दै शुक्रबारका लागि मिति सारिएको थियो ।

नगरपालिका र निगमबिच सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । उनले भने, ‘हामीले गर्ने सबै काम गरेका छौँ । निगमको आन्तरिक तयारी नपुगेकाले उडान नभएको हो ।’

निगमका अनुसार गुल्मी जाँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कँदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थात् १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रति उडान अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुङ्गा नगरपालिकाले गरेको हो । जिम्मेवारी अनुसार यात्री संख्या नपुगे त्यसबापत रकम नगरपालिकाले व्यहोर्ने जनाइएको छ । नगर प्रमुख पन्थीले भने, ‘तर हामीले व्यहोर्नुपर्ने अवस्था आउँदैन, किनकि यहाँको जनसंख्या, छिमेकी जिल्लाका नागरिकले समेत सेवा लिने हुँदा हाम्रो कोटा पुग्छ ।’

सुरुमा तारा एयरसँग सम्झौता, पछि नेपाल एयरलाइन्ससँग

पोखरामा यती एयरको विमान दुर्घटना लगत्तै गुल्मीमा सफल परीक्षण उडान गरेको तारा एयरले तत्काल यहाँ नियमित उडान नगर्ने भएको छ । ताराले उडान नगर्ने भएपछि नेपाल एयरलाइन्ससँग सम्झौता भएको हो । निगमलाई यसअघि तारा एयरले गरेको परीक्षण उडानको प्रतिवेदन समेत बुझाइएको छ । ताराले यहाँ २४ पुसमा परीक्षण उडान गरेको थियो । सफल परीक्षण उडानपछि ताराले समेत यहाँ उडानको तयारी गरेको थियो । तर, पोखरामा यतीको जहाज दुर्घटना भएपछि कम्पनीले आफ्नो योजना पछाडि धकेलेको स्रोतले बताउँछ ।

नगर प्रमुख पन्थीले बिस्तारै अरू विमान कम्पनीहरू रेसुङ्गा पनि आउने बताए । उनले भने, ‘सुरुमा सकभर सरकारी एयरलाइन्सले नै उडान गर्दा सुरक्षादेखि धेरै विषयमा सहज हुने भएकाले नेपाल एयरलाइन्ससँग सम्झौता भएको हो, पछि तारा पनि आउने छ ।’

रेसुङ्गा नगरपालिका र निगमको सम्झौतामा साक्षी बसेका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यहाँ निजी कम्पनीको तुलनामा निगमले झन्डै २ हजार रुपैयाँ कम भाडामा यात्रु बोक्ने भएको छ । तर यसको टिकट दर तोक्ने जिम्मा भने निगमलाई नै दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप