आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

विश्वका १३० देशसँग व्यापारमा नेपाललाई घाटा

सोमबार, २२ फागुन २०७९, ०६ : ४६
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । नेपालले बर्सेनि वैदेशिक व्यापारमा ठूलो घाटा बेहोर्दै आइरहेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा समेत नेपालले ठूलो व्यापार घाटा ब्यहोरिसकेको छ । यस अवधिमा भएको वैदेशिक व्यापारमा नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ घाटा बेहोरेको छ । ७ महिनामा नेपालबाट ९३ अर्ब रुपैयाँको निर्यात हुँदा विदेशबाट ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरकोमात्र आयात भएको छ ।

नेपालले वैदेशिक व्यापार गर्ने अधिकांश साझेदार मुलुकसँग नेपालको व्यापार घाटा छ । भन्सार विभागका अनुसार ७ महिनाको अवधिमा नेपालले विश्वका १५४ वटा मुलुकसँग व्यापार गरेको छ । यीमध्ये १३१ वटा देशसँगको व्यापार नेपालको पक्षमा नभई ती साझेदार मुलुकहरूको पक्षमा देखिएको छ । अर्थात्, १३१ वटा देशसँग नेपालको व्यापार घाटामा छ ।

बाँकी ३३ देशसँगको व्यापारमा भने नेपालले नाफा गर्दै आइरहेको छ । तर, ती मुलुकसँगको व्यापार नाफा पनि न्यून मात्रामा छ । खासगरी, नेपालतर्फबाट निर्यातका लागि आवश्यक वस्तु पर्याप्त मात्रामा नहुँदा र निर्यात बढाउन सरकारले बनाएका योजना प्रभावकारी नबन्दा समस्या भइरहेको हो ।

सरकारले निर्यात प्रवर्द्धन गर्ने लक्ष्यसहित धेरै योजना बनाएको छ । तीमध्ये नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) समेत सञ्चालनमा ल्याइएको छ । तर, यो रणनीतिमा समेटिएका वस्तुको निर्यात बढ्नुको साटो घटिरहेको छ ।

नेपालले निर्यात वृद्धिका लागि बनाएका योजनाहरू प्रभावकारी रूपले लागू हुन नसक्दा र आयात नियन्त्रण गर्ने ठोस योजना नहुँदा निरन्तर आयात बढ्ने र निर्यात घट्नेक्रम चलिरहेको छ । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोखरेल सरकारको ध्यान निर्यातमुखी अर्थतन्त्रमा नहुँदा सबैजसो देशसँग व्यापार घाटा बेहोर्नुपरेको बताउँछन् ।

‘हामी आयातमुखी अर्थतन्त्रमा निर्भर छौँ । आयात घट्नासाथ कर्मचारीलाई तलब खुवाउने रकमसमेत हुँदैन,’ पोखरेल भन्छन्, ‘तर, निर्यात बढाउने विषयमा सरकारको ध्यान नै छैन ।’

यस्तै, स्वदेशमा सञ्चालित उत्पादनमूलक उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थको सहज उपलब्धता नहुनु लगायतका विषयले समेत निर्यात प्रभावित बनाउँछ । निर्यात नै नभई आयात मात्र भएपछि व्यापार घाटा बढ्छ । नेपालको कुल व्यापारको करिब ७० प्रतिशतभन्दा धेरै हिस्सा भारत र चीनको व्यापारले ओगट्छ । यी मुलुकबाट बर्सेनि उच्च मात्रामा आयात हुन्छ र निर्यात न्यून हुन्छ । ‘सुक्खा बन्दरगाहसम्म आइपुगेको रेल पनि यताबाट जाँदा खाली हुन्छ,’ पोखरेल भन्छन् ।

नेपालले व्यापार घाटा बेहोरेका मुलुकमध्ये भारतसँगै सबैभन्दा धेरै घाटा हुन्छ । ७ महिनाको अवधिमा भारतसँगको व्यापार घाटा ५ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ बराबर छ । जबकि, नेपालको कुल व्यापार घाटा नै ९ खर्ब १९ अर्ब रुपैयाँ छ । यस आधारमा कूल व्यापार घाटाको करिब ६० प्रतिशत हिस्सा नै भारतले ओगट्दै आएको छ । यसपछि, चीनसँग १ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ व्यापार घाटा छ । यो नेपालले बेहोर्दै आएको दोस्रो धेरै घाटा हो ।

विश्वभरका १५४ वटा मुलुकसँगको व्यापारमा जम्मा ३३ वटा मुलुकसँगको व्यापारमा मात्रै नाफा हुने गरेको विभागले जनाएको छ । त्यसमध्ये, मध्य÷दक्षिण एसियाली मुलुक अफगानिस्तान, अल्जेरिया, अंगोला, अस्ट्रिया, अजरबैजान, बोलिभिया र बोस्निया एण्ड हर्जगोभिना छन् । यस्तै, चाड, कंगो, क्रोएशिया, डेनमार्क, ग्वाडेलोप र आइसल्याण्डसँगको व्यापार समेत नाफामा छ ।

किर्गिस्तान, लाट्भिया, माल्दिभ्स, माली, माल्टा, मौरिसियस, मोनाको, मोरोक्को, न्यून क्यालोडोनिया, नर्वे, रोमानिया, रवान्डा, सेन्ट लुसिया, ट्रिनिडाड एण्ड टोबागो, अमेरिका, उरुग्वे, जाम्बिया र जिम्बाबेसँग पनि नेपालको व्यापार नाफामा छ । व्यापार घाटा रहेका मुुलुकको सूची लामो भएकाले व्यापार नाफा रहेका देशको सूचीमात्रै समेटिएको हो । व्यापारविद् रविशंकर सैजु नेपालबाट विदेशतर्फ बेच्ने वस्तु नै नहुँदा निरन्तर व्यापार घाटा चुलिइरहेको बताउँछन् ।

‘नेपालमा उत्पादनमूलक उद्योग नहुँदा र भएका उद्योगलाई आवश्यक कच्चा पदार्थ नहुँदा निर्यात बढ्न सकेको छैन,’ सैजु भन्छन्, ‘निर्यात नै नभएपछि व्यापार घाटा घट्दैन ।’ खासगरी, नेपाल सरकारले निर्यात वृद्धि गर्ने र स्वदेशी उत्पादनमूलक उद्योगहरूको प्रवर्द्धनमा जोड दिएकै छैन । यही कारण पनि निर्यात बढ्न नसकेको सैजुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप