सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अश्लील गीतले होली संस्कृतिलाई धुमिल बनाउँदै

दुईअर्थी गीत सपरिवार सुन्नै गाह्रो
सोमबार, २२ फागुन २०७९, १४ : ११
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । ‘शिवमण्ठ पर राम खेलैय होरी, शिवमण्ठ पर...’ डम्फु, ढोलक, झाइलमा यस्ता गीत गाउदै मधेसमा होली मनाउने चलन हराउँदै गएको छ । अहिले त्यसको ठाउँ डिजेले लिएको छ ।  हुन त होलीमा पौराणिक कालदेखि गाउने गीत तथा नृत्यमा यौनिकता र अश्लीलता मिसिएको पाइन्छ । तर अहिले त्यस्ता लोकगीत हराउँदै गएका छन् । र, नयाँ नयाँ यस्ता अश्लील गीत भित्रिदै छ कि परिवारसँग बसेर सुन्न सकिदैन । 

पहिला पहिला होलीको गीतमा सीताराम र शिव–पार्वती, होलिका, गणेश केन्द्रीत हुन्थ्यो । तर, अहिले भैया, भौजी, छोरी, मौगीले स्थान लिएको छ । मधेस प्रदेशका आमसञ्चार प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादव भन्छन्, ‘आधुनिकतासँगै हाम्रा लोकसँस्कृति हराउँदै गएको छ । यो हाम्रो समाजको लागि चिन्ताको विषय हो ।’ अहिले आधुनिकताको बहानामा समाज छाडातन्त्रले ठाउँ लिँदै गएको कारण चिन्ताको विषय बनेको छ । 

श्रीपञ्चमी अर्थात् सरस्वती पूजाकै दिनदेखि तराई मधेसको टोल टोलमा डम्फुमा होलीको गीत गाउने चलन थियो । तर त्यो चलन पुरै हराइसकेको छ । अहिले त होलीको दिन पनि परम्परागत होली गीत, संगीत पाइदैन ।  होलीको दिन पहिला भाङ खाने चलन थियो । कसैको घरमा जाँदा भाङको सर्वत वा चिनी–पानी कागतीको सर्वत दिने चलन थियो तर अहिले भाङको ठाउँ देशी विदेशी रक्सीले लिएको छ । त्यो खाएर लठ्ठ भएका युवाहरु साउण्ड बक्स घन्काएर नाचिरहेका हुन्छन् । 

साहित्यकार एवं सँस्कृतिविद् डा.राजेन्द्र विमलले होलीको मौलिकता हराएकोमा चिन्ता व्यक्त गर्छन् । उनले भने, ‘पहिलाको होली र अहिलेको होलीमा आकाश जमिनको फरक छ । होलीमा पहिला पनि अश्लील र कामुक गीत त हुन्थ्यो । ती लोकगीत तथा जोगिरामा दुईअर्थी शब्द प्रयोग भए पनि त्यसमा आफ्नै मौलिक मिठास हुन्थ्यो । तर, अहिलेको गीत अश्लील मात्र होइन, अमर्यादित भएको छ ।’

डम्फु, ढोलकको तालमा होलिया (होली गीत गाउने) ले सपरिवार मिलेर गाउँथे तर अहिले त्यसको ठाउँ डिजे, विभिन्न खालको साउण्डबाजाले लिएको बताउँदै उनले यसरी होलीमा यो आधुनिकताका कारण होलीको मौलिकता हराएको बताए । समाज जात–जातमा विभाजन भएको छ । राजनीतिक रुपमा विभाजन भएको छ । कोही कसैको अनुशासनमा छैन, जसलाई जे मन लाग्यो, त्यही गर्ने गरेका छन् । त्यसैले यस्ता विकृति, विसङ्गति भित्रिएको उनले बताए । पहिला पहिला होली भन्ने वित्तिकै मन हुरुक्क हुन्थ्यो तर अहिले त्यो अवस्था छैन, अहिले होलीमा आफ्नो प्रतिष्ठता बचाउनुपर्ने अवस्था आएको डा विमलको भनाइ छ । 

मैथिली, भोजपुरीका अश्लील गीतहरु घन्काएर बजारदेखि गाउँघरका युवाहरु उधुम मचाएका हुन्छन्, जुन नाचगान सुन्न लाज पनि लागिरहेको हुन्छ ।  पहिला पहिला गाउँघरका बुढापाका तथा युवाहरु डम्फु, ढोलक, हारमोनियम, झाइल लिएर समूहमा गीत गाउँदै घर घर गएर दक्षिणा लिने, चलन थियो । आदरपूर्वक एक अर्कालाई रंग लगाएर सम्मान दिने चलन थियो । त्यसमा सद्भाव, अपनत्व, भावना मिसिएको हुन्थ्यो, अहिले त्यो पुरै हराएको छ । अहिले कसले कति रक्सी खान सक्छ, कसले कति होहल्ला गर्न सक्छ, त्यसमा प्रतिस्पर्धा हुने गरेको छ । 

‘कोन तालपर ढोलक बाजे कोन ताल मृदङ ?    
कौन तालपर गोरिया नाचे कौन ताल पर हम ?    
जोगिरा सर र र !’
होलीकै जोगिरा तथा गीतहरुमा सवाल जवाफ हुन्थ्यो । जुन सुन्दा मनमुग्ध हुन्थ्यो । तर यस्ता कर्ण प्रिय गीत तथा जोगिराहरु हराउँदै गएका छन् ।
होली गाउनेले प्रश्न गर्छः
‘किनका के हाथ कनक पिचकारी,    
 किनका के हाथ अबिर झोरी ?
जोगिरा सररर.... !!’
गीतबाटै अर्कोले यसरी जवाफ दिन्छन्ः    
 रामजी के हाथमें कनक पिचकारी,    
 सियाजी के हाथ अबीर झोरी !    
 जोगिरा..सररर..!!’    
अहिले यस्ता गीत हराएर भोजपुरी तथा मैथिलीका अश्लील गीतले ठाउँ लिदै गएको छ । पहिलाको गीतमा पनि कामोत्वसवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ, उर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति हुन्थ्यो । त्यो सुन्दा माधुर्य र कर्णप्रिय लाग्थ्यो तर अहिले यस्ता अश्लील गीत आएका छन्, जुन सुन्दा कान थुन्नुपर्छ ।
‘देवरा घुसावत मोट पिचकरिया हे सखी जगहे पे डाले ला रंगिया लहरे ला भितरिया ये सखी...’ 
होली मे जोवन पनियता, देवरा घुसियता हे मोट पिचकरिया हे सखी...’ । 

यस्ता दुईअर्थी गीत गाउँटोलमा मात्र होइन, स्थानीय एफएम रेडियोमा पनि बज्न थालेका छन् । धार्मिक परम्परा भएको होलीलाई अश्लील बनाउँदा मधेसी समाजमा चिन्ता बढेको छ ।

किन मनाइन्छ होली ?
पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्य कश्यपु निकै अत्याचारी थिए । आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रल्हाद भगवान् विष्णुका परमभक्त थिए ।  हिरण्य कश्यपुले छोरा प्रल्हादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् तर प्रल्हादलाई केही भएन । सोही परम्परालाई निरन्तरता दिँदै फागुन शुल्क पूर्णिमाको रातमा होलिका दहन गरी हर्ष बढाई गर्ने चलन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप