आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ख्रिष्टियन समुदाय र होली : किन प्रयोग गर्दैनन् ख्रिष्टियनहरुले अबिर ?

सोमबार, २२ फागुन २०७९, १४ : ५१
सोमबार, २२ फागुन २०७९

फागु पूर्णिमा अर्थात् होली आज र भोलि नेपालभर धुमधामले मनाइदैछ । होलीमा विभिन्न रंगहरुको प्रयोग हुने भएकाले यसलाई रंगहरुको पर्व पनि भनिन्छ । मुख्य गरी आत्मीयता, भाइचारा साटासाट तथा मेलमिलापको प्रतीकको रुपमा नेपाली समाजले होली पर्व मनाउने गरेको पाइन्छ । तर होलीको रौनक नेपालभरी उल्लासमय भएतापनि केही समुदायलाई भने यसले छुदैन । ती समुदायमध्ये इसाई तथा ख्रिष्टियन समुदाय पनि एक हो । समाजमा एकअर्कालाई अबिर दल्दै उत्सव मनाइरहेका बेला ख्रिष्टियन समुदाय भने यी सबैबाट टाढा रहेको पाइन्छ । 

चाडपर्वमा मात्र नभई कुनैपनि सामान्य कार्यक्रमहरुमा समेत ख्रिष्टियनहरुले अबिरको प्रयोग रहेको पाईदैन । अबिरको प्रयोग हुने सभा समारोहमा ख्रिष्टियनहरु सकेसम्म अलग रहने कोसिस गर्दछन् ।  खासमा ख्रिष्टियनहरुले किन अबिरको प्रयोग गदैनन् त ? के उनीहरुको धर्मशास्त्र बाइबलले अबिर अथवा रंगको प्रयोग गर्न बन्देज गरेको नै हो त ?
इसाई राजनीतिकर्मी तथा अभियन्ता विदुर अधिकारीका अनुसार होली पर्व हिन्दू धर्मसंग प्रत्यक्ष जोडिएकोले ख्रिष्टियनहरुले होली मनाउँदैनन् । उनी भन्छन्, ‘होली पर्व हिन्दू भगवान् विष्णुसँग सम्बन्धित भएको पर्व हो, जहाँ विष्णुभक्त प्रह्लाद र होलिकाका बारेमा बताइएको छ ।तर,उक्त कुरामाथि हामीले विश्वास गर्दैनौ । त्यसैले,होली मनाउँदैनौ ।’ 
उनका अनुसार रंगरोगन तथा अबिर प्रत्यक्ष रुपमा हिन्दू देवी देउताको पूजाआजाको प्रतीक भएकाले ख्रिष्टियनहरुले अबिरको प्रयोग गर्नुहुँदैन । अधिकारी थप्छन्, ‘धर्मशास्त्र बाइबलको पुस्तक प्रस्थान २० अध्यायमा परमेश्वरले म बाहेक अरु ईश्वर छैन, मलाई बाहेक अरु केही कुरालाई पूजा नगर्नु भनि लेखिएको छ । त्यसैले हामी ख्रिष्टियनहरुले अरु देवीदेउतालाई पुज्दैनौ । त्यसैले रंगको प्रयोग पनि गर्दैनौ ।’

ख्रिष्टियनबाट सबै धार्मिक समुदायलाई आदर 
हिन्दू धर्मावलम्वीको बाहुल्यता रहेको नेपाली समाजमा उक्त धर्मसंग सम्बन्धित चाडपर्वहरुको छुट्टै मौलिकता र साँस्कृतिक विविधता रहेको पाईन्छ । होली पर्व पनि केवल रंगको पर्व मात्र नभई संस्कृति झल्काउने पर्व हो । यस उपलक्ष्यमाकाठमाडौको बसन्तपुरमा चीर जलाउने चलनदेखि लिएर देशको सुदूर भेगमा भुवा नाच तथा देउडा नाच आदि साँस्कृतिक चलन छन् । उता थारु समुदायको आफ्नो छुट्टै मौलिक नृत्य देखिन्छ भने मधेसभेगमा अझै मौलिकताका साथ होली मनाउने गरेको भेटिन्छ । 

यसरी हेर्ने हो भने नेपालको धार्मिक तथा साँस्कृतिक विविधता झल्काउने होली पर्वमाख्रिष्टियन समुदायको सहभागिता नदेखिनुले ख्रिष्टियन समुदायले नेपालको साँस्कृतिक पहिचान नाश पार्दैछन् भन्ने आक्षेप एक समूहले लगाउने गरेको पाइन्छ । ख्रिष्टियन धार्मिक समुदाय एकेश्वरवादमा विश्वास राख्ने समुदाय हो । जसले धर्मशास्त्र बाइबल र बाइबलको परमेश्वरलाई मात्र विश्वास गर्छ । त्यसैले, अन्य देवी देवताको पूजा तथा त्यससँग सम्बन्धित कुनै पनि क्रियाकलापमा सहभागी हँुदैन । अबिर पनि प्रत्यक्ष रुपले हिन्दू देवीदेवताहरुसँग सम्बन्धित भएकाले आफूहरुले अबिरको प्रयोग गर्नु बाइबल तथा परमेश्वरको विरुद्धमा जानु हो भनि ठान्ने विश्वास छ । 

प्राध्यापक एनडी लामाका अनुसार ख्रिष्टियनहरुले कुनैपनि धार्मिक समुदायलाई अपहेलना नगर्ने तर सबैको आदर गर्ने बताउँछन् । तर हरेक धार्मिक समुदायको आफ्नै मुल्य र मान्यता हुन्छ, केही सिमा र परिधि हुन्छ । त्यो सिमा परिधिमा रही ख्रिष्टियन समुदायले सबै चाडपर्वमा सहभाग हुनी सक्ने धारणा राख्छन् ।  ‘हामीले होलीमा मात्रै होइन, हिन्दूहरुको दसंै, तिहारमा पनि टीका तथा अबिर लगाउदैनौँ । तर आत्मीयता र भाईचारा बाँड्नका लागि सहभागी हुन सक्छौँ,’ लामा भन्छन्, ‘सबै धर्मावलम्बीलाई आस्थाको स्वतन्त्रता छ, हामी सबै धार्मिक समुदायलाई सम्मान गर्छौ । सकिने र सहज लाग्ने ठाउँमा हामी सहभागी पनि हुन्छौँ । तर, हामीले आफ्नो आस्थाको अभ्यास गर्न पाउनुपर्छ । कसैलाई करकाप तथा जबरजस्ती गर्नु हुँदैन ।’ 

धार्मिक तथा आस्थाको स्वतन्त्रता 
मानवअधिकारसम्बन्धि विश्वव्यापी घोषणापत्र १९४८ को धारा ८ मा धार्मिक तथा आस्थाको स्वतन्त्रताको बारेमा स्पष्ट व्याख्या गरिएको छ । जसमा विशेषगरी हरेक व्यक्तिलाई आफूले रोजेको धर्म वा आस्थाअनुसार निजी तथा सार्वजनिक रुपमा पूजाआजा गर्न वा नगर्न स्वतन्त्रता रहेको स्पष्ट छ ।  सोहीबारे नागरिक तथा राजनीतिक अधिकारसम्बन्धि अन्तरराष्ट्रिय प्रतिज्ञापत्र १९६६ ले पनि झन् प्रस्ट पारेको छ । हरेक मानिसलाई उसको विचार, आस्था तथा धार्मिक स्वतन्त्रता छ । हरेकले आफूले चाहेको धर्म तथा आस्थाको अवलम्बन गर्न पाउँछ, मन नपरे छोड्न र अन्य धर्म रोज्न पाउँछ । यी सबै व्यक्तिको व्यैक्तिक स्वतन्त्रताको विषय हो । 

त्यस्तै,नेपालको संविधान २०७२ भाग–३ मौलिक हकको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको बारेमा व्याख्या गरेको पाइन्छ । अधिकांश अधिकारकर्मीका अनुसार उक्त धारामा लेखिएको उपधारा १ र २ ले अन्तरराष्ट्रिय कानुनलाई अनुशरण गरेको पाईन्छ ।  त्यसैले, कुनै एक धर्मको चाडपर्वमा अन्य धर्मावलम्बीको समान सहभागिता नरहनु कुनै आपत्तिजनक तथा साँस्कृतिक पहिचान नाश गरेको मान्न मिल्दैन  । 

धार्मिक सद्भाव कायम गर्नका लागि एक धार्मिक समुदायले अर्काे धार्मिक समुदायलाई आदर तथा सम्मान दिनुपर्छ, तथापि यो कुनै बाध्यकारी छैन ।  सबैलाई आफ्नो आस्थाअनुसार धार्मिक क्रियाकलाप गर्न छुट तथा स्वतन्त्रता हुनुपर्छ । अनिमात्र संविधान र मानवअधिकारको व्यवहारिक कार्यान्वयनको अनुभूति सबैले गर्नपाउँछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्द विश्वकर्मा
गोविन्द विश्वकर्मा
लेखकबाट थप