सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७८ को तयारी पूरा

सोमबार, २२ फागुन २०७९, १८ : ३५
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड २०७८ को तयारी पूरा भएको जनाएको छ । 

मञ्चको आयोजनामा हुँदै आएको यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा एक भव्य समारोहबीच सञ्चालन हुनेछ । मञ्चका कार्यवाहक अध्यक्ष निरञ्जन अधिकारीले अवार्डका लागि सम्पूर्ण तयारी भएको जानकारी दिए । 

‘हामीले यो अवार्डको लागि एक महिनाभन्दा अगाडिदेखि तयारी गरिरहेका छौं । त्यसैले एकदिन अगाडि समारोहका काम मात्र बाँकी थिए । आयोजना स्थललगायत केही काम पनि सोमबार नै सम्पन्न भएपछि हाम्रो तयारी पूरा भएको छ,’कार्यवाहक अध्यक्ष अधिकारीले भने । मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ ।

१९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । यस पटक अवार्डमा नयाँ प्रस्तुति थपिएकाले विशेष बन्ने विश्वास रहेको मञ्चका कार्यवाहक अध्यक्ष अधिकारीको विश्वास छ । 

‘चर्चित अन्तर्राष्ट्रिय अवार्ड सोहरू कान्स र ओस्कारमा जस्तै एनएसजेएफ पल्सर स्पोटर््स अवार्डमा पनि रेड कार्पेटको थालनी गर्दैछौं । अवार्डको मुख्य समारोहको एक घण्टा अगाडिदेखि नै मञ्चको फेसबुक र युट्युब च्यानलमा रेड कार्पेटको प्रत्यक्ष प्रसारण हुनेछ,’अधिकारीले भने, ‘त्यसबाहेक अन्य विशेष प्रस्तुत पनि यस पटकदेखि सुरु गरिएको छ ।’   

मञ्चले खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस वर्ष सम्मान गर्दै छ । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रम हुने दिन फागुन २३ गते नै घोषणा गरिनेछ । अन्य पाँच विधामा ५÷५ खेलाडी मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । जसअन्तर्गत पिपल्स च्वाइस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी छन् ।

ईसेवाको भोटिङ, फेसबुक लाइक, प्रमुख प्रशिक्षक र मञ्चका सदस्यको मतमार्पmत पिपल्स अवार्डको विजेता तय हुनेछ । यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् । 

यस्तै वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल छन् । वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी छन् ।

वर्ष प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् । विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन् । यस वर्षदेखि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । 

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, ई–सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल गु्रप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री रहेका छन् । सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप