सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नारी सङ्घर्षका कथाहरूको सँगालो

मङ्गलबार, २३ फागुन २०७९, ११ : २१
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । नारीमाथि हुने दुर्व्यवहारलाई मूल विषय बनाई लेखनमा सक्रिय रहेकी साहित्यकार शोभा ज्ञवालीको सङ्घर्ष कथा सङ्ग्रह हालै प्रकाशनमा आएको छ । महिला सशक्तीकरण गर्ने हो भने पहिले महिलालाई सीप प्रदान गर्नुपर्छ भन्दै आएकी ज्ञवालीको यो कथा सङ्ग्रहका कथाहरूमा पनि उनले त्यसैको वरिपरिका विषयलाई कथावस्तु बनाएकी छन् । यसअघि नै ‘सम्पूर्ण आकाश’ प्रकाशित गरिसकेकी उनको यो दोस्रो कथा सङ्ग्रह हो । 

यस कृतिको नाम पनि सङ्ग्रहको पहिलो कथा सङ्घर्षबाट राखिएको छ । पहिलो कथा सङ्घर्षमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनामा परेर आमाबुवा गुमाएका टुहुरा दिदी भाइको कथा छ । मुख्य गरी दिदी शुभले भोगेका घटना र सङ्घर्षमा केन्द्रित रहेर लेखिएको यस कथामा घरभित्र आफन्तहरूबाटै हुने बाल हिंसाका बारेमा केन्द्रित छ । 

“....तर यसबीचमा म धेरै पटक घरेलु हिंसाको सिकार पनि भए, जुन कुरा मैले किताबमा पढ्थे यसका विरुद्ध आवाज उठाउनुपर्छ भनेर  तर म १६ वर्षसमेत नपुगेकी एउटी केटी नै यस्तो हिंसा भोग्न बाध्य थिएँ” (पृ. ७) । 

कथाको मुख्य पात्र शुभले भोगेका यौन हिंसाका घटना र त्यस विरुद्ध स्थापित संस्थामा आबद्ध भई गरेका सङ्घर्ष र सम्मान नै यो कथाको मुख्य सार हो । 

कथामा नेपाली समाजमा रहेको छोराप्रतिको आशक्ति र छोरीप्रतिको वितृष्णालाई निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । ....“एक दिनको कुरा हो, ठुली आमा ठुलो बाबासँग भन्दै हुनुहुँदो रहेछ– बाबु त हाम्रै छोरीहरूसँग हुर्किन्छ, नानी शुभलाई चाहिँ मावलीमा पठाइदिऊँ ।” 

चार छोरीकी आमाले आफ्ना टुहुरा भतिजा भतिजीप्रति देखाएको यो व्यवहारले पुरुष प्रधानता र छोराप्रतिको आशक्तिलाई प्रस्टसँग चिरेको छ । 

प्रणय दिवस कथा सङ्ग्रहको दोस्रो कथा हो । यसमा गाउँबाट राजधानीमा आएकी एक छात्राको मनोदशाको चित्रण छ । 

कथाकी प्रमुख पात्र रक्षा सुरुमा सहरको कोलाहलदेखि निकै त्रसित भएकी र पछि उही अध्ययन गर्ने कलेजको छात्र आकाशसँगको प्रणय कथा छ । आकाशसँग प्रेम टुसाएपछि ऊ निकै सुरक्षित भएको र पछि अकास प्लेन दुर्घटनामा परेर अस्पतालमा १४ फेब्रुअरीमा गुलाफको फूल दिएपछि कथा टुङ्गिएको छ । 

यसै गरी पुष्पित बनुन् पुष्पाहरू, अनवरत अभिभारा, अन्तिम इच्छा, क्षणिक सामीप्ययता, नयाँ मोड, उपहार जिन्दगी, निरर्थक पर्खाइ, भुल, सङ्कल्प, दिदी, आमा, मायावी सान्निध्य, लुकाइएको प्रेमपत्र, लिभिङ टुगेदर, एक्लोपनको भ्रम, दृढ सङ्कल्प, सम्झौता, जिम्मेवारी बोध, चेलीको चाहना, जीवनसाथी, वसन्तको आगमन, सम्बन्धको महत्त्व, बुहारीको बिहे, विदुषीको प्रण गरी २४ वटा कथाहरू यस सङ्ग्रहमा समेटिएका छन् । 

यस कथा सङ्ग्रहका कथाहरूमा प्रमुख पात्रहरू सबै नारी छन् । अधिकांश त्यस्ता पात्रहरू ग्रामीण परिवेशबाट सहर आएका छन् । ती पात्रहरूले आधुनिक समाजमा भोगेका पीडा र सङ्घर्षहरूलाई कथा बनाइएको छ । यस कथासङ्ग्रहको अध्ययनबाट नेपाली समाजमा नारीलाई हेर्ने दृष्टिकोण  कहाँ छ भन्ने प्रस्टिन्छ । 

हरेक कथाका शीर्षक पृष्ठमा रङ्गिन स्केच राखेर आकर्षक बनाइएको यस कृतिको सुरुवात नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा, लिब्बा ब्रे, इरा ग्लासका कथासम्बन्धी परिभाषा उल्लेख गरिएको छ ।  रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित २६० पृष्ठको यो कृतिको मूल्य ४०० रुपियाँ राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप