मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तिलोत्तमा गोल्डकप चैत ४ देखि सञ्चालन हुने

मङ्गलबार, २३ फागुन २०७९, १२ : ३१
मङ्गलबार, २३ फागुन २०७९

रुपन्देही । कोभिड–१९ को कारण रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि सञ्चालन हुने भएको छ । २०७५ मा २१ औँ संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायत कारणले २२ औँ संस्करण हुन सकेको थिएन ।

रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनका अनुसार चैत ४ गतेदेखि शुरु प्रतियोगितामा देश विदेशका प्रख्यात फुटबल टिमहरूको प्रतिस्पर्धा हुने छ । २१ औँ संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो । २० औँ संस्करणको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार पाएको थियो ।

यसपटक पनि पुरस्कार राशी बढ्ने जिल्ला फुटबल संघले जनाएको छ । तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरु भएको प्रतियोगिताको २२ औँ संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा सञ्चालन भएको थियो ।

६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा सञ्चालन भए पनि पछिल्लो पटक ७२ सालमा सञ्चालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।

२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौँ, दशौँ र तेह्रौँमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौँ र छैटौँमा कालिका स्पोर्टिङ क्लब, सातौँ जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।

त्यस्तै, आठौँमा आरएनएसी, एघारौँमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौँ र सोह्रौँमा त्रिभुवन आर्मी क्लब, चौधौँ र अठारौँमा रुपन्देही ११, पन्ध्रौँमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औँ संस्करणको उपाधि सिएमसी संकटा क्लबले जितेका थिए । २० औँ तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौंले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप