आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनुप बरालको ‘यौटा सपनाको अवसान’ मञ्चन हुने

बिहीबार, २५ फागुन २०७९, ११ : १३
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । कलाकार तथा नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटक निर्देशन गर्ने भएका छन् । सामाजिक सञ्जालमा नाटकको पोस्टर सार्वजनिक गर्दै उनले  नाटकले खुसी छाडेर सुखको पछि लाग्ने चरित्रको कथा पेश गर्ने संकेत गरेका छन् । सार्वजनिक पोस्टरले टाउको निहुर्याएको चरित्रको हतास मनस्थितिलाई संकेत गरेको छ । निर्देशक बरालले पोस्टर सेयर गर्दै नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको बताए ।

‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतिकले नेपालीमा अनुवाद गरेका हुन् । नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २० औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा ७ सयभन्दा ज्यादा पटक मञ्चन भएको नाटक विश्वका धेरै देशमा मञ्चन भएको छ । 

नाटकमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदीभ श्रेष्ठ आदि कलाकारको अभिनय रहनेछ । चैत १० गतेदेखि सुरु भएर १ महिनासम्म चल्ने नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गर्नेछन् । गोविन्द पराजुलीले विगत १ महिनादेखि नाटकको रिहर्सल भइरहेको र हरेक कोणबाट भव्य नाटक दर्शकलाई सुम्पने अभिप्रायले काम भइरहेको बताएका छन् । 

‘भनिनु पर्ने कथालाई उस्तै भव्यताका साथ प्रस्तुत गर्ने हाम्रो प्रयास छ । नाटकले मनसँगै आँखालाई पनि सन्तुष्ट बनाउँछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।  अनुप बरालले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यंग्य गर्ने नाटक ‘महाभोज’ को निर्देशन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप