आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : मछिन्द्र आर्मीसँग पराजित

बिहीबार, २५ फागुन २०७९, १८ : २७
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । साबिक विजेता मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बिहीबार पराजित हुँदा राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार भोगेको छ । 

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्र त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० गोल अन्तरले पराजित भएको हो । यससँगै साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा लगातार दोस्रो हार व्यहोरेको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा आक्रामक खेल देखाउँदै बलियो टोली मछिन्द्रसँग अंक खोस्न सफल भएको हो । पहिलो हाफमा दुवै टोली केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न असफल भएका थिए ।

दोस्रो हाफको शुरुवाती तीन मिनेटमै आर्मीले अग्रता लिन सफल भएको हो । कर्नर बलमा दीपक गुरुङले हेडरमार्फत गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५९ औं मिनेटमा आर्मीले पेनाल्टीबाट अग्रता दोब्बर बनायो । 

पहिलो गोलकर्ता दीपकलाई विपक्षी खेलाडी छिरिङ गुरुङले लडाएपछि प्राप्त पेनाल्टी अवसरलाई नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए । अग्रता लिएसँगै हाबी भएको आर्मीले त्यसपछि पनि केही राम्रा अवसर खेर फाल्यो । ६२ औं मिनेटमा भरत खवासको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । बाँकी समयमा मछिन्द्रले खेलमा फर्किन प्रयास गरेपनि सफल हुनभने सकेन । 

७८ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अभिषेक गुरुङको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । इन्जुरी मिनेटमा अभिषेकको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए ।

योसँगै आर्मीले पहिलो जित हासिल गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । आर्मीले पहिलो खेल संकटासँग गोलरहित बराबरी खेलेको थियो । लगातार तीन पटक घरेलु लिगको उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्रका लागि भने लगातार दोस्रो खेलमा धक्का लागेको छ । यसअघि मछिन्द्र जावालाखेल युथ क्लवसँग ३–१ ले पराजित भएको थियो ।

लिग अन्तर्गत बिहीबार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लबले न्युरोड टिम (एनआरटी)लाई २–१ गोल अन्तरले स्तब्ध बनायो । यस जितसँगै जावलाखेलले दुई खेलमा ६ अंक जोड्दा एनआरटीले पनि लगातार दोस्रो हार भोगेको छ । 

यस खेलमा पनि दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल देखाएका थिए । सो क्रममा ६८ औँ  मिनेटमा कप्तान सिमान्त थापाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । 

अब्दुल अजिजको फ्रिकिकमा पेनाल्टी बक्समा क्लियर हुन नसकेको बललाई सिमन्तले नियन्त्रणमा लिँदै गोल गर्न सफल भएका थिए । विदेशी खेलाडी फोडे फोफानाले ७७ औँ मिनेटमा गोल गर्दै जावलाखेलको अग्रतालाई दोब्बर बनाएपछि ८० औं मिनेटमा  सञ्जिव बिष्टले  गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरे । बाँकी समयमा एनआरटी खेलमा फर्किन कोशिस गरेपनि सफल हुनसकेन र जावलाखेलले रोमाञ्चक जित निकाल्न सफल भयो । 

यससँगै एनआरटीले पनि लगातार दोस्रो हार भोगेको हो । यसअघि पहिलो खेलमा एनरआटी सातदोबाटो युथ क्लवसँग २–१ ले पराजित भएको थियो ।

लिगमा शुक्रवार पनि दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ भने दशरथ रंगशालामा साझ चर्च ब्वाईज युनाईटेड र हिमालयन शेर्पाबीच खेल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप