आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

लुम्बिनी प्रदेशका सहकारीमा बेथिति बढ्दै

शुक्रबार, २६ फागुन २०७९, ०६ : ५८
शुक्रबार, २६ फागुन २०७९

बुटवल । शिव शिखर सहकारीको बुटवल, जोगीकुटीस्थित कार्यालय अहिले बन्द छ । काठमाडौं मुख्य कार्यालय रहेको यो सहकारीले बुटवलमा सपिङ सेन्टरसमेत सञ्चालन गरेको थियो ।

दैनिक बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर उक्त सहकारीको कार्यालय बन्द गरिएको हो । अहिले स्थानीय बचतकर्ताहरु आफ्नो रकम डुब्ने चिन्तामा छन् ।

बुटवलमा रहेका सुप्रिम, आगन्तुक लगायतका सहकारी संस्थाका बचतकर्ताहरू अहिले रकम निकाल्न नपाएको गुनासो गरिरहेका छन् । यस्तै भैरहवामा रहेको अग्रमबग्रहम जडिबुडी सहकारीका अध्यक्ष पनि सम्पर्कविहीन छन् ।

बाँके जिल्लामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था संकटमा परेपछि छानबिन गर्दा सञ्चालक समिति र व्यवस्थापकबाट  आर्थिक अपचलन भएको तथ्य प्रकाशमा आएको छ ।

शिव शिखर सहकारीमा बचत गरेकी बुटवल, देवीनगरकी लक्ष्मी श्रेष्ठले आफ्नो १ लाख ३६ हजार रुपैयाँ जोखिममा परेको बताइन् । उनीजस्ता रकम जम्मा गरेर फिर्ता नपाएका बचतकर्ता थुप्रै छन् ।

सहकारी  पीडितहरु पनि कहाँ उजुरी गर्ने भन्नेमा अन्यौल छन् । सहकारीका  पीडितहरु कोही प्रहरी, कोही जिल्ला प्रशासन, कोही रजिस्ट्रार कार्यालयमा उजुरी गर्न जाने भएकाले कति सहकारीमा बेथिति छ भन्ने यकिन गर्न कठिन देखिन्छ ।

लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालित केही सहकारीमा समस्या देखिएकाले सरकारले कानुनी प्रक्रिया अगाडि बढाएको बताए । उनले आफूहरूकहाँ सहकारीबाट ठगिएको भन्दै निवेदन आउने क्रम जारी रहेको बताए ।

दाङको लमहीमा रहेको नागरिक बचत तथा ऋण सहकारी, देउखुरीमा रहेको महाप्रमुख बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको उनको भनाइ छ ।   

लुम्बिनी प्रदेशका सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले सहकारीमा सुशासन नहुँदा पछिल्ला दिनमा कसैले प्रदेश रजिष्ट्रार कार्यालय, कसैले जिल्ला प्रशासनतिर उजुरी दिन थालेको बताए । उनले आफूकहाँ अहिले करिब एक दर्जन जति उजुरी आएको जानकारी दिए ।

सहकारी  पीडितहरु पनि कहाँ उजुरी गर्ने भन्नेमा अन्यौल छन् । सहकारीका  पीडितहरु कोही प्रहरी, कोही जिल्ला प्रशासन, कोही रजिस्ट्रार कार्यालयमा उजुरी गर्न जाने भएकाले कति सहकारीमा बेथिति छ भन्ने यकिन गर्न कठिन देखिन्छ ।

लुम्बिनीमा ३ हजार ७५५ सहकारीले ४२ अर्ब लगानी, ६० अर्ब निक्षेप र ६ अर्ब सेयर पुँजीको कारोबार गरेको रेकर्ड सहकारी बोर्डमा छ । यो ०७७ सालको तथ्याङ्क हो । त्यस यताको तथ्याङ्क अझै अद्यावधिक भएको छैन ।

लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष पोखरेलले प्रदेशमा दर्ता नभएका तर कार्यक्षेत्र बनाएर सञ्चालनमा आएका केही सहकारीमा समस्या देखिएको बताए ।

उनले सञ्चालकहरूबाट अपचलन गरेको रिपोर्ट आएकाले नियामक निकायसँगको समन्वयमा गम्भीर अनुसन्धान सुरु भएको  रातोपाटीलाई बताए । आफूहरूले बाँके जिल्लाको नमस्ते सहकारीबारे आएको निवेदनलाई छानबिन गरेर अपचलन भएको रिपोर्ट पेस गरेको उल्लेख गर्दै उनले अहिले सम्पर्कविहीन रहेका अध्यक्ष र व्यवस्थापन पक्ष ऋण उजुरी समितिको सम्पर्कमा आएको जानकारी दिए ।

स्थानीयभन्दा आगन्तुक सहकारीमा धेरै जोखिम

यहाँ अहिले स्थानीय तह र प्रदेशमा दर्ता भएका सहकारीभन्दा पनि संघमा दर्ता भएर विभिन्न जिल्लामा शाखा कार्यालय सञ्चालन गरेका सहकारीमा धेरै समस्या देखिएको छ । भैरहवाको जडीबुटी सहकारी, शिव शिखर, सुप्रिम यस्तैमध्ये हुन् ।

बुटवल उपमहानगरपालिका अन्तर्गत सहकारी शाखा प्रमुख गुनाखर खनालले अहिले बुटवलमा समस्याग्रस्त देखिएका सहकारीहरू यहाँ दर्ता भएकाभन्दा पनि आगन्तुक बढी रहेको बताए । उनले उपमहानगरमा दर्ता भएका १३६ वटा सहकारीमा समस्या नभएको दाबी गरे । बुटवलमा २११ वटा सहकारी छन् ।

प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा भन्दा बाहिर दर्ता भएर आएका सहकारीमा समस्या देखिएको बताए । उनले अहिले बचतकर्ता नै सचेत बन्नुपर्ने अवस्था आएको प्रस्ट पारे ।

सहकारीको मूल सिद्धान्तभन्दा बाहिर रहेर व्यापारीकरणका लागि खोलिएका सहकारीमा समस्या देखिएको र त्यसप्रति समग्र सहकारी सचेत बन्नुपर्ने उनको भनाइ छ ।

प्रदेश सहकारी संघका अनुसार रुपन्देहीमा ०६४ मा स्वर्णिम सहकारीमा समस्या आएको थियो । अहिले रुपन्देहीको भलवारीमा रहेको कल्पवृक्ष, बुटवलमा रहेको शिव शिखर, सुप्रिम, आगन्तुकसहितका १० सहकारीमा समस्या आएको संघले जनाएको छ ।

सहकारीको संख्या अत्यधिक रहेको र नियमन गर्ने निकायमा कर्मचारी कम रहेका कारण पनि समयमै समस्या पहिचान गर्न समस्या भएको छ । यसकै फाइदा उठाउँदै कतिपय सहकारीले बचतकर्तालाई ठग्ने गरेका छन् ।

यसरी समस्यामा आएका सबै सहकारी अन्यत्र नै मुख्य कार्यालय रहेर यता शाखा कार्यालय खोलिएका हुन् ।

राष्ट्रिय सहकारी बैंक सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी सञ्चालनका लागि बाहिरबाट ऋण लिने र सर्वसाधारणबाट क्षमताभन्दा बढी रकम संकलन गरी उक्त रकम बाहिर लगानी गर्ने गरेको र पैसा नउठेपछि बचतकर्ताहरूलाई फिर्ता गर्न समस्या परेको  बताए ।

उनले समस्या देखिएका सहकारीहरुमा समाधानका लागि आफूहरुले पहल गरिरहेको बताउँछन् ।

सहकारीको संख्या अत्यधिक रहेको र नियमन गर्ने निकायमा कर्मचारी कम रहेका कारण पनि समयमै समस्या पहिचान गर्न समस्या भएको छ । यसकै फाइदा उठाउँदै कतिपय सहकारीले बचतकर्तालाई ठग्ने गरेका छन् ।

shiva shikhar

लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीका अनुसार प्रदेशमा रहेका ७७१ बचत तथा ऋण सहकारी संस्था नियमन गर्न प्रदेश सरकारको नियामक निकायसँग जम्मा ६ जना कर्मचारीमात्र छन् । नवलपरासीदेखि बर्दियासम्म तराईका जिल्लामा समस्यामा परेकामध्ये अधिकांश सहकारीले सहकारीसम्बन्धी कानुन उल्लंघन गरेर कारोबार गरेको पाइन्छ ।

तिवारीले पछिल्लो समय सहकारीमा समस्या देखिन थालेपछि इमेलबाट भए पनि निवेदन दिन आफूले बचतकर्तालाई आग्रह गरेको बताए । आफूहरूले अहिले एक सयभन्दा धेरै सहकारीको प्रत्यक्ष रूपमा अनुगमन गरेको र अझै अनुगमनको क्रम जारी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप