आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

नेता व्यवस्थापनमा पार्टीहरुको ध्यान, संसद छिर्ने दाउमा यादव र सिटौला

शुक्रबार, २६ फागुन २०७९, १६ : ०४
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनमा रहेका केही दललाई आफ्ना पार्टीका नेता व्यवस्थापन गर्ने अवसर जुराउने भएको छ । दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिमा प्रतिनिधि सभा सदस्यलाई उठाएर रिक्त स्थानमा अरू नेताको व्यवस्थापन गर्न बाटो खुलाएका हुन् ।

तत्काललाई तनहुँ १ र बारा २ मा दुई नेताको व्यवस्थापन गर्ने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तयारी देखिन्छ । त्यसपछि नेता कृष्ण सिटौला र शेखर कोइरालाको व्यवस्थापन गर्ने कांग्रेसको योजना छ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचन लडाउने गठबन्धनमा रहेका दलहरूको योजना छ ।

 नेविसंघका पूर्वअध्यक्ष समेत रहेका भट्टराई विगतमा अवसर नपाएकोमा नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । सत्ता गठबन्धनबीच पौडेल राष्ट्रपतिमा निर्वाचित गराउने र सो स्थानमा गठबन्धनकै सहयोगमा भट्टराईलाई प्रतिनिधि सभा सदस्यमा उठाउने आन्तरिक सहमति छ ।  

राष्ट्रपति पदमा फागुन २५ गते भएको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता पौडेल निर्वाचित भैसकेका छन् । मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट पौडेल २५ हजार ३ सय १८ मतसहित निर्वाचित भएका थिए ।

पौडेलले एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई करिब ५ हजार मतान्तरमा पराजित गरेका थिए । एमालेका रानाले १९ हजार ९ सय ४३ मत ल्याएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै उक्त स्थान खाली भैसकेको छ । त्यसैगरी उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने तयारी छ । यद्यपि निर्वाचन आयोगले महिला नै उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्नेसमेतको धारणा बाहिर ल्याएपछि केही अलमल भने देखिएको छ । तर, बिहीबार नै जसपाले कार्यकारीणी समितिको बैठकबाट यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोहीअनुसार बारा २ बाट निर्वाचित रामसहाय उपराष्ट्रपतिको उम्मेदवार भएमा सो स्थानमा समेत उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।

रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भए सो स्थानमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई चुनाव लडाउने सो पार्टीले तयारी नै थालिसकेको छ । गत मंसिरमा भएको निर्वाचनमा सप्तरी २ वाट अध्यक्ष यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) निर्वाचित भएका थिए ।

राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत मात्रै पाएका थिए । राउत र यादवबीचको मतान्तर  १८ हजार ६३ रहेको छ ।

यो निर्वाचनमा पराजित भएपछि यादवलाई धक्का लागेको राजनीतिक वृत्तमा टिप्पणी हुँदै आएको छ । एमालेसहितको गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेका यादव निर्वाचनमा पराजय भोगेपछि गठबन्धन बदल्दै कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध हुन पुगेका थिए । दलहरुबीच आठ दलीय समीकरण निर्माण गर्दा नै उपेन्द्रलाई संसद छिराउन नेताहरुबीच सहमति भएको थियो । सोही सहमति अनुसार रामसहायलाई उपराष्ट्रपतिमा उठाउने र उनको ठाउमा यादवलाई उठाएर संसद प्रवेश गराउने दलहरूको भनाइ छ ।

मंसिरको निर्वाचनमा रामसहाय नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । रामसहाय १३ हजार ८२३ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ । जसका लागि आयोगले फागुन २७ गते उम्मेदवारी दर्ताको समय तय गरेको छ । यादव र भट्टराईको मात्रै होइन राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि कांग्रेसका प्रभावशाली नेताहरू कृष्ण सिटौला र शेखर कोइरालाको समेत व्यवस्थापन गर्ने तयारी छ ।

कांग्रेस नेताहरूका अनुसार सिटौलालाई राष्ट्रिय सभा सदस्य र कोइरालालाई रोजेको मन्त्रालय दिने आन्तरिक सहमति भएको छ । त्यो सहमतिअनुसार उपराष्ट्रपति निर्वाचनपछि हुने मन्त्रिमण्डल हेरफेरमा कोइरालाले रोजेको मन्त्रालय पाउनेछन् भने आगामी फागुन अर्थात २०८० फागुनमा खाली हुने एक तिहाइ राष्ट्रिय सभा सदस्य पदमध्ये एक पदमा सिटौलालाई जिताउन सत्ता गठबन्धनमा सहमति भएको छ । राष्ट्रपतिका आकांक्षी समेत रहेका सिटौलाले सो पदमा मौका नपाएपछि  कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई राष्ट्रिय सभामा लैजाने वचन दिएका थिए ।

विगतमा पनि भएको थियो नेताको व्यवस्थापन

आम निर्वाचनमा पराजय भोगेका नेताहरूलाई व्यवस्थापन गर्ने अभ्यास विगतदेखि नै हुँदै आएको हो । विगतमा एमाले नेता माधवकुमार नेपाललाई निर्वाचन हार्दा पनि संविधानसभामा मनोनीत गर्नुका साथै प्रधानमन्त्री समेत बनाइएको थियो ।

तत्कालीन एमालेका महासचिव समेत रहेका माधव नेपाल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका झक्कुप्रसाद सुवेदीसँग पराजय भएका थिए । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ नम्बर बाट चुनावमा पराजय भोगे पनि २०६४ देखि २०६९ सालसम्म नेपाल संविधानसभा सदस्य मात्रै बनेनन् २०६७ देखि २०६९ सालसम्म देशकै सर्वोच्च पद प्रधानमन्त्री समेत बनेका थिए । नेपाल मात्रै होइन, तत्कालीन नेकपाका नेताहरू वामदेव गौतमदेखि हाल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसम्म चुनावमा पराजित भए पनि व्यवस्थापन गरेको नजिर रहेको छ । २०७४ को निर्वाचनमा गौतम प्युठान र श्रेष्ठ गोरखाबाट हार बेहोरेका थिए । तर हाल दुवै राष्ट्रिय सभा सदस्य छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप