सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रवासी नेपाली मन्च यूकेले मनायो ११३ औं नारी दिवस

शुक्रबार, २६ फागुन २०७९, २२ : २५
शुक्रबार, २६ फागुन २०७९

लण्डन । प्रवासी नेपाली मन्च (ओएनएफ) यूकेले  लण्डनको प्लमस्टिडमा एक विशेष कार्यक्रमको आयोजना गरि  ११३ औं अन्तर्राष्ट्रिय नारी  दिवस मनाएको छ ।  उक्त कार्यक्रमका वक्ताहरुले विश्वभर छरिएर रहेका नेपाली नारीलाई अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनु पर्नेमा जोड दिएका छन् ।

प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले दैनिक जीवनका चुनौतीहरुलाई पन्छाउदै नारी सशक्तिकरणका लागि लाग्नुपर्ने अवस्था रहेको बताइन् । उनले दैनिक जीवनमा आउने ठुला साना चुनौती सामना नगरी नारीले अधिकार प्राप्त गर्न मुस्किल पर्ने जनाइन् । 

खनालले आगामी वर्ष दूतावासले पनि नारी सशक्तिकरणका लागि यस्ता कार्यक्रम गर्ने प्रतिवद्धता समेत जनाइन् । ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले नारी सशक्तिकरणका लागि आफ्नो र संस्थाको तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता जनाए । उनले अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी भएका महिलाहरुको उपस्थितिले कार्यक्रम सफल भएको भन्दै खुसी व्यक्त गरे ।

प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटी सदस्य कल्पना त्रिपाठीले नारी हिंसा नेपालमा मात्र नभएर बेलायतमा पनि भएको तथ्यांक प्रस्तुत गरिन् । उनले नारी हिंसाविरुद्ध एउटै आवाजको खांचो रहेको पनि बताइन् । अन्तरराष्ट्रिय कमिटी सदस्य सरस्वती केसीले नारी सशक्तिकरण र राजनीतिमा नारी सहभागितामा जोड दिइन् ।

ओएनएफ यूके महिला विभागको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको अध्यक्षता सुदेशा बजगाईले गरेकी थिइन् । उक्त कार्यक्रम सञ्चालन भने सामाजिक अभियन्ता सरिता शर्माले गरेकी थिइन् । कार्यक्रममा कविता र गायन समेत प्रस्तुत गरिएको थियो ।

यसैबीच, पहिलो चरणको औपचारिक कार्यक्रम समापनपछि नाचगानसहित माहोल थप आकर्षक बनाइएको थियो । प्रविधिमा ओएनएफ यूकेका सदस्य केदार थपलियाले सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा ओएनएफ अन्तरराष्ट्रिय कमिटी तथा राष्ट्रिय कमिटीका नेताहरु दिनेश घिमिरे, कर्ण शाही, विनोद ज्ञवाली, पुन्य रेग्मी, बालकृष्ण भुसाल, अर्कराज तिमल्सिना, श्याम लुइँटेल, तिलक भट्टराई, पंकजलगायतको उपस्थिति थियो । त्यस्तै, दक्षिण पूर्वी लण्डनका विभिन्न संघसंस्थाहरुमा नेतृत्वदावी भूमिका निर्वाह गरेका महिला पनि सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप