मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ओहो ! नेपाली नोटमा कति धेरै गल्ती

बुधबार, १६ फागुन २०७४, १३ : ३६
बुधबार, १६ फागुन २०७४

भारत सरकारले सार्वजनिक गरेको दुई हजार रुपियाँमा नेपाली भाषाको प्रयोग गरिएको छ । सो रुपियाँमा १५ भाषामा दुई हजार रुपियाँ उल्लेख छ । त्यसमध्ये नेपालीमा समेत ‘दुई हजार रुपियाँ’ शुद्ध लेखिएको पाइन्छ । तर, नेपाली रुपियाँमा भने गल्ती नै गल्ती भेटिन्छन् ।

श्री
नेपाल राष्ट्र बैंक
नेपाल सरकारको जमानत प्राप्त
यसको रुपैयाँ भुक्तानी माग्न आएमा
नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० (प्रत्येक नोटमा रुपियाँअनुसार अंक उल्लेख)
रुपैयाँ एक हजार 
तुरुन्त पाइने छ

प्रत्येक नेपाली रुपियाँको अघिल्लोपट्टि बीचभागमा यही व्यहोरा उल्लेख छ । तर, कतै भुक्तान छ भने कतै भुक्तानी लेखिएको पाइन्छ । ‘भुक्तानी शब्द नाम हो । यो हिन्दी शब्द हो । चल्न त भुक्तान र भुक्तानी दुवै चल्छ,’ भाषाशास्त्री डा. माधव पोखरेलले भने, ‘तर, नेपाल राष्ट्र बैंक र नेपाल सरकारको जमानत प्राप्तदेखि रुपैयाँ भुक्तानी माग्न आएमा बीचमा स्पेस छोडे हुन्थ्यो । नत्र नेपाल राष्ट्र बैंक र नेपाल सरकारको जमानत प्राप्त मात्रै उल्लेख गरे शुद्ध हुन्थ्यो । यसमा भाषा मिलेको छैन । प्रायः सर्वनाममा विशेषण लगाइँदैन । यसको भाषा स्वाभाविक नेपाली छैन ।’ 

नेपाल होइन, नेपाली राष्ट्र बैंक शुद्ध हुन्छ भन्नेहरू पनि नभएका होइनन् । भुक्तानी लेख्दा श्रुतिमाधुर्य हुन्छ भनेर तर्क गर्नेहरूसमेत छँदै छन् । तर्क गर्ने नै हो भने भुक्तानी माग्न आउँदा पाइनेछ नभएर दिइनेछ हुन्छ । भविष्यतकालमा नेछ जोडिन्छ । त्यसो हो भने कतिपय रुपियाँमा नेछ जोडिएको छैन । पाइने छ उल्लेख छ । ‘दिनेले दियो, पाउनेले पायो होला,’ उनले भने, ‘त्यत्रो टिप्पणी नगरे पनि हुन्छ कि ? पहाड खन्दा एउटा मुसामात्रै निस्कन्छ । नेपाली हिज्जेबारे धेरै बोल्न मन छैन ।’

रुपियाँ र रुपैयाँ कुन शुद्ध होला ? नेपाली वृहत् शब्दकोश २०५० पुस १४ (दोस्रो संस्करण) अनुसार रुपियाँ र रुपैयाँ दुवैलाई शुद्ध मानेको छ । ‘रुपैयाँ हिन्दीको प्रभाव हो,’ उनको भनाइ छ, ‘हामी रुपियाँ नै भन्छौं ।’ गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ र कुलशेखर शर्माको हस्ताक्षर भएको रुपियाँमा रुपैयाँ पनि नभएर रूपैयाँ उल्लेख छ । 

यसैगरी, गभर्नर श्रेष्ठ र शर्माको हस्ताक्षर भएको रुपियाँमा तुरन्त उल्लेख छ भने पाइने छ जोडिएको छैन । ‘हिन्दी शब्दको नजिक पार्न तुरन्त लेखे होलान्,’ भाषाशास्त्री पोखरेलले सुनाए, ‘नेपालीले तुरुन्त नै भन्छन् । म पनि त्यसै भन्छु ।’

वाक्य सकिएपछि पूर्णविराम भएन भने शुद्ध मानिदैन । डा. चिरञ्जीवी नेपाल गभर्नर भएपछि सार्वजनिक रुपियाँमा पाइने छ छुट्याएर पूर्णविराम दिइएको छ भने त्यसअघिका कुनै पनि रुपियाँमा पूर्णविराम छैन । 
अंकवाचक शब्द दीर्घ लेख्ने मान्यता छ । तर, दुई रुपियाँमा इ ह्रस्व लेखिएको छ । ‘नेपालीमा संख्यावाचक शब्दको अन्त्यमा दीर्घ हुन्छ भन्ने नियम बनाइएको छ । त्यही भएर दुई दीर्घ लेखिन्छ,’ उनी प्रश्न गर्छन्, ‘संख्यावाचकको सबैतिर दीर्घ लेख्ने भनिए पनि उन्नाइसको इ कहिल्यै दीर्घ लेखिएन । संस्कृतमा इ ह्रस्व हुन्छ । तर, दुइ संस्कृत शब्द पनि होइन । यसलाई दुई नै लेख्नुपर्छ ।’ तर, गभर्नर कल्याणविक्रम अधिकारी र सत्यन्द्रप्यारा श्रेष्ठको हस्ताक्षर भएको दुई रुपियाँमा इ ह्रस्व लेखिएको छ । 

डा. नेपाल गभर्नर भएपछि सार्वजनिक बीस रुपियाँमा बिस ह्रस्व लेखिएको पाइन्छ । नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) २०६९ अनुसार बिस ह्रस्व लेखिएको हो । प्रज्ञाप्रतिष्ठानले २०६७ मा गोष्ठी गरेपछि शब्दकोशमा समेत बिस ह्रस्व लेख्न थालेको हो । तर, शब्दकोश प्रकाशनमा आए पनि रद्द गरिएको थियो । त्यसअघिका बीस रुपियाँमा बीस दीर्घ उल्लेख छ । 
संस्कृतका शब्द संस्कृतकै जस्तो लेख्ने भन्ने नियम छ । त्यसअनुसार दश तालव्य हुन्छ । तर, कतिपयको भनाइ छ, ‘आगन्तुक, तद्भव र झर्रा नेपाली शब्द लेख्दा स दन्त्य नै लेखिनुपर्छ । दस तद्भव शब्द भएकाले १० रुपियाँमा दस लेख्नुपर्छ ।’ 

पुष्करशमशेरले नेपाली कसरी शुद्ध लेख्ने १९८२ मा लेखेका छन्, ‘तर, धेरै प्रचलित भएर नेपालीजस्तै भई व्यवहारमा आएकालाई दन्त्य स लेखे पनि हुन्छ ।’ 

गल्ती खुट्याउँदै जाँदा गणेशबहादुर थापाको हस्ताक्षर रहेको पाँच सय रुपियाँमा सयको श तालव्य र सत्येन्द्रप्यारा श्रेष्ठको हस्ताक्षर भएको दुई सय पचास रुपियाँमा समेत सयको श तालव्य उल्लेख छ । शय तालव्य नभएर दन्त्य हुन्छ । नेपाली वृहत् शब्दकोशमा समेत सय दन्त्य नै उल्लेख छ । पोखरेलका अनुसार संवत् ०४० को वृहत् शब्दकोशपछि शय लेख्न छाडिएको हो । 

नेपालीमा हिज्जेको नियम बनाउनेबीच जुँगाको लडाइँ हुँदा चौतर्फी असर परेको छ । त्यसो भएपछि कुन सही कुन गलत भनेर छुट्याउन अप्ठ्यारो परेको हो । भाषीशास्त्री डा. माधव पोखरेल सुझाउँछन्, ‘नेपाली वृहत् शब्दकोश २०४० लाई मान्ने हो भने समस्या हुँदैन । हिज्जे न व्याकरणको विषय हो न भाषाविज्ञानको । यो जुँगाको लडाइँ गर्ने माध्यम बनेको छ । नेकशुले २०६७ मान्न थाल्यो भने झगडामात्रै हुन्छ ।’ 

नेपाली कसरी शुद्ध लेख्ने ? १९९२ ताका जुद्धशमशेरको शासन थियो । जुद्धशमशेरले नेकशुलेअनुसार गर्ने भनेपछि दायाँबायाँ गरेमा कारबाही हुन्थ्यो । ०४० मा नेपाली वृहत् शब्दकोश निकाल्दा पञ्चायती व्यवस्था बलियो थियो । त्यहीअनुसार लागू भयो । 

‘अहिले केन्द्रीय सरकार बलियो छैन । उसले भनेको कसले मान्ने ? यतिबेला केन्द्र नै हराएको छ,’ डा. पोखरेलको बुझाइ छ, ‘केन्द्र हराए पनि शिक्षा मन्त्रालय, प्रज्ञाप्रतिष्ठान र त्रिवि नेपाली केन्द्रीय विभाग छन् । तर, उसले भनेको कसले मान्ने । केन्द्रीय सरकार बलियो भयो भने कारबाही गर्लान्  भनेर मान्नुपर्ने बाध्यता हुन्थ्यो । केन्द्रीय सरकार दुब्लो भएपछि हिज्जेमा भाँडभैलो हुने नै भयो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप