आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

संक्रमणबाट जोगिन के गर्ने ?
आइतबार, २८ फागुन २०७९, १६ : २६
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । मौसम परिर्वतन भएसँगै रुघाखोकीका बिरामी बढ्न थालेका छन् । रुघाखोकीलाई सामान्य ठानेर उपचार नगरेको खण्डमा ‘एचथ्रीएन टु इन्फ्लुएन्जा’ अर्थात् हङ्कङ फ्लु पनि हुन सक्छ । रुघाखोकी सामान्य नभएर इन्फ्लुएन्जा ‘ए’ भाइरसको एचथ्रीएन स्ट्रङ हुनसक्ने सरुवा रोग विशेषज्ञले बताउँछन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुँदा कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने बताए ।
यो समयमा लाग्ने रुघाखोकी मौसमी फ्लु मात्रै नभए एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुन सक्ने उनको भनाइ छ । 

उता भारतको नयाँ दिल्लीका चिकित्सकले एचथ्रीएन टु इन्फ्लुएन्जालाई कोरोना भाइसर कोभिड–१९ जस्तै फैलिन सक्ने चेतावनी दिएका छन् । त्यति मात्रै होइन भारतको  केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार स्वास्थ्य विज्ञहरूसँग एचथ्रीएन टु इन्फ्लुएन्जाबारे सम्बन्धित निकायसँग छलफलसमेत गरेको थियो ।
सो छलफलमा विज्ञ समूहले देशमा कोरोना भाइरस सङ्क्रमण कम भए पनि इन्फ्लुएन्जाका केसहरू बढिरहेको बताएका थिए । उनीहरूले प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई इन्फ्लुएन्जा खतरनाक हुनसक्नेसमेत चेतावनी दिएका थिए । 
पछिल्लो दुई महिनामा भारतको राजधानी नयाँ दिल्लीसहितका अन्य क्षेत्रमा इन्फ्लुएन्जाका बिरामी बढेको चिकित्सकहरूले बताएका छन् । 

यद्यपि नेपालमा कोरोना भाइरस कोभिड–१९ विरुद्धका बिरामी शून्य हुँदा इन्फ्लुएन्जका बिरामी घरमै सीमित हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यो मौसममा हङ्कङ फ्लु अर्थात् एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुँदा बेवास्ता गरेको खण्डमा स्वास्थ्यमा जटिलता आउने डा. पुन बताउँछन् । यदि सावधानी नअपनाएको खण्डमा स्वास्थ्यमा गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्ने  उनले सुनाए ।

यो मौसममा हङ्कङ फ्लु, स्वाइन फ्लुलगायतका विभिन्न किसिमका फ्लु देखिने भएकाले सजग हुन उनको सुझाव छ । डा. पुनका अनुसार फ्लुको इन्फ्लुएन्जा भाइरस ए, बी, सी र डी हुन्छ । जसमध्ये ‘ए’ र ‘बी’ विभिन्न सिजनमा देखिने उनले बताए । इन्फ्लुएन्जा ए भाइरसको एचथ्रीएन  सङ्क्रमण कोभिड–१९ हुँदाजस्तै लक्षण देखिएने उनले बताए । यस भाइरसले दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति र बालबालिका चाँडो सङ्क्रमण हुने भएकाले सचेत रहन उनले आग्रह गरे ।  
एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण भई अस्पतालमा बिरामी कम आउने गरेको उनले बताए । 

उनले भने, ‘थाहा नपाएर यो भाइरस सङ्क्रमित कम आउने गर्छन् । मौसमी रुघाखोकी सम्झिएर घरमै बस्नुहुन्छ । यदि ख्याल गरिएन भने स्वास्थ्यमा धेरै खालका समस्या उत्पन्न गराउँछ ।’ वृद्धवृद्धा, दीर्घरोगीलाई एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण भएमा स्वास्थ्यमा बढी समस्या उत्पन्न हुनसक्ने चिकित्सक बताउँछन् ।

यद्यपि नेपालमा बर्सेनि यो भाइरसबाट सङ्क्रमित बिरामी कति अस्पतालमा पुग्छन् भन्ने यकिन तथ्याङ्क छैन । उता भारतको मेदान्ता अस्पतालका प्राइमस स्लिप एन्ड क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख एस.के. छाबडाका अनुसार बिरामीहरूलाई भाइरल ज्वरोको साथै रुघाखोकी र ब्रोन्काइटिसजस्ता फोक्सोसँग सम्बन्धित समस्या देखिएको बताएका छन् ।

तसर्थ रोगप्रतिरोधी क्षमता कमजोर हुने व्यक्तिका लागि इन्फ्लुएन्जा खतरनाक हुनसक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुँदा के हुन्छ ?
–दुईदेखि तीन दिनसम्म ज्वरो आउने । 
–शरीर दुख्ने । 
–टाउको दुख्ने । 
–घाँटी दुख्ने
–घाँटी पोल्ने 
–पखाला लाग्ने
–थकाइ लाग्ने
–खोकी दुई हप्तासम्म लाग्न सक्छ । त्यस्तो अवस्थालाई सामान्य मानिन्छ । 
यस्ता लक्षण देखिएमा  जमघट, भेटघाट हुने स्थानमा जानु हुँदैन । सङ्क्रमितले हात मिलाउँदा, अँगालो मार्दा, सङ्क्रमितले प्रयोग गरेका रुमाल फोन आदि चलाउँदा पनि एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुनसक्छ । 

यसबाट जोगिन के गर्ने ?
–बिरामी छुट्टै कोठामा बस्ने ।
–नियमित हातको सरसफाइ गर्ने ।
–लक्षण देखिएका बिरामीले मस्कको प्रयोग गर्ने ।
–तातोपानीको वाफ लिने ।
–झोलिलो पदार्थ खाने ।
–स्तनपान गरिरहेका बालबालिकालाई बढी स्तनपान गराउने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप