आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नाटू–नाटू : ओस्कार जितेर इतिहास रचेको भारतीय गीतको पूरा कहानी

सोमबार, २९ फागुन २०७९, ०९ : ५३
सोमबार, २९ फागुन २०७९

तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटू–नाटू’ ले ९५ औँ एकेडेमी अवार्ड्समा ‘ओरिजिनल सङ’ को श्रेणीमा  ओस्कार अवार्ड पाएको छ ।

एकेडेमीले आधिकारिक ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा यो जानकारी दिएको हो । यसअघि ‘नाटू–नाटू’ ले बेस्ट ओरिजिनल सङको गोल्डन ग्लोब अवार्ड जितेको थियो । 

‘नाटू–नाटू’ (हिन्दीमा नाचो–नाचो) गीतले एनटीआर–रामचरणको डान्स र एस.एस. राजामौलीका कारण नयाँ उडान पाएको छ ।

आखिर यो गीत कसरी बन्यो ? यो गीतलाई पर्दामा ल्याउनुअघि चलचित्रका निर्देशक एस.एस. राजामौली, संगीत निर्देशक कीरावानी र गीतकार चन्द्रबोसको दिमागमा के चलिरहेको थियो ?

natu natu

ओरिजिनल सङ श्रेणीको अर्थ के हो ?

‘नाटू–नाटू’ गीत कहाँबाट आयो, यो जान्नु अघि यो थाहा पाउनुहोस् कि ‘ओरिजिनल सङ’ श्रेणीको अर्थ के हो ?

कुनै फिल्मका लागि दुनियाँको कुनै पनि भाषामा प्रयोग गरिएको गीत यदि पहिला भएका कुनै पनि गीतको नक्कल होइन भने यो ‘ओरिजिनल’ हो ।

यसको अर्थ त्यो गीतमा अघिल्लो कुनै पनि गीत, धुन, विषयवस्तु वा अर्थको प्रभाव हुनुहुँदैन भन्ने पनि हो ।

यस विधामा ८१ गीतले प्रवेश पाएका छन् । तीमध्ये १५ वटा उन्नत वर्गमा छन् । ‘नाटू–नाटू’ पनि यसमा समावेश छ । यहाँ यसको प्रतिस्पर्धा ‘अवतार ः द वे अफ वाटर’ फिल्मको गीत ‘नथिङ इज लास्ट (यु गिभ मी स्ट्रेन्थ)’ सँग भइरहेको छ ।  

natu natu1

यो गीत कहाँबाट आयो ?

‘नाटू–नाटू’ शब्दबाटै प्रष्ट हुन्छ कि यो एक ‘जनताको गीत’ हो ।

एस.एस राजामौलीको दिमागमा यो थियो कि ‘एनटीआर जुनियर र राम चरण दुबै तेलुगु फिल्म उद्योगका उत्कृष्ट नर्तक हुन् । दुवैले आ–आफ्नो तरिकाले धेरै पटक आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । यदी दुबैलाई सँगै डान्स गरेको देखाइयो भने राम्रो होला । उनीहरुको सँगै प्रस्तुति देख्दा दर्शकले आनन्द महसुस गर्नेछन् र त्यो एक नयाँ उचाईको हुनसक्छ ।’

राजामौलीले फिल्मको संगीतकार कीरावानीसँग आफ्नो विचार साझा गरे ।

यसबारे बीबीसीसँग कुरा गर्दै किरावाणीले भने, ‘राजामौलीले मलाई भने, दाइ, मलाई एउटा यस्तो गीत चाहिएको छ जसमा दुवै नर्तकहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दै नाचुन् । ’

किरावानीले गीत लेख्नको लागि वर्तमान युगका तेलुगु फिल्म गीतकारहरूाध्ये आफूलाई मनपर्ने गीतकार चन्द्रबोसलाई छनोट गरे ।

किरावानीले बोसलाई भने, ‘गीत यस्तो हुनुपर्छ कि दुवै मुख्य कलाकारले यसमा आफ्नो नृत्य गरेर जोश र उत्साह पैदा गरून् । तपाईंले जसरी चाहनुहुन्छ त्यसै गरी लेख्न सक्नुहुन्छ । तर ध्यान दिनुहोस् कि यो फिल्म सन् १९२० मा हुने घटनाको वरिपरि घुम्छ । त्यसैले शब्द चयन गर्दा तत्कालीन समयलाई ख्यालमा भने राख्नुहोस् ।’

natu natu2

गीत कसरी तयार भयो ?

राजामौली, कीरावानी र चन्द्रबोसले १७ जनवरी २०२० देखि यस गीतमा काम गर्न थालेका थिए । हैदराबादको आल्मुनियम कारखानामा रहेको ‘आरआरआर’ को कार्यालयबाट काम सुरु भएको हो ।

चन्द्रबोस आफ्नो कारमा बस्ने बित्तिकै राजामौली र कीरावनीको निर्देशन उनको दिमागमा घुम्न थाल्यो ।  कार आल्मुनियम कारखानाबाट जुबली हिल्सतर्फ दौडिरहेको थियो । उनको हात स्टेयरिङ ह्वीलमा थियो, तर उनको दिमाग गीतमा थियो । त्यसैले उनको मनमा ‘नाटू–नाटू’ गीतको हुक लाइन बज्यो ।

यस्तो धुन अहिलेसम्म बनेको थिएन । उनले यसलाई भिन्न गतिको बनाउन सुरु गरे । आखिर यो गति के थियो ?

चन्द्र बोसले बीबीसीलाई भने, ‘यो किरावानीको मनपर्ने ढाँचा भएकोले, मैले त्यसको सहारा लिनु उचित ठानेँ ।’

२५ वर्षअघि किरावानीले चन्द्रबोसलाई सल्लाह दिएका थिए, ‘कुनै पनि गीत जसले मानिसलाई जोस भर्नु छ, त्यसलाई यो गतिमा बुन्नुहोस् ।’

नाटू–नाटू एउटा यस्तो गीत हो जसमा शीर्ष अभिनेता आफ्नो नृत्य कौशल देखाउँछन् । त्यसैले चन्द्र बोसले यसलाई यो गतिमा बनाए । दुई दिनमा उनले गीतका तीनवटा ‘मुखडा’ बनाए र त्यसपछि किरवानीलाई भेटे ।

उनले आफूलाई मनपरेको छन्द अन्तिममा सुनाए । त्यसपछि अर्को दुई छन्द सुनाए ।


किरवानीलाई पनि चन्द्रबोसका यी मनपर्ने ‘मुखडा’ मन पर्यो र यसरी यो गीत फाइनल भयो ।

गीत यस प्रकार बन्यो –

पोलमगट्टु धुम्मुलोना पोटलागिट्टा धुकीनट्टु

पोलेरम्मा जातारालो पोथाराजु ओगिनट्टु

किरुसेप्पुलु एसिकोनी करासामु सेसिनट्टु

मारिसेट्टु निदालोना कुरागुम्पु कोडिनट्टु

दुई दिनमा गीतको ९० प्रतिशत काम सकियो ।

तर, यताउती परिवर्तन र सम्पादन पछि यो गीतलाई फाइनल गर्न १९ महिना लाग्यो ।

यस अवधिमा चन्द्रबोस र किरावानीले यो सम्पूर्ण गीतको बारेमा सर–सल्लाह गरिरहे ।

 

natu natu3

सामाजिक र आर्थिक अवस्थाको चित्र

फिल्ममा भीम (जुनियर एनटीआर) को क्यारेक्टर तेलंगानाको हो भने राम (राम चरण) को आन्ध्र प्रदेशको हो । त्यसैले गीतमा दुवै क्षेत्रमा १९२० को दशकका भाषाका शब्दहरू समेटिएका छन् ।

उदाहरणका लागि, ‘मिरापा टोकु’ (पिनेको रातो खुर्सानी) ‘दुमुकुल्लादतम’ ‘माथि–तल गर्दै दौडनु) । यी शब्दहरू तेलंगानामा धेरै सामान्य छन् ।

त्यस समयमा तेलंगानामा ज्वार मुख्य खाना हुन्थ्यो । यसलाई पिसेको रातो खुर्सानीसँग खाने गरिन्थ्यो ।

चन्द्रबोसको नजरमा, गीत त्यही हो जहाँ शब्द विलिन हुन्छन् र त्यसपछि त्यसमा दृश्यहरुको कब्जा हुन्छ । यो गीत यस मापदण्डमा एकदम फिट छ ।

तेलुगुमा धेरै लोककथाहरू छन् । यसको चरित्रको पनि गीतमा सहारा लिइएको छ ।

यो गीत कालभैरव र राहुल सिपलीगन्जले गाएका हुन् ।

s.s rajamouli

युक्रेनमा छायांकन

‘नाटू –नाटू’ गीतले एनटीआर र रामचरण दुवैको नृत्य क्षमताको परिक्षण लिएको छ । कोरियोग्राफर प्रेम रक्षितले यो गीतमा करिब ९५ स्टेप कम्पोज गरेका छन् ।

सिग्नेचर स्टेपका लागि उनले यसका ३० संस्करणहरू तयार गरे । विशेष गरी त्यो दृश्यमा जसमा एनटीआर र रामचरण हात समातेर नाचिरहेका छन् ।

यस फिल्मको युनिटले एक अन्तरवार्तामा यस विशेष स्टेपका लागि १८ टेक आवश्यक भएको बताए । यद्यपि, युनिटका अनुसार एडिटिङका बेला दोस्रो टेकलाई फाइनल गरिएको थियो ।

गीत युक्रेनको राष्ट्रपति भवनको पृष्ठभूमिमा खिचिएको थियो ।

यहाँ फिल्मको सुटिङका ​​क्रममा राजामौली र कीरावानीले गीतको अन्तिम श्लोक परिवर्तन गर्ने निर्णय गरे ।

चन्द्रबोस त्यतिबेला फिल्म ‘पुष्पा’ को सेटमा व्यस्त थिए ।

त्यसैले उनीसँग कन्फरेन्स कलमा कुराकानी भयो । राजामौली र किरावानीले उनीसँग अन्तिम छन्दमा परिवर्तन गर्न भने ।

आखिर, गीत पूरा गर्न १९ महिना लाग्यो । अन्तिम श्लोक १५ मिनेटमा परिवर्तन भयो ।

त्यसपछि फेरिएको गीत रेकर्ड गरी सुट भयो ।

नाटू–नाटू गीतले एनटीआर र रामचरणको नृत्य प्रतिभा मात्र देखाउँदैन यसले  भीम र रामको मित्रताका धेरै पक्षहरूलाई पनि अगाडि ल्याउँछ । यसले भीमको लागि रामको बलिदानको कथा बताउँछ । यसले बताउँछ कि कसरी तेलुगु जनताले ब्रिटिशको आदेश पालन गर्न अस्वीकार गरे । भीमले माया गर्ने नारीको मन कसरी जितेका थिए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप