सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ कलाकारको होली योजना

बुधबार, १६ फागुन २०७४, १७ : २९
बुधबार, १६ फागुन २०७४


काठमाडौँ – होली अर्थात् रङ्गहरुको पर्व । फागुन पूर्णिमाको दिन मनाइने यो पर्वमा विभिन्न मिडिया हाउसदेखि घरानिया परिवारलेसमेत होली विषेश कार्यक्रम राख्ने गर्दछन् । जसमा सेलिब्रेटीदेखि नेतासम्मलाई निम्त्याइने  गरिन्छ । यो दिन कतिपय सेलिब्रेटीलाई बिहानैदेखि होली कार्यक्रमले भ्याईनभ्याइ हुने गरेको छ भने कतिपयले आफै होलीका कार्यक्रम समेत राख्ने गरेका छन् । कतिपय कलाकार निम्त्याइएका कार्यक्रममा नै होली मनाउने योजनामा छन् । जे जस्तो भएपनि सेलिब्रेटीको होली योजना भने आ–आफ्नै छन् । सेलिब्रेटीका होली योजना उनकै शब्दमा :

करिस्मा मानन्धर (अभिनेत्री)  
होली प्रत्येक बर्ष मेरा लागि बिषेश हुने गरेको छ । हरेक बर्षझै यसबर्ष पनि होली विषेश कार्यक्रम राखेकी छु । १२ बजेदेखि ४ बजेसम्म घरमै होली बिषेश राखिएको छ । नेता, कलाकार, पत्रकार सबैलाई होलीको निम्तो दिएकी छु । राम्रै जमघट हुन्छ होला । श्रीमान् बिनोदजी को जन्मदिन प्रत्येक बर्ष यसै दिन सेलिब्रेट गर्ने गरेकी छु । बर्षभरीका दुःख आज सबैसँग रङ्गसँग रङ्ग मिसाउँदै साट्नेछु । 

निर्मल शर्मा ‘गैडा’ (कलाकार)
हिन्दुहरुको प्रमुख चाँड मानिन्छ होली । फागुनमा पर्ने पूर्णिमाको दिन मनाइने यो पर्व रङ्गहरुको पर्व हो । यो दिन एकअर्कामाथि विभिन्न रङ्गको बर्षा गर्ने गरिन्छ । साना नानीदेखि बृद्धबृद्धासम्म रङ्गमा रमाउने गर्छन् यो दिनमा । युवा–युवतीले गीत गाउँदै नाच्दै होली विषेश बनाउने गरेका छन् । म पनि यसपालीको होली धुमधामसँग मनाउने तरखरमा छु । यो होलीमा फागु खेल्नकै लागि २–३ वटा टिभी, रेडियो र अभिनेत्री करिश्मा मानन्धरबाट निम्तो आएको छ । जान्छु र रमाइलो गर्छु ।

सञ्चिता लुइँटेल (अभिनेत्री)
मेरो मनपर्ने चाँड होली हो । यो विशेष पनि लाग्छ । रङ्गहरु खेल्दै रमाइलो गर्ने यो दिन घरमा ८ बजेदेखि ११ बजेसम्म होलीको कार्यक्रम राखेकी छु । स्कूल, कलेजका साथीहरु र छिमेकीलाई पनि निम्त्याएकी छु । टिभी फिल्मी, करिस्मा दिदी लगायत धेरै ठाउँबाट होलीका लागि निम्ता आएको छ । घरमा होली सकिएपछि भ्याएसम्म सबै तिर जान्छु । होलीले खुसी हुने, भेटघाट गर्ने, माया साट्ने र रमाइलो गर्ने अवसर दिलाउँछ । 

दीपाश्री निरौला (अभिनेत्री–निर्देशक) 
होलीका योजना धेरै छन् । किनभने धेरै ठाउमा होली खेल्न बोलाइएको छ । टिभी फिल्मी, अभिनेत्री करिश्मा मानन्धरको घर लगायत । पहिले घरबाटै सुरु गरौ भन्ने योजना पनि छ । गोपीकृष्ण र करिश्मा दिदीको घरमा जान्छु होला । बाटोको विभिन्न स्थानमा आयोजना भएका होलीमा पनि सरिक हुन्छु । होली मलाई धेरै मनपर्छ । रङ्ग छ्याप्न, पानी हाल्न सबै मनपर्छ ।

अमर वली (निर्देशक) 
होली मेरो मनपर्ने पर्व हो । सानोमा यो पर्व विशेष तरिकाले मनाइन्थ्यो । अहिले पनि उत्साह लाग्छ । होलीका नाममा विभिन्न खराब रङ्गहरु खेल्ने प्रचलन बढ्दै गएकोले अहिले त्यति रमाइलो लाग्दैन । धेरै ठाउँबाट निम्तो आएको छ । तर, म जान्न होला । त्यस्ता ठाउँमा जबर्जस्ती रङ्ग दल्ने गरिन्छ । विभिन्न ठाउँमा खेलिएको होली नजिकबाट हेर्ने योजना छन् । 

भूमिका गिरी (लोक गायिका)
होली सबैको पर्वको रुपमा मैले लिएकी छु । रङ्गको वर्षा गर्दै एक अर्कासँग रमाउने, खुसी साट्ने चलन होलीको राम्रो लाग्छ । होलीमा लोला र फोहोर पानी मिसाएका पोलिथिनका ब्याग यात्रुमाथि हिर्काउनेदेखि रिस पनि उठ्छ । यसपालिको होली मेरो विदेशमा बित्नेछ । मगर संघले आयोजना गरेको कार्यक्रमको लागि अहिले ओमन आएकी छु । सो कार्यक्रममा यतै रहेका नेपाली दाजुभाई दिदी–बहिनीसँग होली सेलिब्रेसन गर्नेछु । 

रजनी केसी (अभिनेत्री)
रङ्गहरु मनपर्ने भएकोले पनि यो चाँड महत्वपूर्ण लाग्छ । होलीले मनोरञ्जनका साथ साथै प्रेमको आभास दिन्छ । एक अर्काेलाई रङ्गको वर्षा गर्दै दुःख भुलेर सबैसँग रमाइलो गर्न पाइन्छ । धेरै समय भेट नभएका साथीभाईसँग भेट हुन्छ । नजिकका साथीहरुलाई आफ्नो घरमा बोलाएकी छु । होली खेल्न धेरै ठाँउबाट निम्तो आएको छ । तर म फ्यामिली र नजिकका मानिसहरुसँग मात्र मनाउँछु । बाहिरको कार्यक्रममा जाँदिन ।
 

एन्जेला रेग्मी (गायिका)
रङ्गहरुसँग खेल्न सानैदेखि मनपर्छ । यसपालीको होली पनि रमाइलो गरेर मनाउने सोच छ । दरबारमार्ग, एपी १ टिभी लगायत धेरै ठाउँका होली कार्यक्रमका निम्तो आएका छन् । ती ठाउँमा पुगेर आफूभन्दा सिनियरहरुसँग रमाइलो गर्नेछु । 

सुरेन गौतम (गायक)
तिहार पछिको सबैभन्दा रमाइलो लाग्ने चाँड होली हो । मन मिल्ने साथीसँगलाई रङ्ग छ्यापेर नाचगान गर्दै यो बर्षको होली मनाउने योजना थियो । तर परिवारका सबै सदस्य पाल्पा गएकोले घर कुरुवा भएको छु । यो दिन घरमै बसेर केही अध्यायन गर्ने विचार छ । 

मिलन अमात्य (गायिका)
रङ्गको वर्षा गर्दै सानादेखि ठूलासम्मले एकसाथ मनाउने यो चाड बिषेश लाग्छ । यो पर्वले सद्भाव र माया आदान प्रदान गर्न अवसर दिलाउने गर्दछ । एक कार्यक्रमका लागि म युके आएकी छु । यहि रहेका नेपालीहरुसँग होली मनाउँछु । 

केकी अधिकारी (अभिनेत्री)
होलीले मानिसलाई रङ्गीन हुन सिकाउँछ । जीवन यस्तै हुनुपर्छ जस्तो लाग्छ । सबै दुःख बिर्सिएर रङ्गसँग रमाउने चाँड हो होली । यसपालीको होली प्रदर्शनमा आउन लागेको मेरो चलचित्र ‘हुर्रे’ र आफैले बनाएको चलचित्र ‘कोहोलपुर एक्सप्रेस’को युनिटसँग मनाउने योजना छ । 

स्वेता खड्का (अभिनेत्री)
मेरो मनपर्ने पर्व हो । परिवार र साथीसँग रङ्ग खेल्दै मनाउन मनपर्छ । मेरो चलचित्र ‘कान्छी’ अहिले चलिरहेको छ । कान्छी हेर्ने दर्शकसँग विभिन्न हलमा पुगेर होली मनाउने विचार मेरो छ । 

नरेन खड्का (अभिनेता)
रङ्गहरुसँग खेल्न पाइने यो मनपर्ने पर्व हो । साथीहरु जम्मा भएर एक अर्काेलाई रङ्ग छ्याप्दै रमाइलो गर्न मनपर्छ । पर्वका नाममा अहिले बिभिन्न विकृति पनि भित्रिरहेका छन् । त्यो मन पर्दैन । केही होलीको कार्यक्रमको निम्तो आएको छ । कार्यक्रममा गएर होली मनाउने योजना छ । 

खुस्बु खड्का (अभिनेत्री) 
अहिलेसम्म खासै योजना त छैन । नजिकका आफन्त साथीभाइसँग मनाउँछु । केही दिन आगाडि देखि लोला हानेको भन्दा पनि होलीकै दिन रङ्गसँग खेलेको मनपर्छ मलाई । 

वसन्त तामाङ (मोडल)
पहिला त सबैलाई होलीको शुभकामना । रङ्ग छ्याप्दै साथीसँग होली खेल्न मलाई मनपर्छ । साथीहरुलाई बोलाएर र परिवारसँग होली मनाउने विचार छ । विहानैदेखि बेलुकासम्म होली खेल्ने तयारी छ ।

साहिमा श्रेष्ठ (गायिका)
पहिले–पहिले होली खासै मनपर्दैन थियो । तर गायनमा लागेपछि यो मनपर्न थालेको छ । यो पटकको होलीमा धेरै कार्यक्रम परेका छन् । ती कार्यक्रममा होली रमाइलो गर्दै मनाउने विचार छ । विहान काठमाडौँमा होली मनाएर साँझतिर भ्याली बाहिर जाने योजनामा छु । साथीसँग रङ्ग छ्याप्दै खेल्नै रमाइलो लाग्छ । 

रीता केसी (गायिका)
होलीमा बिभिन्न गाढा रङ्गहरु पनि प्रयोग गर्ने गरिन्छ । यो मन पर्दैन । हल्का रङ्ग खेलेको मनपर्छ मलाई । केही टेलिभीजन र एफएम रेडियोबाट होली खेल्न निम्तो आएको छ । त्यही गएर होली मनाउने तयारी छ । 

दुर्गा खरेल (गायिका)
आफ्नो पन देखाउने पर्व हो । रङ्गलगाएर रङ्ग जस्तै जीवन होस् भन्ने कामना समेत होलीमा गरिन्छ । मेरो दिदीको घर भक्तपुरमा छ । उतै गएर  होली मनाउने विचार छ । 

पूर्णिमा लामा 
होलीको नाममा आफ्नो काममा हिँडेका माथि होला हान्ने, पानी छ्याप्ने चलन पनि चलेको छ । यो मलाई मन पर्दैन । साथीहरु, आफन्तसँग रङ्गको वर्षा गर्दै होली मनाउने चलन राम्रो छ । म पनि साथीहरुसँग होली मनाउँछु ।

मञ्जु ढकाल (फेसन डिजाइनर)
हामी हिन्दुहरुको एक विशेष पर्व हो । यो पर्व सानैदेखि मनपर्छ । एक अर्काेसँग भएको मनमुटाव त्यागेर रङ्गसँग रमाइलो गर्दै मनाइने होलीको सकारात्मक पक्ष हो । म साथी, आफन्त र नजिकका चिने जानेकासँग होली मनाउने तयारीमा छु ।

आर्यन अधिकारी (अभिनेता) 
साथीभाई र परिवारसँग मनाउने विचारमा छु । रङ्गसँग खेल्दै पुरै दिन बिताउने र यो दिनलाई विशेष बनाउने मेरो योजना छ । विगत ३ वर्षदेखि म नियमित होली मनाइरहेकी छु । त्योभन्दा अगाडिका दिन विदेशमा बितेकाले होली मनाउन पाइँन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप