आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खोलाको ठेक्का नलागेपछि निजगढ नगरपालिका आफै खोला खन्दै

बुधबार, ०१ चैत २०७९, ०७ : ५७
बुधबार, ०१ चैत २०७९

बारा । चालु आर्थिक वर्षको लागि खोलाको ठेक्का नलागेपछि निजगढ नगरपालिकाले अमानतामा खोला उत्खनन गर्ने निर्णय गरेको छ । नगरपालिकामा मंगलबार बसेको पूर्व तथा बहालवाला जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायबिचको बैठकले नगरपालिका आफैले खोला उत्खनन गर्ने निर्णय भएको हो ।

२ महिनाअघि नगरपालिकाले पहिलो पटक ३० दिनको लागि र दाेस्रोपटक १५ दिनको ठेक्का सूचना सार्वजनिक गरेको थियो, तर दुवै पटक ठेकदारहरू कम्पनीहरूले चासो नदेखाएपछि नदीजन्य पदार्थ आफैले खन्ने निर्णय गरेको हो । निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले राजश्व मर्न नदिन पहिलो पटक नगरपालिका आफैले नदीजन्य पदार्थ खन्ने निर्णय गरेको बताए ।

उनले १ करोड ५६ लाख १४ हजार ७४४ घन फिट ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न न्युनतम् भ्याट बाहेक १२ करोड ४९ लाख १७ हजार ९५२ रुपयाँ ठेक्का सूचना निकालेको बताए । ‘राजस्वलाई मर्न नदिन हामीले पहिलो पटक अमानतामा खोला खन्ने निर्णय गरेका छौ, यसका लागि कार्यविधि बनाएर काम अगाडि बढाउन अझ केही साता लाग्न सक्छ’ नगरप्रमुख पुरीले भने । निजगढ नगरपालिकाले बर्सेनि मङ्सिर पहिलो सातादेखि जेठ मसान्तसम्मको लागि १४ देखि १६ करोडमा बकैया, धन्सार, शक्तीखोला, लालभक्त र बगर खोला उत्खननको ठेक्का लगाउने गर्दछ ।

यसपटक नदीजन्य पदार्थको विषयलाई लिएर अदालतमा मुद्दा परेपछि खोलाको ठेक्का लगाउन ढिलो भएको हो । नगरप्रमुख पुरीले तेस्रो पटक ७ दिनको सूचना निकाल्न केन्द्रीय सरबर अवरुद्ध भएको र सो सूचना लगत्तै नगरपालिकाले आफ्नो कार्यविधि बनाएर काम सुरु गर्ने जनाएका छन् । नगरपालिकाले विगतमा वर्षको ७ महिना लगाउँदै आएको खोलाको ठेक्का यस वर्ष ३ महिना मात्रै लगाउदा पनि न्युनतम् कबोल रकम नघटाएको ठेकदार कम्पनीहरूले गुनासो गरेका छन् । खोला ठेक्का नलागेपछि यस वर्ष पहिलो पटक नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सम्बन्धी कार्यविधि आफैले बनाएको हो ।

यसअघि जितपुरसीमरा उपमहानगरले पनि पसाहा, बालगंगा र दुधौरा खोला आफैले खन्ने निर्णय गरेको थियो । बाराको १६ वटा पालिका मध्ये निजगढ, कोहल्वी र जितपुरसीमरा उपमहानगर अन्तर्गत मात्रै खोलाजन्य पदार्थ रहेकोले यी ३ वटा पालिकाले मात्रै नदीजन्य पदार्थको ठेक्का लगाउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप